इटहरीः शुक्रबार बीपी अध्ययन प्रतिष्ठान मोरङले बीपी विचार गोष्ठीको आयोजना गरेको थियो । ‘आजको सन्दर्भमा बीपीको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमका प्रमुख अतिथि थिए नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला ।

कोइराला कार्यक्रमको निर्धारित समयभन्दा केही ढिला आइपुगे । उनी सिधै स्टेजतिर हान्निए । तर स्टेजमा ब्यानर र पोडियमबाहेक केही थिएन । दर्शक दीर्घाकै अगाडि केही कुर्सी खाली थिए । कोइराला त्यहीँ गएर बसे ।
उनी सँगै थिए प्रदेश नं १ नेपाली काङ्गे्रसका संसदीय दलका नेता राजीव कोइराला र प्रमुख सचेतक केदार कार्की पनि । सोही लाइनमा कार्यक्रमका प्रमुख वक्ता पुरन्जन आचार्य र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले पनि थिए ।

bipii
कार्यक्रम सञ्चालकले कार्यक्रम शुरु गरे । कार्यक्रम शुरु नहुँदै निराश हुनु हुँदैन भन्दै मौनधारणको ठाउँमा नृत्य प्रस्तुत गरेर कार्यक्रम शुरु भयो । सञ्चालकले केही सरकारी ओहोदाका बाहेक अरूलाई आसन ग्रहण गराएनन् । उपस्थित नेता कार्यकर्ताले कानेखुशी गर्न थाले । केही भने यस्तो कार्यक्रम वाहियात भन्दै हलबाट बाहिरिए पनि ।

त्यत्तिकैमा आसनग्रहणको लागि चिट काटेर पोडियममा पुग्नेको भीड नै लाग्यो । तर तोकिएका बाहेक कसैको आसन ग्रहण भएन । अन्य कार्यक्रममा जस्तो मोबाइलबाट राष्ट्रिय गीत बजाइएन बरु सबैले उठेर एकै स्वरमा राष्ट्रिय गीत गाए ।
कार्यक्रमको पहिलो वक्ताका रूपमा राजनैतिक विश्लेषक पुरन्जन आचार्य मञ्चमा पुगे । उनले सोही कार्यक्रमको उदाहरण दिँदै बीपीले भनेको समाजवाद यस्तै भएको बताए । यहाँको बसाइ जुन किसिमको समावेशी र सौहार्दपूर्ण छ बीपीले भनेको समाजवाद त्यस्तै भएको उनको भनाइ थियो ।

‘यहाँ को ठूलो, को सानो भन्ने कुनै विभेद छैन,’ उनले भने, ‘एक आपसमा सम्मान र सद्भाव छ तर कुनै विभेद छैन यही नै समाजवादको अभ्यास हो ।’ साथै बीपीको समाजवादको व्याख्यालाई व्यवहारिक रूपमा प्रयोग गर्ने समय भएको उनले बताए ।
उनी पछि लगत्तै बोलेका अर्का वक्ता डा. स्वर्णिम वाग्लेले पनि सोही कार्यक्रमको उदाहरण प्रस्तुत गर्दै आफ्नो भनाइ शुरुवात गरे । बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको नीति नेपालको भूगोल अर्थात् नेपाल सुहाउँदो रहेको उनको तर्क थियो । बीपीले अख्तियार गरेको नीति काङ्ग्रेसले बिर्सँदै गएका कारण जनताले पनि काङ्गे्रसलाई माया मार्न थालेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पनि उक्त कार्यक्रमको खुलेरै प्रशंसा गरे । विगतमा राजनीतिक कार्यक्रममा आसन ग्रहण र भाषणले कार्यक्रमको मर्म बिगारेको स्मरण गराउँदै यो कार्यक्रमबाट आफूले पाठ सिकेको उनको भनाइ थियो ।
पार्टी राजनीतिप्रति इङ्गित गर्दै उनले स्थानीय कार्यकर्ता जिल्ला नेताको इशारामा, जिल्लाका नेताहरू केन्द्रका नेताको इशारामा र केन्द्रको नेताहरू कुन इशारामा चलिरहेका छन् भन्नेबारे थाहा नभएको बताए ।

कार्यक्रमको उद्घाटन हुँदा पानी हालिएको बिरुवा रोपेर कार्यक्रमको समापन गरिएको थियो । अत्यन्तै कम वक्ता र धेरै जनाको उपस्थितिमा पनि सीमित आसनग्रहणले कार्यक्रम सौहार्दपूर्ण रूपमा अगाडि बढेको थियो ।

कार्यक्रमका सभापति तथा बीपी अध्ययन प्रतिष्ठान मोरङका अध्यक्ष रञ्जन ओझाले नेताहरूमा सामन्तवादी सोच हाबी भएका कारण समाजवादी अभ्यास सिकाउनको लागि नयाँ तरिकाले कार्यक्रम सञ्चालन गरिएको बताए । ‘हामीले जहिल्यै ठूलो र सानो भन्ने सोच पालेर बस्यौं, त्यसैले राज्य र जनताप्रति विभेद भइरह्यो,’ उनले प्रश्न गरे, ‘अब यो अभ्यास फेरिनुपर्छ । आ–आफ्नो ठाउँमा सबै स्वतन्त्र र सार्वभौम छन् कसैलाई तल र कसैलाई माथि गर्ने प्रक्रिया निरन्तर भयो भने समानताको अभ्यास कहिले गर्ने ?’