धरानः प्रदेश नम्बर १ का पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि धरानमा प्रदेश नम्बर १ स्तरीय दोस्रो तीन दिने इष्ट टुरिजम मार्ट हुने भएको छ ।

असोज ४ गतेदेखि ६ गतेसम्म पर्यटकीय गन्तव्यका विषयमा जानकारी गराइने र पर्यटकलाई प्याकेजका रूपमा प्रचारप्रसार गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा धरान उपमहानगरपालिकाको संयोजनमा तीन दिने मार्ट सञ्चालन हुन लागेको हो । कार्यक्रममा धरानलगायत प्रदेश नम्बर १ का विभिन्न पर्यटकीय गन्तव्यको प्याकेज खरीदका लागि अन्य शहरका पर्यटन व्यवसायीसहित बङ्गलादेश, भारत, भुटान लगायतका देशका पर्यटन व्यवसायीसँग बिजनेस टु बिजनेस कार्यक्रम हुने भएका छन् ।

धरानको सिद्धि नेवा परिषदको परिसरमा आयोजना हुने इस्ट टुरिजम मार्टमा काठमाडौं, पोखरा, चितवन, लुम्बिनीका ४० ओटा स्टल र प्रदेश नम्बर १ का विभिन्न पर्यटकीय गन्तव्य रहेका शहरको प्रचारात्मक थप ६० ओटा स्टल रहने मार्टका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूसँगको बिजनेस टु बिजनेस कार्यक्रमले पूर्वमा पर्यटकहरू भित्र्याउन मद्दत पुग्ने उनले बताए ।

पूर्वका प्रमुख गन्तव्य सगरमाथा बेस क्याम्प, हलेसी, वराहक्षेत्र, सखडा, छिन्नमस्ता, जनकपुर, कोशी टप्पु वन्यजन्तु आरक्ष, प्राचीन हरिद्वार वराहक्षेत्र, ऐतिहासिक विजयपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथीभरा लगायतका क्षेत्रलाई धरानमा प्रचार गरिने छ । ‘मार्टमा विशुद्ध पर्यटनका प्याकेज खरीदबिक्री हुनेछ,’ उनले भने, ‘जसले गर्दा पर्यटन व्यवसाय प्रवद्र्धन हुनेछ भने गन्तव्यको पहिचान गराइनेछ ।’

मार्टमा पर्यटन प्याकेज किन्ने र बेच्ने गरी करीब ३ सय जना पर्यटन व्यवसायीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मार्टको आयोजना शुरुवाती अवस्थामै रहेकाले त्यसको प्रभाव अलि पछि देखि देखिन थाल्ने श्रेष्ठको भनाइ छ । उनले भने, ‘मार्टले पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा समेत टेवा पु¥याउने छ । धरानलाई मार्टको ब्राण्ड बनाउने उद्देश्य रहेकाले अबदेखि वर्षेनी इष्ट टुरिजम मार्ट धरानमै हुनेछ ।’

मार्टले धरानको पर्यटनमा समेत टेवा पुग्ने भएकाले धरान उपमहानगरपालिकाले बजेट विनियोजन नै गर्न थालेको छ । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा धरानसहित पूर्वका अन्य पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि मुख्य थलो बन्ने बताइन् ।