ताप्लेजुङः ताप्लेजुङ सदरमुकामदेखि दुई दिनको यात्रा तय गरेर पुगिने पर्यटकीय क्षेत्र तोक्पेगोलामा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण तोक्पेगोलामा पछिल्लो डेढ महिनामा मात्रै ५ सय बढी आन्तरिक पर्यटक पुगेका छन् । ‘हिमाली क्षेत्रमा बर्खाको समयमा घुम्न सहज हुने भएकाले र पछिल्लो समयमा भएको प्रचार–प्रसारले गर्दा साउनमा झण्डै ५ सय बढी पर्यटक आएको अनुमान गर्न सकिन्छ’, मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु लामाले बताए ।

केही दिन अघि सकिएको ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रामा मात्रै ३ सय बढी पर्यटक तोक्पेगोलामा पुगेका थिए । पाँचथर, सङ्खुवासभा र ताप्लेजुङका विभिन्न ठाउँबाट धेरै पर्यटक त्यहाँ पुगेका हुन् । ‘हिमाली क्षेत्रको सिमसिम पानीमा रुझ्दै प्लाष्टिक र छाता ओढेर तोक्पेगोला पुग्न निकै कठिन, तर पुग्दा स्वर्गकै आनन्द हुने रहेछ’, सङ्खुवासभाबाट तोक्पेगोला घुम्न आएका फुपूछिरिङ शेर्पाले भने ।

तोक्पेगोलावासीले बर्सेनी नागपञ्चमीदेखि ३÷४ दिनसम्म मनाउने ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रामा सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । उक्त पर्वमा विभिन्न पूजाआजासहित खेलकुद लगायतका कार्यक्रम आयोजना गरिन्छ । सीमान्तकृत तोक्पेगोला जातिको मात्रै बसोबास रहेको उक्त क्षेत्रमा सोदो पोखरी, भूत पोखरी, छ्यजुङ पोखरी, छोइला पोखरी, रुपा पोखरी, सानो खोला पोखरी, लामपोखरी, तीन पाखरी, पाँच पोखरी, साउने पोखरी, युमिक्मा पोखरी, जलाम पोखरीलगायतका दर्जनौँ पोखरी छन् । झण्डै ४ हजार मिटरको उचाइमा पर्ने सोदो पोखरी अवलोकनका लागि हिउँद र बर्खा दुवै सिजनमा पर्यटक पुग्ने गरेका छन् ।

विशेषगरी साउनदेखि असोज–कार्तिकसम्म सो क्षेत्रमा पर्यटक घुम्न पुग्ने गरेको स्थानीय मिलन लामाले बताए । सोदो पोखरीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने साथै सोदो पोखरीमा शुद्ध मनले ध्यानपूर्वक हेरेमा आफ्नो भविष्य कस्तो हुने भन्ने अनुमान गर्न सकिने जनविश्वास छ । सोदो पोखरीमा पुग्दा नजिकै रहेका अन्य धेरै पोखरीको समेत दर्शन गरेर फर्कन सकिन्छ ।

बजार र बाक्लो बस्तीबाट निकै टाढाको तोक्पेगोला बस्तीमा तोक्पेगोला अर्थात ढोक्प्या जातिहरूको मात्रै बसोबास छ । त्यहाँ पुगेका पर्यटक स्थानीय भेषभुषा, रहनसहनमा समेत आकर्षित हुने गरेका छन् । स्थानीय समुदायको परम्परागत स्याब्रु नाच, विशेष पर्व तथा उत्सवका बेला गरिने धुन्ज्याङ पर्यटकको रोजाइमा पर्छ । ताप्लेजुङ सदरमुकामबाट जाने पर्यटकले भने फुङफुङे झरनाको समेत अवलोकन गर्न पाउँछन् । उक्त झरना तोक्पेगोला पदमार्गमा नै पर्छ । पछिल्लो समयमा पर्यटकका लागि तोक्पेगोला आकर्षक गन्तव्य बने पनि सो क्षेत्रमा जानका लागि सडक यातायातको सुविधा नहुँदा भने यात्रा निकै कठिन हुने गरेको पर्यटक बताउँछन् । ‘घुमफिर गर्नका लागि यो क्षेत्र मनमोहक रहेछ तर पैदल हिँड्नुपर्दा निकै कठिन भयो । सडकलगायतका पूर्वाधारको विकास गर्न सके धेरै पर्यटक भित्रने थिए,’ खेलकुदका क्रममा पुगेका भलिबल खेलाडी मिलन खुदाङले भने ।

यता, सो क्षेत्रमा सडक लगायतका भौतिक पूर्वाधारको विकासका लागि पहल भइरहेको पापुङका वडाध्यक्ष डण्डु लामाको भनाइ छ । वडाको बजेटले सानातिना पुल बनाउन र पैदल मार्गको स्तरोन्नति गर्नबाहेक अरु काम गर्न नसकिने भन्दै उनले सडक निर्माणमा सङ्घ र प्रदेश सरकारले सघाउनुपर्ने आवश्यकता भएको बताए ।

सरकारले गत वर्ष तोक्पेगोला पदमार्गमा नै पर्ने फुङफुङे झरनालाई १ सय पर्यटकीय गन्तव्य सूचीमा समेटेको छ । फुङफुङे झरनासम्म पनि सडक पुगेको छैन । फुङफुङे झरनाबाट एक दिनको पैदल दुरीमा मात्रै तोक्पेगोला पुग्न सकिन्छ । भौगोलिक रूपले निकै विकट सो क्षेत्रमा जाने पर्यटकका लागि खाने बस्ने लगायतका सुविधाका विषयमा भने वडाले सोचिरहेको लामाले बताए ।