बिर्तामोडः मेचीनगर–१२ शहरेडाँगीस्थित सरस्वती बाल कल्याण माविको प्राङ्गणमा विद्यार्थी, अभिभावक र नेताको जमघट छ ।

‘तपाईंहरू अरुभन्दा फरक देखिनुभयो’, कार्यक्रमको शुरुमै विद्यालयका प्रधानाध्यापकले धन्यवादको भाकामा भने, ‘तपाईहरूको सहयोगी भावना र खुला हृदयले भन्छ, स्वार्थको सङ्कीर्णता तपाईंहरूमा देखिएन ।’

कार्यक्रम थियो, ३९ औं शिक्षा दिवसका सन्दर्भमा आयोजित सभा । सभाका प्रमुख अतिथि थिए झापा क्षेत्र नम्बर १ बाट निर्वाचित सङ्घीय सांसद राम कार्की । कार्यक्रमको उद्देश्य थियो, समाजवादको भ्रुण रोप्नु । यसको शुरुवात भएको थियो विद्यालयका सानासाना नानीहरूलाई दैनिक एक गिलास दूध उपलब्ध गराउने अभियानको उद्घाटन गरेर ।

कार्यकर्ताको साथ नेतालाई
सो विद्यालयका ८६ जना बालबालिकालाई दैनिक एक गिलास दूधको प्रबन्ध भने स्थानीय ऋतिका डेरीका सञ्चालक राजन चिमरियाले गरेका हुन् । चिमरिया पूर्व माओवादी कार्यकर्ता समेत हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले समाजवाद तलैबाट बुन्नुपर्ने बताए । उनले भने, ‘समाजवाद माथिबाट पनि पठाउँदैनन्, यहाँ पनि बनाइएन भने यो कहिल्यै नआउन सक्छ । त्यसैले सानो कुराबाट समाजवादको शुरुवात गरिएको हो । झापामा ऋतिका डेरीले समाजवाद शुरु ग¥यो । भोलि एनएमसी डेरीले सहकारीमा समाजवाद शुरु गर्छ भन्दै कार्कीले भने, ‘त्यस पछि सरकारले पनि सरकारी समाजवाद शुरु गर्न बाध्य हुन्छ ।’

नेपाली कम्युनिष्ट आन्दोलनमा झापाको योगदान स्मरण गर्दै सांसद कार्कीले झापाले समाजवाद बुन्न सक्ने बताए । नेपालीहरू उपभोक्तावादको शिकार भएको उल्लेख गर्दै कार्कीले एक्लै हिँड्नु, आफूमात्र बन्ने कुरा गर्नु, मै खाउँ, मै लाउँ भन्नु पूँजीवाद भएको बताए ।

समाजवाद सोचमा आउनुप¥यो
समाजवाद सोचमा आउनु पर्ने बताउँदै माक्र्सवादी अध्येतासमेत रहेका कार्कीले नेता र कर्मचारीले शिक्षा र स्वास्थ्यमा व्यापार गरेका कारण नेपालले दुःख पाएको बताए । उनले भने, ‘साँच्चै समाजवादको कुरा गर्ने हो भने कुनै पनि दलका नेता र कर्मचारीले शिक्षा र स्वास्थ्यमा व्यापार गर्नु भएन ।’

सांसद कार्कीले चुनावी सभालाई सम्बोधन गर्दा कम्युनिष्टको सरकार आयो भने प्रत्येक घरका बालकलाई एक गिलास दूध निःशुल्क आउने छ भनेका थिए । यो कसरी सम्भव हुन्छ भनेर कार्यकर्ताहरू भन्थे । उनले जितेर गए र सरकार पनि कम्युनिष्टहरूकै बन्यो । तर, उनको एक गिलास दूधको वाचा भने पूरा भएको थिएन ।

गाउँमा कार्यकर्ताहरूलाई भने विपक्षीले हैरान बनाएको प्रसङ्ग सम्झँदै नेकपाका मेचीनगर १० का अध्यक्ष प्रकाश खड्का भन्छन्, ‘हामी त हैरान भएका थियौं, तर आज हाम्रा नेताले गरेर देखाइदिए । अब भने समाजवादप्रतिको विश्वास जागेको छ ।’
समाजवादको यो जग बसाउने अभियानलाई ऋतिका डेरीका सञ्चालक राजन र घनश्याम चिमरियाले योगदान गरेका छन् । पूर्व माओवादी कार्यकर्ता समेत रहेका राजन चिमरियाले आफैँ साइकल चलाएर दूध सङ्कलन गर्दै स्थापना गरेको उद्योगले गरिब जनताका छोराछोरीका लागि योगदान गर्न पाउनु खुशीको कुरा भएको बताए ।

‘मेरो सानो योगदानले समाजवादको सपनामा टेवा पुग्छ भने म त्यो गर्न तयार छु,’ चिमरियाले भने, ‘म जुन वर्गबाट आएको हुँ त्यो वर्ग उत्थानका लागि काम गर्नु मेरो राजनीतिक धर्म हो ।’

समाजवादको प्रारम्भिक अभ्यास भन्दै आफ्ना विद्यार्थीहरूबाट कार्यक्रम शुरु गरेकामा विद्यालयका प्रधानाध्यापक शक्रराज घिमिरेले आयोजकलाई धन्यवाद दिएका छन् । यसबाट अरुले पनि सिक्न सक्ने र सबै विद्यालयमा यस्तो सुविधा पुग्ने विश्वास आफूले लिएको घिमिरेले बताए ।