इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका पैनी, कुलो र खोला मासेर भौतिक संरचना बनाउने विरुद्ध खरो अभिव्यक्ति दिँदै आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको अभियानलाई समेत चुनौती दिने गरी उनै मातहतका कर्मचारीले मनपरी ढङ्गले घरनक्सा पास गरेको पाइएको छ ।
इटहरी ९ को कित्ता नम्बर ५३७ र ६२६ मा सञ्जयकुमार राठीले निर्माण गरेको घरको विषयमा इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर, घरनक्सा फाँटका प्रमुख, फिल्डमा खटिने प्राविधिक कर्मचारीले जग्गाको नक्सामा स्पष्ट पैनी देखिएको भए पनि पैनीलाई मासेर छिमेकी खडा गरी घर निर्माण सम्पन्नको प्रमाणपत्र दिइसकेको पाइएको छ ।
जग्गाधनी राठीले २०७४ साल कात्तिक ७ गते घर निर्माणका लागि इटहरी उपमहानगरपालिकाको घर नक्साफाँटमा निवेदन दिएका थिए । निवेदन आएपछि इटहरी उपमहानगरपालिकाको घरनक्सा फाँटका प्रमुख र प्राविधिक टोलीले प्रक्रियागत तरिकाले आवश्यक कार्वाही अगाडि बढाएको देखिन्छ । राठीका नाममा घरनक्सा फाँटमा खडा भएको फायल अध्ययन गर्दा दक्षिण तर्फको सँधियारमा पैनी भनी स्पष्टसँग उल्लेख गरिएको छ ।
नापी कार्यालय इनरुवाले ०६६ साल बैशाख २३ गते नै उतारेको नक्सामा सो जग्गाको दक्षिणतर्फ पैनी रहेको देखिन्छ । सोही अनुसार नै कर्मचारीले सर्जिमिन मुचुल्का र प्रतिवेदन तयार गरेको देखिन्छ । मुचुल्का र प्रतिवेदनका आधारमा राठीलाई उपमहानगरपालिकाको घरनक्सा फाँटका कर्मचारीले पटकपटक घरनक्सा पास गर्न रोकेका थिए । निर्माण इजाजत समेत रोकेका थिए । निर्माण इजाजत नदिए पनि घर निर्माण कार्य भने रोकिएको थिएन ।
पूर्ण रुपमा घर निर्माण भइसकेपछि राठीले आफ्नो कित्ताको दक्षिणपट्टी पैनी नभई रामबहादुर खत्रीको नाममा जग्गा रहेको भन्ने दाबीसहितको लिखित निवेदन नगरपालिकाको घरनक्सा फाँटमा दिएको देखिन्छ । अन्य आधार प्रमाण विना नै निवेदन दिएकै भरमा इटहरी उपमहानगरपालिकाबाट स्थलगत निरीक्षणमा खटिएका अमिन दयाराम गौतम सहितको टोलीले हचुवाका भरमा प्रतिवेदन दिएकै भरमा पैनी लेखिएको स्थानमा पैनीलाई काटेर रामबहादुर खत्रीको नाम राखिएको पाइएको छ ।
प्रतिवेदनमा पैनी लेखिएको मेटेर छिमेकी रामबहादुर खत्रीको नाम लेखिए पनि वडा नम्बर ९ का अध्यक्ष भुपेन्द्र बराल समेतले सही छाप गरेको सर्जिमिन पत्रमा भने अहिले पनि पैनी नै उल्लेख गरिएको पाइएको छ । त्यसो त नियम अनुसार जुन कागजमा सँधियार हो भने स्पष्ट उल्लेख गरेको हो सो कागजमा सँधियारको सहिछाप गराउनु पर्छ । तर सो प्रकरणमा भने एउटा अलग्गै कागजमा रामबहादुर खत्रीको ल्याप्चे लगाइएको पाइएको छ ।
राठीको फायल सर्सर्ती अध्ययन गर्दा शुरुमा कर्मचारीहरुले नै जे वास्तविकता हो त्यही उल्लेख गरेको तर पछि बार्गेनिङ गरी आर्थिक लाभ लिएपछि पैनी लेखेको शब्द आफैँ काटेर एकाएक छिमेकी खडा गरेको बुझिन्छ । लामो समय नक्सापास र निर्माण इजाजत रोकिएको सो घटनामा एउटा सामान्य निवेदनका भरमा अन्य दरिलो प्रमाण आधार नै फायलमा नराखी राठीले घर निर्माण सम्पन्नताको प्रमाणपत्र नै लिनुले राम्रो सेटिङ भएको स्पष्ट देखिएको छ ।
निर्माण भइरहेको जग्गाको कित्ता नम्बरसँग पैनी जोडिसकेपछि विवादित भई घरनक्सा पासका साथै निर्माण इजाजत रोकिएको थाहा हुँदाहुँदै जग्गाधनीले दिएको एउटा निवेदनका आधारमा फिल्डमा खटिएका प्राविधिक कर्मचारीले प्रतिवेदन तयार पारी पैनी भनिएको स्थानमा छिमेकी खडा गरेपछि घरनक्सा फाँटका जिम्मेवार कर्मचारीले गम्भीर भएर कागजात नहेरेको पाइएको छ । इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहाल, घर नक्साफाँटका प्रमुख इन्जिनियर विकास भट्टराईले हस्ताक्षर गरी सदर गरिदिएको पाइएको छ ।
