इटहरीः आज दिउँसो सवा एक बजे धरान बस स्टेन (नेपाल बैंक अगाडि) बाट पाकेट मारेर पाकेटमार समूहका एक अधबैंसे सदस्य कुदे । उनलाई पछ्याउँदै कुदे एक हुल यात्रुहरू । अन्ततः पाकेटमार धरान लाइनस्थित मोभिरा ओभरसिज नजिकै समातिए ।

समातिएका पाकेटमार हेर्नको लागि बाइक, इ–रिक्सा र साइकलहरू टक्क रोकिए । चारपाङ्ग्रे सवारी पनि रोकिए । हुँदाहुँदै सवारी आवागमन नै ठप्प भयो । प्रत्यक्षदर्शी कमल शर्मा भन्दैथिए, ‘एउटा पाकेटमारको कारणले चक्काजाम गरेर पब्लिकलाई सास्ती । प्रहरीलाई पनि उस्तै सास्ती । पीडितलाई त झनै सास्ती ।’

प्रहरीलाई खबर गर्नु अगाडि पाकेटमारलाई केरकार गर्दै हातपात पनि गर्न भ्याए केही व्यक्तिले । केहीले भने हातपात गर्दा ज्यान गए हत्यारामा फसिने भन्दै प्रहरीलाइ बुझाउनु राम्रो भन्दै हातपात गर्नबाट रोके । पाकेटमार पक्राउ गरेको आधा घण्टापछि मात्रै प्रहरीले पकेटमारलाई इलाका प्रहरी कार्यालय लग्यो ।

पक्राउ परेका व्यक्तिसँग मोबाइल वा परिचय खुल्ने कागजात केही भेटिएन । प्रहरीले सङ्गठित पाकेटमार भएकाले त्यस्तो हुन सक्ने अनुमान गरेको छ । पाकेट मारेर पक्राउ परेका व्यक्तिले आफू काठमाडौंको बल्खुको भएको र नाम श्याम थापा मगर भएको बताएका छन् ।

20180906_133244 1

के हो घटना ? यसो भन्छन् ७१ हजार चोरिएका पीडित

भोजपुरको षडानन्द नगरपालिकाका जयराम कठेत भन्छन्, ‘विराटचोकबाट इटहरी आउँदै थिएँ । इटहरी आइपुग्न लाग्दा एक व्यक्ति मेरो सिटमा आएर बस्यो । गाडीबाट ओर्लिने बेलामा १ मिनेटभन्दा बढी जुत्ताको ‘लेस’ मिलाउने नाममा छेकिएँ । त्यही मौकामा गोजीमा सिरिङ्ग भयो । पकेट छाम्दा पैसा छैन । अनि मात्रै बुझँे एक जनाले छेकेर अर्कोले पैसा लगेछ । पछि त्यो थाहा पाएपछि उनीहरू भागे । पैसा लाने अन्तै भाग्यो । बाटो छेक्ने पक्राउ प¥यो । मेरो किस्ता तिर्ने ७१ हजार लग्यो ।’