इटहरीः सुनसरीको झुम्का कारागारभित्र सञ्चालित क्यान्टिनले ‘दोब्बर’ मूल्यमा सामान बेच्ने गरेको पाइएको छ । कारागारभित्र आवश्यक पर्ने खाद्यपदार्थ र तरकारीको मूल्य बढाएर कैदीबन्दीलाई बेच्ने गरेको पाइएको हो ।

कारागार ऐन २०२० मा कैदीबन्दीहरूले आफ्नो आय स्रोत बढाउन कारागारभित्र चौकीदारमार्फत् व्यवसाय गर्न मिल्ने नियम छ । तर कारागारका चौकीदारहरूले नै सञ्चालन गर्ने क्यान्टिनहरूले महङ्गो मूल्यमा सामान बेच्दा कैदीबन्दीहरू कारागारभित्रै आजित बनेका छन् ।

‘२० रुपैयाँ पर्ने टुथ ब्रसलाई ५० रुपैयाँसम्म लिइन्छ’, भर्खरै लागूऔषध मुद्दामा ६ महिनाको कैद भुक्तानी गरी रिहा भएका इटहरीका एक युवकले नाम नबताउने शर्तमा भने, ‘एउटा लुगा धुने साबुनको ६० रुपैयाँ तिर्नुपर्छ’ ।

चौकीदारका ‘खास मान्छे’ ले चलाउने उक्त क्यान्टिनहरूमा तोकेको रकम नतिर्दा वा विवाद गर्दा पिटाइ खाइने उनले बताए ।
सरकारले कैदीबन्दीहरूको लागि मासिक ७० केजी चामल र ६० रुपैयाँ दैनिक दिने गरेको छ । सामूहिक रूपमा नखाई व्यक्तिगत रूपमा आफैँ खाना पकाइ खानेहरूका लागि अतिधेरै समस्या हुने गरेको उनको भनाइ छ ।

‘घरपरिवारले छाडेको पैसाले दिउँसो चाउचाउ बिस्कुट केही खान मन लाग्छ तर मूल्य सुनेरै अघाइन्छ । कारागारभित्र सबै वस्तुको मूल्यसूची राखिएको हुन्छ तर व्यवहारमा भने लागू हुँदैन’ उनले भने ।

‘कारागारभित्र खैनी चुरोट प्रतिबन्ध हुन्छ तर भित्र खुलेआम बेचिन्छ । एउटा खैनीको दाम बजारमा १० रुपैयाँ हो तर भित्र ३० रुपैयाँमा पाइन्छ अनि एक खिली चुरोटलाई ४० रुपैयाँ,’ उनी भन्छन्, ‘तरकारीको भाउसमेत महङ्गो छ । बजार मूल्यभन्दा दुइ गुना बढी हुन्छ । मासुको तर कुरै नगरौँ ।’

मूल्यको विषयमा चौकीदारपछिका ‘भाइ नाइके’ लाई यो कुरा राख्दा २ झापड र सय पटक उठबस गरेको उनको अनुभव छ ।
‘यो विषयमा कोही पनि बोल्न पक्षमा छैनन् । पैसा हुनेले खायो, नहुनेले बिहान बेलुकाको खायो सुत्यो,’ कोशीपत्रसँग कुरा गर्दै उनले भने, ‘क्यान्टिनले कमाएको त्यो मुनाफा चौकीदार हुँदै जेलरसम्म पुग्छ । कारागार प्रशासन र प्रहरी यो विषयमा जानकार छ, तर थाहा नपाएजस्तो गर्छन् । यसको मतलब भनेको सबैको मिलेमतो छ ।’

घर परिवारलाई फोन गर्दाको शुल्क पनि बढी लिने गरेको उनली दाबी गरे । दुई मिनेट कुरा गरेको सय रुपैयाँसम्म लिने गरेको उनको भनाइ छ ।

औषधी, लत्ताकपडा वितरणमा र उपचारमा पठाउँदासमेत पैसाको खेल हुने गरेको उनले सुनाए । अख्तियारले यो विषयमा छानबिन गर्नुपर्ने उनको सुझाव छ ।

यता झुम्का कारागारको ए ब्लकका चौकीदार प्रेम लवतीले कारागारभित्र त्यस्तो नहुने दाबी गरे । ‘भन्नेले केही कुरा चित्त नबुझेर भनेको हुन सक्छ,’ उनले भने, ‘हामी बजारको रेटअनुसार सामान बेच्छौँ ।’ समयसमयमा हुने कारागार प्रशासनको अनुगमनले यस्तो नभेटेको लावती बताउँछन् । ‘बजारभन्दा पाँच रुपैया बढी लिएको हुन सक्ला तर दोब्बर कदापी लिइँदैन’, उनले भने ।

यस्तै बी ब्लकका चौकीदार खड्गबहादुर राईले पनि कैदीबन्दीहरूको सहजताको लागि खोलिएको क्यान्टिनमा महङ्गो मूल्यमा सामान बेच्ने नगरेको बताए । उनले भने, ‘फिल्डमा आएर बुझ्नुहोला, अरु म केही बोल्दिनँ ।’

झुम्का कारागारका निमित जेलर राजेन्द्र कार्कीले चौकीदारको सिफारिशमा चल्ने त्यस्ता क्यान्टिनहरूले महङ्गो मूल्यमा सामान बेचेको विषयमा आफू जानकार नभएको बताए ।

‘भित्र के हुन्छ हामीलाई त्यति जानकारी हुँदैन । बजार मूल्यमै सामान बेचिनुपर्छ’, उनले भने, ‘यदि यहाँको कारागारमा त्यस्तो भएको छ भने हामी छानबिन गर्छाँै ।’

झुम्का कारागारलाई देशकै दोस्रो ठूलो कारागारको रूपमा हेरिन्छ । १ हजार ३ सय जनाको क्षमता भएको कारागारमा अहिले १ हजार ७ सय हाराहारीमा कैदीबन्दी छन् ।