राठीले दिएको निवेदनमा दक्षिणतर्फ पैनी नभई रामबहादुर खत्रीको नाममा कित्ता नम्बर ६७५ जग्गा नै कायम भएको भन्ने बेहोरा उल्लेख गरेपछि त्यसलाई प्रमाणित गर्ने नापी कार्यालयले प्रमाणित गरेको कुनै कागजात समेत संलग्न गराउनुपर्ने हुन्छ । तर, त्यो नहेरी फायलमा राखिएका सबै कागजात वरिष्ठ इन्जिनियर दाहाल र इन्जिनियर भट्टराईले सदर गरेको पाइएको छ । वरिष्ठ इन्जिनियर दाहालको सिफारिशमा घरनक्सा फाँटका प्रमुख इन्जिनियर भट्टराईले राठीलाई २०७६ भदौ २ गते घर निर्माण सम्पन्नको इजाजत दिइसकेको पाइएको छ ।
घरनक्सा फाँटका प्रमुख इन्जिनियर विकास भट्टराईले फिल्डमा खटिएका प्राविधिक कर्मचारीले राठीले आवश्यक प्रमाणसहित दक्षिणतर्फ पैनी नभई व्यक्तिको जग्गा र सोको कित्ता नम्बर नै भएको स्थलगत प्रतिवेदन आफूकहाँ पेश गरेका हुन् भन्ने विश्वासका आधारमा राठीलाई घर निर्माण सम्पन्नको इजाजत दिएको बताए ।
एउटा निवेदनका आधारमा प्रतिवेदन तयार पारेको विषयमा आफूलाई फायल राम्रोसँग हेर्दा मात्र जानकारी भएको उनले बताए । उनले भने। ‘२० वडाको कामको चाप थुप्रिएको हुन्छ । सबै फायललाई केलाएर हेर्ने समय पनि हँुदैन । तोक आदेशसहित जिम्मेवारी दिएका प्राविधिक कर्मचारीले फिल्डबाट तयार पारेको प्रतिवेदनलाई हेरेर हामीले सहीछाप गर्ने हो । अब यस्तो कमजोरी गरेपछि यसको जवाफ उनीहरूले नै दिनुपर्छ ।’
राठीले घर निर्माण इजाजतको प्रमाणपत्र लगेको झण्डै ३ हप्ता बित्दा पनि सर्जमिन मुचुल्कामा अहिले पनि पैनी नै उल्लेख भएको देख्दा आफू नै अचम्मित भएको इन्जिनियर भट्टराईले बताए । इन्जिनियर भट्टराईले निर्माण सम्पन्नताको प्रमाणपत्र दिनुअघि फिल्डमा खटिएका अमिन दयाराम गौतमलाई फोन गरेर पैनी नभई व्यक्तिको जग्गाको कित्ता नम्बर भएको प्रमाण नभई के आधारमा प्रतिवेदन पेश गर्नुभयो ? भन्ने प्रश्न गरेका थिए । गौतमले निवेदनलाई मात्र आधार मानेर सबै काम गरेको जवाफ दिएका थिए । वरिष्ठ इन्जिनियर दाहालले यस सम्बन्धमा के भएको हो भन्ने फिल्डमा खटिएका अमिनसँग जानकारी लिने जवाफ मात्र दिए ।
घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिइसकेका सञ्ंजयकुमार राठीले पहिले नै पैनी हटाइसकिएको डिजिटल नक्सा शुरुमै नगरपालिकाबाट खटिएका प्राविधिक कर्मचारी र घरनक्सा फाँटका जिम्मेवार कर्मचारीलाई जानकारी दिँदा सुनुवाई नगरी फिल्डमा अरुले भनेको भरमा पहिला पैनी उल्लेख गरेर आफूलाई दुःख दिने काम गरेको बताए ।
इटहरी उपमहानगर धाउँदाधाउँदा अन्तिम समयमा पैनी हटाइसकिएको डिजिटल नक्साको आधारमा छिमेकी रामबहादुर खत्री पत्ता लगाई आफूले नियमसङ्गत काम गरेको राठीले बताए ।
उता, धरधनी राठी भने पैनीको भाग छोडेर घर बनाएको दाबी गर्छन् । ‘मैले पैनीको भाग छोडेरै घर बनाएको छु’, उनले भने, ‘यसमा मेरो कुनै फट्याइँ छैन ।’ ‘नगरवासीलाई दुःख दिन घरनक्सा फाँटका कर्मचारीले आफूखुशी के के गर्छन् सबै कुराको जिम्मेवारी आफूले लिन नसक्ने राठीको भनाइ छ ।
स्रोतका अनुसार घरनक्सा फाँटका कर्मचारीले आफ्नो काम नगरिदिएको भन्दै राठीले मेयर चौधरीसम्म आफ्नो कुरा पु¥याएका थिए । मेयर चौधरीले वरिष्ठ इन्जिनियर दाहाललाई विशेष निर्देशन दिएका थिए । मेयर चौधरीको निर्देशन र वरिष्ठ इन्जिनियर दाहालको सिफारिशमा छँदाछँदैको पैनी मासेर एकाएक छिमेकी खडा गरेर घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिइएको स्रोतको दाबी छ ।