इटहरीः चालु आर्थिक वर्षको सबैभन्दा कम रकमको शेयर कारोबार सोमबार भएको छ ।
आइतबार भएको कम कारोबार रकमको रेकर्ड सोमबार तोडिएको हो । सोमबार जम्मा १७ करोड ७२ लाख ७९ हजार उनन्चालीस रुपैयाँ मूल्यको शेयर कारोबार भएको छ । आइतबार २२ करोड ६९ लाख ५० हजार २ सय ३८ रुपैयाँबराबरको शेयर किनबेच भएको थियो ।
आइतबार १ सय ६६ ओटा कम्पनीको कारोबार भएको थियो भने सोमबार १ सय ७० ओटा कम्पनीको कारोबार भएको थियो । तर, बढी कम्पनीको कारोबार भए पनि शेयर सङ्ख्या घट्नाले कारोबार रकम पनि ओरालो लागेको हो ।
सोमबार जम्मा ७ लाख ४३ हजार ४ सय १५ कित्ता शेयर ४ हजार ६ सय ८४ पटक किनबेच भएको थियो । आइतबार ८ लाख ४८ हजार ६ सय ६२ कित्ता शेयर ५ हजार ८ सय ९६ पटक किनबेच भएको थियो ।
कारोबार रकम घटे पनि नेप्से सूचक ० दशमल १५ प्रतिशत अर्थात् १ दशमलव ७३ अङ्कले बढेको छ । नेप्से सूचक १ हजार १ सय ४० दशमलव ९८ बिन्दुमा अडिएको छ ।
२ कम्पनीको कारोबार रकममात्रै करोड बढी
१ सय ७० ओटा कम्पनीको शेयर कारोबार हुँदा जम्मा २ ओटा कम्पनीको मात्रै १ करोडभन्दा बढी रुपैयाँको शेयर किनबेच भएको छ । प्रभु बैंकको १ करोड २५ लाख २३ हजार ४ सय ४७ रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १ करोड २० लाख ५२ हजार ५ सय ३ रुपैयाँको शेयर किनबेच भएको छ । तेस्रो स्थानमा रहेको सिद्धार्थ बैंकको ८५ लाख २८ हजार ७ सय ३३ रुपैयाँको शेयर किनबेच भएको छ ।
३ ओटा समूहमा मात्रै रातो
कम कारोबार भए पनि थोरै अङ्कले नेप्से बढे पनि अधिकांश समूह भने बढेका छन् । नेप्सेमा सूचीकृत सबै १२ ओटा कम्पनीको कारोबार हुँदा जलविद्युत, वित्त र सामुहिक लगानी कोषको सूचकमा मात्रै रातो पोतिएको छ । बाँकी सबै सूचकमा हरियाली छाएको छ । व्यापार समूह सबैभन्दा धेरै २ दशमलव ८४ प्रतिशतले बढेको छ भने सामुहिक लगानी कोष सबैभन्दा धेरै शून्य दशमलव ६२ प्रतिशतले घटेको छ ।
साल्ट ट्रेडिङका लगानीकर्ता मालामाल
सोमबार साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलव ९४ प्रतिशतका दरले सम्पत्ति कमाएका छन् । त्यस्तै, सिर्जना फाइनान्सका लगानीकर्ताले ३ दशमलव ९० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ५१ प्रतिशतले कमाएका छन् । यद्यपि जोशी हाइड्रोपावरको मूल्य प्रतिकित्ता ५९ रुपैयाँमात्रै छ । सोमबार समग्र बजार पूँजीकरण १४ खर्ब ४९ अर्ब कायम भएको छ ।
बढी मूल्य घट्नेमा जलविद्युत समूहका कम्पनी
सोमबार बढी मूल्य घट्ने अधिकांश कम्पनी जलविद्युत समूहका रहेका छन् । बढी मूल्य घट्ने ५ कम्पनीमध्ये. ४ ओटा जलविद्युत समूहका छन् । र मूल्य घटेका ती कम्पनीको सोमबारको बजारमूल्य आईपीओभन्दा तल र कतिको त ४० प्रतिशतभन्दा तल छ ।
सबैभन्दा धेरै मूल्य घटेको युनियन हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ७७ प्रतिशतले सोमबार घाटा खाएका छन् । सो कम्पनीको शेयरमूल्य जम्मा ५१ रुपैयाँ कायम भएको छ । जुन रकम आईपीओभन्दा ४९ प्रतिशत कम हो । माउण्टेन हाइड्रोका लगानीकर्ताले ३ दशमलव ७० प्रतिशतले सम्पत्ति गुमाउँदा सो कम्पनीको शेयर मूल्य प्रति कित्ता ७८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव ४५ प्रतिशतले सम्पत्ति गुमाएका छन् । सो कम्पनीको शेयर मूल्य ५६ रुपैयाँ रहेको छ । पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव २६ प्रतिशतले घटेर प्रति कित्ता ८९ रुपैयाँ कायम भएको छ ।