इटहरीः सरकारले बुधबार राति पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो । मूल्यवृद्धिले पेट्रोलको मूल्य १ सय १२ रुपैयाँ पुग्यो । तर, शुक्रबार इटहरीको राधाकृष्ण पेट्रोल पम्पमा तेल भर्न पुगेकी इटहरीकी पूजा कट्वाल मूल्यवृद्धिको बारेमा जानकार थिइनन् । आफ्नो स्कुटरमा तेल हालिसकेर उनले भनिन्, ‘मैले आज पनि ३ सयको तेल हालेँ । दाम बढ्यो बढेन थाहै छैन ।’
कट्वाल मात्रै होइन तेल भर्न आएका इटहरीकै ताज उद्दिनले पनि ५ सयको तेल हाले । ५ सयको तल हाले पनि उनले आफूलाई मूल्यवृद्धिको बारेमा जानकारी नभएको बताए । उनले भने, ‘म त सधैँ तेल सकिँदा ५ सयको भनेर हाल्छु कति लिटर र कति दाम भन्ने याद हुँदैन ।’
कट्वाल र उद्दिनजस्तै सबैजसो पेट्रोल भर्न आएकाहरूले लिटरको हिसाबमा होइन रकमको हिसाबमा तेल हाल्ने राधाकृष्ण पम्पका कर्मचारी मनकुमार खड्का बताउँछन् । खड्काका अनुसार प्रतिलिटर तेलको दामअनुसार तेल भर्न सकिन्छ । १ सय, २ सय र ३ सय मात्रैको पनि मापन गरेर तेल भर्न सकिन्छ । सोही कारण अधिकांश उपभोक्ताहरू तेलको मूल्यवृद्धिको बारेमा जानकार छैनन् ।
उपभोक्ताहरुले पेट्रोल लिटरका आधारमा भन्दा पनि १ सय, २ सय, ३ सय रुपैयाँको अर्थात् आफूसँग भएको रकमको आधारमा भर्ने भएकाले मूल्यवृद्धि थाहा पाउन धेरैलाई समाचारै हेर्नुपर्ने उनीहरू बताउँछन् । दैनिक उपभोग्य वस्तुमा अचानक मूल्यवृद्धि गर्दा जनआक्रोश नआउनुमा यो आदत पनि एक कारण रहेको उपभोक्तावादीहरूको भनाइ छ ।
सुनसरीको उपभोक्ता हित संरक्षण मञ्चका नेता उद्धव श्रेष्ठ जनताले स–साना कुरामा चासो नदिनाले यस्ता विषयमा आवाज आउन नसकेको बताउँछन् । ‘पेट्रोलको मूल्यवृद्धिले ढुवानी महङ्गो हुन्छ, ढुवानी महङ्गिदा सबै दैनिक उपभोग्य वस्तुको मूल्य बढ्छ । यसको चौतर्फी समस्या हुन्छ’, श्रेष्ठ भन्छन्, ‘तर हाम्रा सामान्य उपभोक्ताहरू यस्ता कुरामा विरोधका आवाज उठाँउदैनन् ।’