बिर्तामोडः झापाको धुलाबारी बजार कुनै समयमा पूर्वको हङकङ बजारको उपनामले चिनिन्थ्यो । धुलाबारी बजारमा कपडा र सजावटका सामान किन्न नेपालीमात्र होइन भारतीय कलाकारदेखि सर्वसाधारणको समेत भीड लाग्थ्यो ।

एक दशकअघि झापाको धुलाबारीमा चीनबाट सोझै सामान आयात हुने गरेकाले किनमेलका लागि धुलाबारी पूर्वी नेपालको मात्र होइन भारतीय नागरिकको रोजाइको बजार थियो । भारतीय कलाकार चलचित्रमा लगाउने पहिरन किन्नसमेत धुलाबारी बजार आउँथे । अहिले ती सामान भारतीय बजारमा सस्तो र गुणस्तरीय पाइने हुँदा भारतीय ग्राहक धुलाबारीमा नआउने मात्र होइन नेपाली उपभोक्ता नै किनमेल गर्न भारत पुग्ने गरेका छन् ।

कुनै समय व्यस्त देखिने धुलाबारी अहिले सुनसान बनेको धुलाबारीका व्यापारी प्रह्लाद ओली बताउँछन् । ‘एक दशकअघि मात्र धुलाबारी बजारमा दैनिक २५ ओटा भन्दा बढी मालवाहक गाडी सामान लिएर भित्रने गर्थे । १७ वर्ष अघिदेखि म धुलाबारी बजारमा व्यापार गर्दै आएको छु,’ उनले भने, ‘एक दशकअघिको तुलनामा आजभोलि व्यापारमा निकै गिरावट आएको छ ।’

चीनबाट भारतमा सामान १० दिनमै झर्ने तर नेपाल आइपुग्न महिनौं लाग्ने भएका कारणले धुलाबारीको व्यापारमा गिरावट आएको उनी सुनाउँछन् । ‘हिजोआज कोही ग्राहक आउँछन् कि भनेर बाटो हरेरै दिन बित्छ,’ उनले भने, ‘पहिले चीनबाट सोझै धुलाबारीमा सामान आयात हुने गरेको थियो । आजभोलि भारतीय बजारमा सोही सामान यहाँको भन्दा सस्तो मूल्यमा पाइने भएकाले नेपाली ग्राहक पनि भारतीय बजार पुग्ने गरेका छन् ।’

विगतको तुलनामा मानिसको चहलपहल घट्नुमा भारतसँगको खुला सिमाना पनि मुख्य कारण भएको धुलाबारीका व्यापारी बताउँछन् । ‘नेपालले भन्सार असुल्ने मात्र रणनीति ल्याउँछ । भन्सारमा हुने चोरी निकासी नियन्त्रण गर्न सक्दैन । सबैलाई भन्सारको दायरामा ल्याउँदै चोरी निकासीका कारण र भारतले चीनसँग नाका खुलाएकाले नेपाली बजारमा भन्दा सस्तो मूल्यमा भारतमा सामान पाइन्छ,’ धुलाबारीका व्यापारी तुलसी कडरियाले भने, ‘धुलाबारीको बजार सुस्ताउनुमा सरकारको कमजोर व्यापार नीति नै मुख्य कारण हो ।’

तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र युद्धका क्रममा धुलाबारीका व्यापारी विस्थापित हुनु पनि व्यापार घट्नुको मुख्य कारण रहेको उनको भनाइ छ ।

२०६१ सालमा भारतको सिक्किमबाट चीन जोडिने छागुलेक नाका पुनः सञ्चालनमा आएपछि सोही नाका भएर भारतमा चिनियाँ सामग्री भित्रन थाल्यो । नेपालमा चीनबाट भित्र्याइएको सामान धुलाबारी बजारमा सस्तोमा पाइने भएकाले भारतले नाका खोलेपछि नेपालको भन्दा कम मूल्यमा सोही सामान भारतीय बजारमा चीनबाट आइपुग्यो । सोही कारण एक पटक कारोबारका हिसाबले धपक्कै बलेको झापाको धुलाबारी बजार त्यसरी नै झरेको स्थानीयको भनाइ छ ।

