इटहरीः लामो समयदेखि आयुर्वेद पद्धतिबाट बिरामीहरूको सफल उपचार गर्दै आएको इटहरीको सृष्टि सञ्जीवनी आयुर्वेद प्रालिले प्रदेश नम्बर १ मा ‘आफ्नो डाक्टर आफैँ बनौं’ कार्यक्रम शुरु गरेको छ ।

‘स्वस्थ समृद्ध नेपाल, हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्य राखेर कार्यक्रम शुरु गरेको बताइएको छ । प्रदेश नम्बर १ मा यो कार्यक्रम सफल बनाएपछि अन्य प्रदेश हुँदै देशव्यापी बनाउने लक्ष्य रहेको प्रालिले जनाएको छ ।

पछिल्लो समय नेपालमा अङ्ग्रेजी औषधीले राज गरिरहेको अवस्थामा आयुर्वेद औषधीको उत्पादन र प्रयोगलाई विशेष महत्व दिनका लागि आफ्नो डाक्टर आफै बनौं कार्यक्रम शुरु गरिएको हो । पहिलो चरणमा प्रदेश नम्बर १ का स्थानीय तहका सरकारसँग सहकार्य गरी प्रालिले सो कार्यक्रम शुरु गरेको प्रालिका अध्यक्ष सुरेश विकासले बताए ।

उनले भने, ‘अङ्ग्रेजी औषधीको प्रयोग र पद्धतिबाट उपचार हुन नसकेका धेरै बिरामीहरूलाई आयुर्वेदिक उपचार गरी नयाँ जीवन प्रदान गरेका धेरै उदाहरण भएकाले स्वस्थ, समृद्ध नेपाल बनाउनका लागि आयुर्वेद, योग र आहार विहारको महत्व ठूलो रहेको छ । त्यही कारण हामीले यो कार्यक्रम शुरु गरेका हौं ।’

उनका अनुसार प्रदेश नम्बर १ का मोरङ, सुनसरी, धनकुटा र उदयपुरका विभिन्न स्थानीय तहका ७ सय बढी महिलाहरू आफ्नो डाक्टर आफै बनौं कार्यक्रममा सहभागी भइसकेका छन् । उनीहरूले इटहरीमा आएर दुई चरणको तालीम लिइसकेका छन् ।

इटहरीमा सम्पन्न भएको तालीमको सबै खर्च आयोजक संस्थाले नै बेहोरेको थियो । १ दिने तालिम लिएकाहरूलाई सम्बन्धित स्थानीय तहमै अन्तिम चरणको ३ दिनको विशेष पाठ्यक्रमको तालीम दिइने छ । सो तालीमको खर्च भने स्थानीय तह र आयोजकको सहकार्यमा गरिने भएको छ ।

तालीम लिइसकेपछि उनीहरूले वडाका टोल टोलमा अन्यलाई तालीम दिनेछन् । सो तालीममा टोलका प्रत्येक घरका एक सदस्य अनिवार्य सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रत्येक नगरपालिका र गाउँपालिकामा २ सय ५० जनलाईलाई ३ दिन लगाएर १६ घण्टे सो तालीम प्रदान गरिने प्रालिका अध्यक्ष विकासले बताए ।

तालीममा योग, खानपान, दिनचर्या र जडिबुटीको प्रयोगका विषयमा ज्ञान दिइनेछ । तालीममा रोग नै लाग्न नदिनका लागि मानिसहरूले आफ्नो जीवनशैली कस्तो बनाउने, रोग लागेकाहरूलाई योग, खानपान र जडिबुटीको प्रयोगले निरोगी बनाउने विषयमा जानकारी दिइएको प्रालिका अध्यक्ष सुरेशले बताए ।

मानिसमा लाग्ने सबै खालका रोगको उपचार गाउँघरमै पाइने जडिबुटीबाट र घरको भान्साकोठाबाट सम्भव रहेको उनले बताए । उनका अनुसार हाम्रो घरको भान्साकोठामा के कस्ता परिकार के कसरी पाक्छन् र खाइन्छ भन्ने कुराले पनि मानिस कत्तिको स्वस्थ छ भन्ने कुराको निर्धारण गर्ने गर्दछ ।

अधिकांशको घरको भान्साकोठामा महिलाहरू नै बढी खटिने भएकाले महिलालाई नै तालीममा सहभागी गराउँदा बढी उपलब्धी हुने भएकाले पहिलो चरणको १ दिने तालीमबाटै महिलाहरूलाई मात्र सहभागी गराएको प्रालिका अध्यक्ष विकासले बताए ।

पहिलो चरणको १ दिने तालीममा प्रारम्भिक चरणमा घर वरिपरि पाइने जडीबुटीको पहिचान, औषधी बनाएर खुवाउने तरिका, रोग लाग्न नदिनका लागि योगको आवश्यकता कत्तिको महत्वपूर्ण छ भन्ने कुराको ज्ञान दिइएको छ ।

त्यसैगरी पाठेघर, किड्नी र मुटुलाई कसरी जोगाउ सकिन्छ, क्यान्सर लाग्न नदिन के कस्ता विधिहरू अपनाउन सकिन्छ, सुगर र प्रेसरलाई कसरी योग तथा आहार विहारबाटै नियन्त्रण गर्न सकिन्छ भन्ने ज्ञान तालीममा दिइएको थियो ।

१ दिने तालीममा सुनसरीको इटहरी र धरान उपमहानगरपालिका, दुहबी, रामधुनी, वराह र इनरुवा नगरपालिका तथा गढी गाउँपालिकाका महिला स्वस्थ्य स्वयम्सेविका र वडाका सक्रिय महिलाहरू सहभागी भएका थिए ।

त्यस्तै, मोरङको सुन्दरहरैंचा, लेटाङ, बेलबारी र पथरीशनिश्चरे नगरपालिका तथा केराबारी गाँउपालिकाका स्वास्थ्य स्वयम्सेविका र सक्रिय महिलाहरू सो कार्यक्रममा सहभागी भइसकेका छन् ।

धनकुटाको धनकुटा, महालक्ष्मी र पाख्रीबास नगरपालिका तथा शहीदभूमिा र छथरजोरपाटी गाउँपालिकाका स्वास्थ्य स्वयम्सेविका र सक्रिय महिलाहरू सहभागी भएका छन् ।

उता, उदयपुर जिल्लाका बेलका, चौदण्डी र गाईघाट नगरपालिका स्वास्थ्य स्वयम् सेविका र सक्रिय महिलाहरू तालीममा सहभागी भएका थिए ।