बेलबारीः सरकारले शिक्षामा गरेको लगानी ओरालो लागेको भन्दै चिन्ता बढिरहेको बेला केही सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर ल्याउने खालका गतिविधि देखाउन थालेका छन् ।

निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्न थालेपछि शिक्षकहरू समेत चिन्तित हुन थालेका थिए । केराबारी गाउँपालिका वडा नम्बर ९ को बुद्ध माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर बढाउनका लागि प्रत्येक कक्षामा सीसी क्यामरा जडान गरेको छ भने पुस्तक कुनासमेत स्थापना गरिसकेको छ । कृषि सङ्ग्रहालय स्थपना गर्ने नीतिसमेत विद्यालयले अगाडि सारेको छ ।

‘विद्यार्थीहरूले आधुनिक यन्त्र मात्रै चिन्छन्’, विद्यालयका प्रधानाध्यापक छविलाल धमलाले भने ‘पहिलाका हलो, कुटो, कोदाले, डोको हँसियालगायतका सामग्री चिन्दैनन् ।’ पुराना सामग्रीहरू राखेर कृषि सङ्ग्रहालयको स्थापना गरिनेसमेत उनले बताए ।

‘कृषिप्रधान देश भनेर हामी भन्छाँै,’ उनले थपे, ‘विद्यार्थीले नै हलो, कुटो, कोदालो चिन्दैन । परम्परागत खेतीदेखि आधुनिक खेतीम्म चिनाउने गरी सङ्ग्राहालयको स्थापना गर्न खोजिएको उनले बताए ।

२०३७ सालमा स्थापना भएको सो विद्यालयमा हाल ५ सय बढी विद्यार्थी रहेका छन् । पढाइको गुणस्तर बढाउँदै लान थालेपछि निजी विद्यालय छाडेर पढ्न आउन थालेको प्रअ धमलाले बताए । कक्षा १० सम्म पढाइ हुने बुद्ध माविमा माध्यमिक तहको दरबन्दी ४ जनाको भए पनि दरबन्दीअनुसारका शिक्षक भने प्रअ धमाला मात्रै हुन् । अन्य ३ जना भने विद्यालयको आन्तरिक स्रोतबाट तलब भत्ता दिने गरी नियुक्त गरिएको छ ।

दरबन्दीअनुसार शिक्षकको व्यवस्था सरकारले यसै वर्ष गरेमा आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ समेत सञ्चालन गर्न सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपाल कार्कीले बताए । अहिलेसम्म ३ जना शिक्षकलाई सामुदायिक वन तथा स्थानीयसँगको सहकार्यमा तलब खुवाएको उनले बताए ।

निजी विद्यालय भन्दा सामुदायिक विद्यालयप्रतिको अभिभावकको आकर्षण बढाउन पढाइको गुणस्तरलाई बढाउनुपर्ने केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्ल बताउँछन् । केराबारी–९ मा मात्रै ४ ओटा निजी विद्यालय रहेका छन् ।

बेलबारी नगरपालिका वडा नम्बर ११ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारी विद्यार्थीलाई चमेना गृहमा गएर आफैँ खाजा खुवाउने गर्छन् । उनी दिउँसो १ बजेदेखि १५ मिनेटसम्म चमेना गृहमा गएर आफैँ विद्यार्थीलाई खाजा बाँड्ने गर्छन् ।

प्रअ भण्डारीका अनुसार विद्यालयले आइतबार हलुवा, सोमबार दूध र बिस्कुट, मङ्गलबार खिचडी, बुधबार खीर र बिहीबार पास्ता खुवाउने गरेको छ । शुक्रबार भने आधा समयमात्रै पढाइ हुने हुनाले खाजा दिइँदैन । खाजाले विद्यार्थीको आकर्षणसमेत बढ्ने गरेको उनले बताए । उक्त विद्यालयमा निजी विद्यालय छाडेर विद्यार्थीहरू पढ्न आएका छन् । १ सय १५ जना भन्दा बढी विद्यार्थी अन्य विद्यालयबाट आएको प्रअ भण्डारीले बताए ।

पछिल्लो समय शिक्षामा गरेको लगानीले केही सामुदायिक विद्यालयमा सुधार भएको देख्न सकिन्छ । प्रविधिको प्रयोगसमेत सामुदायिक विद्यालयले बढाउन थालेका छन् । कम्प्युटर कक्षादेखि प्रोजेक्टरको प्रयोगसमेत प्रयोग गर्न थालेका छन् ।

यता, बेलबारी नगरपालिकाले पनि सामुदायिक विद्यालयको पठनपाठनको गुणस्तर बढाउन कुनै पनि कसर बाँकी नराख्ने निर्णय गरेको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरभित्रका प्राज्ञिक व्यक्तिहरूलाई समेटेर नगरपालिकाले सिल्भर भोलेन्टेरियस कार्यक्रम समेत लागू गरेको बताए । विद्यालयमा शिक्षक बिदामा बस्दा समेत पठनपाठनमा अवरोध नआउने मेयर सुवेदीको भनाइ छ ।