धुलाबारीभन्दा केही किलोमिटर पूर्व भारतको पानीट्याङ्कीमा नेपालमा भन्दा सस्तोमा सामान पाइने हुँदा भारतीय त आउन छाडे नेपाली नै सामान किन्न पारी जाने गरेका छन् । भारतले नाका खोल्नुअघि धुलाबारीमा चाडपर्वका समयमा मात्र होइन, अन्य समयमा पनि बाक्लै चहलपहल हुने गरेको स्थानीय जानुका भट्टराई बताउँछिन् ।

अहिले धुलाबारी बजार हुँदै दैनिक हजारौं नेपाली दैनिक उपभोग्य खाद्यवस्तु, लत्ताकपडा किन्न भारतको पानीट्याङ्की पुग्छन् । पहिलेको धुलाबारी र अहिलेको पानीट्याङ्की उस्तै रहेको व्यापारी कडरिया बताउँछन् । पारी पानीट्याङ्की जहिल्यै व्यस्त, वारी धुलाबारी सधैं सुनसान हुने गरेको उनले बताए । राजनीतिक खिचातानीका कारण व्यापार घटेको उनको तर्क छ ।

पूर्वको व्यापारिक केन्द्र धुलाबारीमा चाडपर्वको बेलामा पनि स्थिति दयनीय हुने गरेको व्यापारी हरिनारायण पोद्दारले बताए । ‘राजनीतिक दलले व्यापारीको समस्यालाई सम्बन्धित निकायमा पु¥याउन पहल गर्नुपर्छ,’ पोद्दारले भने, ‘सरकारले व्यापारीलाई सहुलियत ऋणको व्यवस्था गर्ने र सामान आयात गर्दा छुट दिने हो भने यहाँको व्यापार खस्कने थिएन ।’

हङकङ बजारको रूपमा परिचित धुलाबारी बजारमा केही वर्षअघिसम्म भारतीय नागरिकले दैनिक २ लाख रुपैयाँभन्दा बढीको समान किन्ने गर्थे । अहिले दैनिक ५ हजार रुपैयाँको कारोबार गर्न पनि हम्मे पर्ने गरेको छ । ७ वर्षअघि व्यापारी आत्माराम अग्रवालको हत्या भएकाले पनि व्यापार घटेको स्थानीय व्यापारीको भनाइ छ । अग्रवालको हत्यापछि ठूला व्यापारी पलायन भएको व्यापारीको बुझाइ छ ।

झापाली अर्थतन्त्र र व्यापारको एक हिस्सा ओगटेको पुरानो बजार धुलाबारी यसरी सुस्त हुँदा अर्थतन्त्र र व्यापारमा नकारात्मक असर परेको उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य केशव पाण्डे बताउँछन् । ‘हाम्रो देशको व्यापार नीति नै कमजोर छ, धुलाबारीको व्यापार देखेर भारतले आफ्नो व्यापार नीति परिवर्तन ग¥यो र व्यापार भारतमा सा¥यो,’ पाण्डेले भने, ‘नेपालले ३ वर्षअघि नै डब्लुटीओमा हस्ताक्षर गरेर भन्सार दरबन्दी कम गर्दै लैजाने प्रतिबद्धता जनाएको थियो तर अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन ।’ सरकारले व्यापार नीति परिवर्तन गर्न नसकेकै कारण नेपालका अन्य बजारको व्यापार पनि खस्कदै गएको पाण्डे बताउँछन् ।

धुलाबारी बजारको व्यापार घट्न थालेपछि धुलाबारीका व्यापारीले आफ्नो व्यापार भारतीय बजारमा सार्न थालेका छन् । कारोबारमा आएको मन्दीसँगै उनीहरू भारतीय बजार पानीट्याङ्की, सिलिगुडी, सिक्किम पुग्न थालेका छन् । पुराना ६० प्रतिशत व्यापारी भारत पलायन भएको धुलाबारी बजारका पाका व्यापारी युगानन्द पौडेलको भनाइ छ । दैनिक करोडौंको व्यापार हुने बजारमा आएको मन्दीका कारण यहाँको लगानी झापाका अन्य शहर र भारतीय बजारमा विस्थापित हुन थालेको छ । यसले गर्दा स्थानीय व्यापारीले दैनिक लाखौं रुपैयाँ नोक्सानी बेहोर्नुपरेको छ ।