धरानः विद्यालयको ५ सय मिटर वरपर सूर्तिजन्य पदार्थ, मादक पदार्थ तथा लागूऔषध जन्य पदार्थको बिक्रीमा रोक लगाइएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरपर होटल, रेष्टुरेन्ट, विभिन्न किराना पसल सञ्चालनमा छन् ।

विद्यालय परिसरमा खुलेआम मादक पदार्थ र सूर्तिजन्य पदार्थ बिक्री भइरहँदा सम्बन्धित निकायले कारवाही गर्न नसक्दा विद्यार्थी कुलतमा फस्दै गएका छन् । सामान्य मद्यपान तथा धुमपानको सेवनबाट शुरु हुने कुलतले विद्यार्थीलाई लागूपदार्थको दुव्र्यसनतर्फ धकेल्दै गएको छ ।

टिफिनको समयमा विद्यार्थीले होटलमा सूर्तिजन्य पदार्थ सेवन गरेको भेटिने धरान–१५ स्थित शिक्षा सदन माविका प्राचार्य अमर बस्नेत बताउँछन् । ‘उनीहरूको साथमा १५÷२० रुपैयाँ हुन्छ, त्यसले आउने चुरोट लगायतका पदार्थ सेवन गर्छन्’, उनले भने, ‘बिस्तारै लागूपदार्थको दुव्र्यसनतर्फ धकेल्छ ।’ सूर्तिजन्य पदार्थको सेवन गरी कक्षाकोठामा आउँदा वातावरण पनि नराम्रो हुने र विद्यार्थीको पढाइमा पनि ह्रास आउने उनको भनाइ छ ।

विद्यालयसँगैको तरकारी बजार तथा आसपासमा पाइलैपिच्छे मदिरा र चुरोट पसल छन् । त्यहाँ विद्यार्थी पनि जाने गर्छन् र साथीभाइको सङ्गतसँगै लागूपदार्थको कुलत बढ्न थालेको छ । स्कुल परिसरमा चुरोट, गाँजाजस्ता लागूपदार्थको बिक्री तथा सेवनलाई नियन्त्रण गर्न नसकिएको खेमचन्द्र सुवेदी बताउँछन् । उनले भने, ‘नीति बनेको छ तर कार्यान्यवन गर्न सकेका छैनौं, यसलाई नियन्त्रण गर्ने काम प्रहरीको हो तर विद्यालय प्रहरीसंम्म उजुरी गर्न नजाँदा नीति कार्यान्यवन हुन सकेको छैन ।’

सरकारले सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ कार्यान्वयनमा ल्याएर स्कुलबाट ५ सय मिटरको दूरीसम्म सूर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरेको छ । सार्वजनिक स्थानमा धूमपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना समेत तोकेको छ । गुणस्तरीय शिक्षा, समाजमा शिक्षामैत्री वातावरण तयार गर्न स्थानीय सरकारले अधिकार पाएको छ । तर धरानमा विद्यार्थीमा बढ्दै गएको विकृति रोक्न स्थानीय सरकारको ध्यानकर्षण हुन सकेको छैन ।