इटहरीः बुधबारदेखि शुक्रबारसम्म काजकिस्तानको राजधानी नुर सुल्तानमा हुने एशियाली लेखक सम्मेलनमा नेपालका तर्फबाट प्राध्यापक डाक्टर तथा वरिष्ठ साहित्यकार अभि सुवेदी र साहित्यकार सुमन पोखरेल सहभागी हुने भएका छन् ।

डाक्टर सुवेदी काठमाडौंमा बसेर नेपाली तथा अङ्ग्रेजी साहित्यमा निरन्तर कलम चलाउँदै आएका छन् । पोख्रेल प्रदेश १ को राजधानी विराटनगरमा बसेर नेपाली तथा अङ्ग्रेजी साहित्यमा अनवरत रूपमा लागिरहेका छन् ।

विश्व प्रसिद्ध जापानी लेखक हारुकी मुराकामीदेखि सन् २००६ को नोबेल साहित्य पुरस्कार प्राप्त टर्किस लेखक ओरान पामुख उपस्थित हुने सो सम्मेलनमा नेपालबाट कविद्धय सुवेदी र पोखरेल सहभागी हुने भएका हुन् ।

कार्यक्रमको लागि सुवेदी र पोखरेल मङ्गलबार बिहान टर्किस एयरलाइन्सबाट काजकिस्तान जाँदैछन् । सहभागी कवि पोखरेलका अनुसार नेपालदेखि काजकिस्तान सिधा हवाई रुट नभएकाले टर्कीको इस्तानबुल ट्रान्जिट बनाएर ११ घण्टाको यात्रापछि काजकिस्तानको कार्यक्रममा पुगिनेछ ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुल करीब ८ घण्टामा पुग्छौँ’, सन् २०१३ र १५ मा दुई सार्क साहित्य पुरस्कार समेत पाएका कवि पोखरेलले भने, ‘त्यहाँबाट काजकिस्तानको राजधानी नुर सुल्तान ३ घण्टा गरेर ११ घण्टामा हामी कार्यक्रम स्थलमा पुग्ने हाम्रो तालिका रहेको छ ।’

केन्द्रीय एशियाली देश काजकिस्तानमा आयोजना हुने ‘एशियाली देशका लेखकहरूको पहिलो मञ्च’ नामक कार्यक्रममा सुवेदी र पोखरेल सहभागी हुने भएका छन् । उनीहरू दक्षिण एशियाको प्रतिनिधित्व गर्दै मञ्चमा सहभागी हुने भएका छन् ।

सन् १९९७ को बुकर पुरस्कार विजेता भारतीय लेखक अरुन्धती रोयसँगै सुवेदी र पोखरेललगायतका विभिन्न १२ लेखकहरूले दक्षिण एशियाको प्रतिनिधित्व गर्दैछन् ।

सुवेदीले कार्यपत्र तथा कविता प्रस्तुत गर्ने कार्यक्रममा कवि पोखरेलले भने कविता र वक्तृत्वको सेसन रहेको छ । एशियाका ४४ देशका २ सय ६० लेखकहरू उपस्थित हुने कार्यक्रममा विश्वभरबाट १ हजार ५ सय साहित्यिक पाहुनाहरू उपस्थिति हुने आयोजकले आफ्नो आधिकारिक वेबसाइट एसियन लिट फोरम डट केजेडमा उल्लेख गरेको छ ।

काजकिस्तान लेखक सङ्घको ८५ औँ वर्षगाँठको अवसरमा कार्यक्रमको आयोजना भएको आयोजकले बताएको छ । कार्यक्रमलाई काजकिस्तानका राष्ट्रपति, काजकिस्तानको संस्कृति तथा खेलकुद मन्त्रालयले सहयोग गरेको आधिकारिक वेबसाइटमा जानकारी गराइएको छ ।

एशियाली लेखक मञ्चको कार्यक्रममा सहभागिता भएपछि एशियाली कला, साहित्य र लेखको बारेमा प्रत्यक्ष जानकारी हुने कवि पोखरेल बताउँछन् । उनी भन्छन्, ‘यस्तो महादेशीय साहित्य मेलाले एशियाली साहित्य र साहित्यकारको प्रत्यक्ष अनुभवसँगै यस्ता इभेन्ट नेपालमा पनि कसरी गर्ने भन्ने बारेमा अनुभव हुनेछ ।’