बेलबारीः  स्टुडेन्ट भिसा, टुरिजम भिसा या कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने युवामध्ये आफ्नो देशमा आएर कमैले मात्रै परिश्रम गर्ने गर्छन् ।

विदेशमा सिकेको सीपसमेत नेपालमा आएर कमैले मात्रै प्रयोग गर्ने गर्छन् । तर केही युवाले भने कोरियामा सिकेको सीप नेपालमा आएर प्रयोगमा ल्याएका छन् । कोरियामा स्टुडेन्ट भिसामा गएका ३ जना युवा नेपाल फर्किएपछि आधुनिक खेतीमा लागेका छन् । चुरे क्षेत्रको फेदीमा उनीहरू तरकारी खेतीमा लागेका हुन् ।

परम्परागत खेतीको विकास भइरहेका बेला दिलकुमार राई, डाक्टर शरद केसी र महेन्द्रजङ्ग साम्पाङले मोरङको केराबारी ६ मा विदेशको सीप सदुपयोग गरेका छन् । खोलाको किनारमा अर्गानिक खेती गरिरहेका छन् । उनीहरूको टनेलमा टमाटर, खुर्सानी, धनियाँ फस्टाइरहेको छ ।

‘लाखौँ रुपैया खर्च गरेर विदेशमा पसिना बगाएर कमाएको सम्पत्तिले घरजग्गा, गाडीलगायतका विलासिताका सामान किन्ने गरेको देख्यौँ’, महेन्द्र साम्पाङले भने, ‘नेपालमै बसेर केही गर्न सकिन्छ भनेर लागिपरेका हौँ । आफ्नै माटोमा पसिना बगाउन थालेका हौँ ।’ विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न सके घरको खाना खाएर र परिवारसँगै रमाएर सम्पत्ति कमाउन सकिने उनको भनाइ छ ।

जनेफिस एग्रि रिसर्च सेन्टर नाम दिएर उनीहरूले खेती गरिरहेका छन् । १ करोड भन्दा बढी लगानीमा खेती शुरु गरेका उनीहरूले उत्पादन गरेका तरकारी धरान, इटहरी, विराटनगर लगायतका बजारमा बिक्री हुने गरेको छ ।

विषादी प्रयोग भएका भारतीय तरकारीका कारण बजारभाउमा भने समस्या हुने गरेको महेन्द्रले बताए । ‘अहिले हाम्रो उत्पादन स्थानीय बजारका लागि ठिक्क छ’, महेन्द्रले भने, ‘सरकारले भारतबाट आउने तरकारीको विषादी परीक्षण कडा गरिदिने हो भने हामीले राम्रो बजार भाउ पाउने थियौँ ।’

१ बिघा जग्गामा खेती शुरु गरेका उनीहरूले गाउँमै बसेका युवालाई तालीम दिने योजना समेत बनाएका छन् । ‘आफैँ मात्रै गराँै भन्ने छैन । हामी पनि आधुनिक खेती गर्छौँ भन्दै कोही आयो भने सिकाउँछौँ’, महेन्द्रले भने, ‘थोरै लगानीमा पनि खेती गर्न सकिन्छ ।’

गाईवस्तुको गोबर प्रयोग गरेर उनीहरूले तरकारी उत्पादन गर्ने गरेका छन् । केही स्थानीयलाई समेत रोजगारी दिने गरेका छन् ।

tarkari 1