धनकुटा: अमिला जात फलफूलका स्वस्थ बिरुवा उत्पादनका लागि धनकुटाको पारिपात्लेमा स्थापना गरिएको टिस्यु कल्चर ल्याबमा आवश्यक पूर्वाधार र प्राविधिक नहुँदा समस्यामा परेको छ ।
तन्तु प्रजनन प्रविधिबाट अमिला जातका फलफूलका स्वस्थ बिरुवा उत्पादन गर्न सकिने सरकारी स्तरबाट सञ्चालित यो मुलुककै एक मात्र टिस्यूकल्चर ल्याब हो । यो केन्द्रलाई जुनार, सुन्तला, कागती, ज्यामिर, भोगटे, निबुवा जस्ता फलफुल खेती हुने मध्य पहाडका ४२ जिल्लाका लागि स्वस्थ बिरुवा उत्पादन र प्रविधिको विकास गर्नुपर्ने जिम्मेवारी दिइएको छ ।
लामो समयदेखि बन्द रहेको ल्याब एक वर्ष अघि जसोतसो सञ्चालनमा त आएको थियो तर आवश्यक प्राविधिक कर्मचारी, उपकरण र पूर्वाधार छैन । ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न कम्तीमा दुई जना वनस्पति विज्ञ, प्राविधिक र सहयोगी गरी सात जनाको टिम आवश्यक छ । तर यीमध्ये यहाँ एक जना पनि उपलब्ध छैनन् ।

ठुलो इन्कुभेटर उपकरण, प्रयोगशाला र फराकिलो वातानुकुलित ल्याब चाहिन्छ । प्राविधिक जनशक्ति व्यवस्थापन र ल्याब स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने तर्फ मन्त्रालय र कृषि अनुसन्धान परिषद्को ध्यान नगएको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम धनकुटाका प्रमुखका. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
वातावरणमा भइरहेको फेरबदल र रोगकिराका कारण सुन्तलाजातफलफूलका बगैँचा, फल उत्पादन र गुणस्तरमा समस्या थपिँदो छ । रोगी बोट मासेर नयाँ बगौँला बिस्तार गर्न चाहने किसानले स्वस्थ र गुणस्तरीय विरुवापाउन सकिरहेका छैनन् ।

उत्पत्ति, गुणस्तर र स्वस्थता प्रमाणित नगरिएका निजी नर्सरीबाट सञ्चालकले भनेकै भरमा बिरुवा खरिद गर्न अहिलेसम्म किसान बाध्य भएका छन् ।