इटहरीः साताभर लगातार बढेको सेयर बजार बिहीबार भने उतारचढावका बीच ४ अङ्कभन्दा बढीले घटेको छ । नेप्सेमा बिहीबार बजार घट्ने र बढ्ने क्रम चलिरह्यो । जसका कारण कारोबार रकम भने बढेको छ ।
नेप्सो बिहान साढे ११ बजे सबभन्दा माथि १२४७ अङ्कसम्म पुगेको थियो भने पौने १२ बजे १२३७ अङ्कमा झरेको थियो । फेरि बजार बढ्दै जाँदा सवा १२ बजे १२४५ आसपास पुगेको नेप्से साढे १ बजे १२२३ अङ्कसम्म झरेको थियो । सवा २ बजे १२३८ अङ्कसम्म पुगेको नेप्से बजार बन्द हुँदा भने १२२९.७७ अङ्कमा बन्द भएको हो ।

३ समूहमा हरियाली
बजार घटे पनि नेप्सेमा ३ वटा समूहमा भने हरियाली छाएको छ । सबैभन्दा धेरै अन्य समूहको सूचक १.९५ प्रतिशतले बढ्दा व्यापार समूह १.८४ र उत्पादनमूलक समूह ०.९२ प्रतिशतले बढेका छन् ।
निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले ओरालो लाग्दा सबैभन्दा कम होटल समूहको सूचक ०.२६ प्रतिशतले मात्रै तल झरेको छ ।

एनएमबीको धेरै कारोबार
बिहीबारको बजारमा सबैभन्दा धेरै एनएमबी बैंकको १० करोड ३४ लाख ४४ हजार १ सय ५४ रुपैयाँको सेयर कारोबार भएको थियो । एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर ५ करोड ५७ लाख ५३ हजार ९ सय ५० रुपैयाँको किनबेच हुँदा कुमारी बैंकको २ करोड ९३ लाख ७९ हजार ४ सय २५ रुपैयाँको सेयर किनबेच भएको थियो ।

सेयर सङ्ख्यामा पनि एनएमबी
अधिक कारोबार गर्ने एनएमबी बैंक नै सेयर सङ्ख्यामा पनि अघि देखिएको छ । सो बैंकको ३ लाख ८ हजार १ सय ४३ कित्ता सेयर किनबेच भएका छन् । एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर १ लाख ५९ हजार २ सय ९७ कित्ता सेयर किनबेच हुँदा ग्लोबल आइएमइ बैंकको संस्थापक सेयर १ लाख २७ हजार ६ सय ४९ कित्ता कारोबार भएको छ ।

एनएमबीको कारोबार ५ सय पटक
कारोबार सङ्ख्यामा पनि एनएमबी बैंक नै अघि रहेको छ । एनएमबीको ५ सय १२ पटक कारोबार हुँदा कुमारी बैंकको ३ सय ६० पटक र मेघा बैंकको २ सय ९५ पटक सेयर कारोबार भएको थियो ।

लगातार ४ दिन काबेलीको मूल्य १० प्रतिशतले बढ्यो
आज पनि १० प्रतिशतकै हाराहारीमा मूल्य बढेर काबेली विकास बैंक अग्रस्थानमा रहेको छ । ९.६५ प्रतिशतले काबेलीको सेयरमूल्य बढ्दा विजय लघुवित्त वित्तीय संस्थाको मूल्य ५.८३ र साल्ट ट्रेडिङ कर्पाेरेशनको मूल्य ४.९३ प्रतिशतले बढेको छ ।

मल्टीपर्पाेजका लगानीकर्ताले सवा ९ प्रतिशतले गुमाए
बिहीबार मल्टीपर्पाेज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.२८ प्रतिशतले मूल्य गुमाउँदा ङादी पावरका लगानीकर्ताले ५.४५ प्रतिशतले सम्पत्ति गुमाएका छन् । युनाइटेड इन्स्योरेन्सको ४.९४ प्रतिशत र सिन्धु विकास बैंकको सेयरमूल्य ४.८० प्रतिशतले तल झरेको छ । बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ६४ अर्ब कायम भएको छ ।