धनकुटाः थोरै लागानीमा किसान आफैंले भण्डारण गर्न मिल्ने कुलबोट अर्थात् चिस्यान भण्डारण प्रविधिको विकास गर्न राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्लेका कृषि वैज्ञानिक जुटेका छन् ।
सुन्तला, कागतीजस्ता अमिला जातका फलफूललाई सिजनको बेला भण्डारण गरी अफसिजनमा निकाल्न मिल्ने गरी चिस्यान भण्डार ‘कुलबोट’ प्रविधिको अनुसन्धान शुरु भएको हो । कुलबोट प्रविधि जडान पछि तापक्रमलाई शून्य डिग्रीसम्म नियन्त्रण गरिदिन्छ । यो प्रविधिले कति तामक्रम आवश्यक पर्ने हो त्यति नै बनाइदिन्छ । सुन्तला लगायत अमिलो जातका फलफूल भण्डारणको लागि न्यूनतम ८ देखि १२ डिग्रीसम्म तापक्रम आवश्यक पर्छ । आर्द्रता ८५ प्रतिशतभन्दा माथि चाहिन्छ । सामान्य कोठामा बाहिरको तापक्रम भित्र नछिर्ने गरी यो एउटा मेसिन जडान गरेर यो निर्माण गर्न सकिन्छ ।
३ लाख रुपैयाँसम्मको लागतमा निर्माण गर्न सकिने यो ‘कुलबोट’ प्रविधिमा बढीमा २ टनसम्म स्टोर गर्न मिल्ने राष्ट्रिय सुन्तला जात कार्यक्रम पारीपात्लेका वरिष्ठ वैज्ञानिक डा. उमेशकुमार आचार्यले जनाए । यो प्रविधिको पूरा गर्न ८ महिना समय लाने गर्छ । चैतसम्म अनुसन्धान पूरा भइसक्नेछ ।
कुलबोट प्रविधि सफल भएमा तीन देखि चार महिनासम्म स्वाद, आकार र गुणस्तर नबिग्रिने गरी भण्डारण गर्न मिल्छ । ‘अहिले हामी परीक्षणको क्रममा छौं । रहन्छ रहँदैन अहिलै नै भन्न सक्दैनौं’, उनले भने, ‘यदि प्रमाणित भएको खण्डमा हामी किसानलाई सिफारिश गर्छाैं ।’
कुलस्टोरभित्र अहिले तराईमा फल्ने कागतीलाई परीक्षणको रूपमा प्रयोग गरिएको छ । पारीपात्लेमा नै भदौ महिनामा पाक्ने सुन्तलाको रूपमा विकास गरेको उन्सु जातको सुन्तलालाई स्टोरेज गरेर परीक्षण गरिनेछ ।
१०÷१२ टन फलफूल कोल्डस्टोर बनाएर स्टोर गर्दा लागत महङ्गो पर्छ । मध्यमस्तरका किसानले यस्तो प्रविधि प्रयोग गर्न सक्दैनन । लागतको हिसाबले सस्तो कुलस्टोरेस् प्रविधि मध्यमस्तरका किसानका लागि उपयोगी हुन सक्छ । लागतको हिसाबले ३ लाख रुपैयाँभन्दा बढी खर्च नलाग्न सक्छ । यो प्रविधिमा बढीमा २ टनसम्म स्टोर गर्न मिल्छ ।
कृषि मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा सुन्तला जात बालीको कुल क्षेत्रफल ४६ हजार ३ सय २८ हेक्टर रहेको छ । कुल उत्पादन २ लाख ३९ हजार ७ सय ७३ मेट्रिकटन भएको थियो । अमिलो जातको फलफूलको खेती विशेष गरी मध्यपहाडी क्षेत्रमा हुने गरेको छ ।