बेलबारीः बेलबारी–७ मा रहेको भिजु पोल्ट्री फर्मका मालिकले आफ्ना फर्ममा भएका कुखुरा तथा तिनीहरूले उत्पादन गर्ने अन्डा फर्म भित्र पसेर हेर्न पाउँदैनन् । आधुनिक प्रविधिबाट शुरु गरिएको पोल्ट्री फर्मका सञ्चालक सुरेश वैद्यले आफूले लगानी गरेको फर्म हेर्न पाएका छैनन् । बाहिरबाट हेरे पनि उनले कुखुरा राख्ने घरको अवलोकन गर्न पाएका छैनन् ।

सो पोल्ट्री फर्ममा कुखुराको उपचार गर्ने चिकित्सक तथा केही काम गर्ने कर्मचारीसमेत आवश्यक जैविक सुरक्षा पूरा गरेर मात्रै भित्र जान पाउँछन् । चारैतिर कम्पाउण्डवालले घेरिएको सो उद्योगमा दुई तिरबाट फर्मको बाहिरी भागमा छिर्न सकिन्छ । बाहिरी भागमा दुवैतर्फ मानिस पस्दा हातखुट्टा तथा सरसामान निर्मलीकरण गरेर मात्रै पस्न पाइन्छ ।

मानिसका कारण कुखुरामा विभिन्न खालका सङ्क्रमण हुन सक्ने भएकाले मालिकले समेत प्रत्यक्ष रूपमा भित्र हेर्न पाउँदैनन् । कुखुराको औषधि उपचार गर्दै आएका प्रकाश श्रेष्ठले भने, ‘करोडौ लागानी गरेको उद्योगमा उहाँले विभिन्न प्रविधिमार्फत् हेर्नुहुन्छ । रानीखेत, गबारो, बर्डफ्लुजस्ता भाइरस तथा व्याक्टेरियाजन्य रोगहरूको सङ्क्रमणबाट बच्नका लागि मानिसको आवतजावतमा कडाइ गरिएको उनले बताए ।

क्लोज हाउस प्रविधिमार्फत् कुखुरा पालिएका छन् । बेलबारीमा लेयर्स जातका १० हजार र विराटनगरमा ६० हजार कुखुरा पालिएको पोल्ट्री फर्मका म्यानेजर सञ्जीव खनालले बताए । खनालका अनुसार क्लोज हाउसभित्र कुखुराले बिनाहलचल दानापानी प्राप्त गर्छ भने अण्डासमेत एकै ठाउँमा सङ्कलन हुन्छ ।

‘सुलीसमेत ट्याङ्करमा जम्मा गर्छौँ । गन्धसमेत आँउदैन’, उनले भने, ‘प्रशोधन गरेर काठमाडौं, पोखरा, विराटनगरसहित अर्गानिक खेतीका लागि बेच्छौँ,’ खनालले भने, ‘ह्याचरीमार्फत् चल्ला उत्पादन गरेर देशभर बेच्ने गरेका छौँ ।’ बेलबारीमा रहेको फर्मबाट मात्रै दैनिक ८ हजार भन्दा बढी अण्डा उत्पादन हुने गरेको छ ।