ताप्लेजुङः हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा विगत लामो समय यता उडान हुन सकेको छैन । मध्य बर्खामा हुने मौसम खराबीले उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो । यो वर्ष गत असार ४ गते यता उडान हुन सकेको छैन ।

मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेसन इञ्चार्ज राजु कार्कीले बताए ।

‘असार, साउनमा मौसम खराबीले नियमित उडान भएन, अहिले उडानका लागि मौसम अनुकूल भए पनि १÷२ जना यात्रु फाट्टफुट्ट आउने गर्नुभएको छ । कम्तीमा ६÷७ जना सम्म यात्रु नहुँदा घाटा बेहोर्नुपर्छ’, कार्कीले भने । यद्यपि ४÷५ जना सम्म यात्रु पाए घाटा बेहोरेर पनि उडान शुरु गर्ने मनस्थितिमा पुगेको कार्कीले बताए ।

सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाडौं उडान गर्ने नियमित कार्यतालिका छ ।

यता, नेपाल वायु सेवा निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयको भनाइ छ । पटकपटक टिकट गरेर विमानस्थलबाटै फर्कनुपर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीय गाडी नै चढ्ने गरेका छन् ।