बिर्तामोड: नियमित आम्दानीको स्रोत कमै राजनीतिकर्मीको हुन्छ । उनीहरू पेशा व्यवसाय गर्दैनन् । तर, पनि प्रायः राजनीतिकर्मीले विलासी जीवनशैली बिताइरहेका हुन्छन् । राजनीतिसँगै पेशा व्यवसाय गर्ने एक पात्र हुन् झापा बिर्तामोड नगरपालिकाका नगरप्रमुख धु्रवकुमार शिवाकोटी ।

शिवाकोटीले स्थानीय तहको निर्वाचन अघि नै माछापालन व्यवसाय शुरु गरेका थिए । उनले माछापालनमा अहिलेसम्म २२ करोड रुपैयाँ लगानी गरिसकेका छन् । पोखरी खनेर माछा हाल्ने अवस्थासम्म पु¥याउन मात्र चार करोड रुपैयाँ लगानी गर्नुपरेको शिवाकोटीले बताए ।

विगत १० वर्षदेखि बाँझो रहेको १६ बिघा क्षेत्रफलमा शिवाकोटीले माछापालनसँगै पार्क सञ्चालनमा ल्याएका हुन् । ‘हेभन वाटर पार्क’ नामकरण गरिएको यस क्षेत्रमा ११ ओटा माछा पोखरी छन् । ती पोखरी १३ बिघा क्षेत्रफलमा फैलिएका छन् । जहाँ शिवाकोटीले पङ्गाइसिस जातको माछापालन गर्दै आएका छन् । शुरुमा १ बिघा १७ कठ्ठामा माछा लगाएका शिवाकोेटीले उत्पादन राम्रो भएपछि क्षेत्रफल बढाएको बताए । बाँकी जमिनमा फनपार्क निर्माण गरिएको छ ।

स्थानीय तहको टिकट पाएसँगै नगरप्रमुखमा निर्वाचित बनेका शिवाकोटीले राजनीति र व्यवसाय एकसाथ अघि बढाएका छन् । ‘राजनीतिकर्मी वा जनप्रतिनिधिले राजनीतिको अलावा अन्य पेशा व्यवसाय गर्न भ्याइँदैन भन्ने हुँदैन’, शिवाकोटीले भने, ‘व्यवसायको गर्ने क्रममा मैले नागरिकलाई दिनुपर्ने सेवा सुविधामा कम गरेको छैन । नगरवासीको सेवा गरेर बाँकी रहेको समयमा व्यवसाय हेर्ने गर्छु । व्यवसायमा सफलता प्राप्त गर्नुमा श्रीमती विद्या शिवाकोटीको मुख्य हात छ ।’ श्रीमतीकै सल्लाह अनुसार माछापालन शुरु गरेको शिवाकोेटी बताउँछन् । उनलाई व्यवसायमा छोरा नेपालरत्न शिवाकोटी र बुहारी पूजा शर्माको पनि सहयोग छ ।

शुरुवाती चरणमा मुस्किलले प्रतिदिन २० किलो बिक्री हुने माछाले अहिले बजारको मागलाई धान्न नसकेको प्रमुख शिवाकोटीले बताए । उत्पादित माछा प्रदेश –१ को मोरङ, सुनसरी, धनकुटा, इलाम र झापाका विभिन्न बजारमा खपत हुने गरेको छ । उपभोक्ताको मागको २५ प्रतिशत मात्र धान्न सकेको उनी सुनाउँछन् । दाना खरीदमा भने समस्या रहेको शिवाकोटीले बताए । महिनामा ७० लाख रुपैयाँको दाना विदेशबाट आयात गर्नु परेकाले समस्या रहेको उनी सुनाउँछन् । उनले माछालाई विश्वकै आइएसओ प्राप्त अर्गानिक दाना प्रयोग गर्दै आएका छन् । उक्त दाना भारतको आन्ध्र प्रदेशमा रहेको ग्लोबल कम्पनीले उत्पादन गर्दै आएको छ ।

हेवन वाटर पार्कमा स्वास्थ्यबद्र्धक ओमेगा थ्री प्राप्त माछा उत्पादन गरिन्छ । माछामा पाइने ओमेगा ३ ले छाला र कपाललाई फाइदा गर्ने, ब्रेस्ट क्यान्सर, प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने लगायत विभिन्न रोगबाट बचाउने जानकार बताउँछन् । भियतनामबाट कोलकोत्ता हुँदै माछा नेपाल ल्याइएको शिवाकोटीले बताए । पोखरीमा ८ प्रकारका माछा उत्पादन हुँदै आएको छ । पोखरीमा भुरा छोडेको ४ महिनापछि माछा निकालेर बिक्री गरिन्छ । एउटा माछाको तौल ४ सयदेखि ६ सय ग्रामसम्म हुन्छ ।

पार्कसँगै शिवाकोटीले यसै क्षेत्रमा होटलसमेत सञ्चालनमा ल्याएका छन् । होटलमा माछाको ५२ प्रकारका परिकार बनाइँदै आएको श्रीमती विद्याले बताइन् । पार्कबाटै दैनिक ८ सयदेखि १ हजार किलो माछा बिक्री हुँदै आएको विद्याले बताइन् । उत्पादित माछा गाडीमा हालेर उपभोक्ताको घर–घरमै पु¥याइन्छ । प्रत्येक दिन १ हजार केजी जिउँदो माछा ‘होम डेलिभरी’ सेवा मार्फत् बिक्री हुने गरेको विद्याको भनाइ छ । माछा प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

३ बिघा क्षेत्रफलमा फैलिएको फनपार्कमा समेत मानिसहरूको घुइँचो लाग्ने गरेको छ । पारिवारिक भ्रमण, जन्मदिन आदानप्रदान र बिदा मनाउने गनतव्यको रूपमा स्थानीयले हेवन फनपार्कलाई रोज्ने गरेका छन् । फनपार्कमा राखिएको मानव निर्मित ‘डाइनोसर’ आकर्षणको रूपमा रहेको छ । पछिल्लोे समय झापाको बिर्तामोड बजार पूर्वको व्यस्त बजार बन्दै गएको छ । ‘बिर्तामोडलगायत झापाका अन्य बजारमा भीडभाड बढ्दो छ’, शिवाकोटीले भने, ‘बिदाकोे दिन केही समय भए पनि शान्त वातवरणमा बस्ने व्यवस्था हेवन वाटर पार्कले मिलाइदिएको छ ।’

जमिन बिक्री गरेर बैंकमा पैसा राख्नुभन्दा यस प्रकारको फरक व्यवसाय सञ्चालन गर्न सके आफ्नो नाम जीवन्त रहने शिवाकोटी बताउँछन् । हेवन पार्कमा शिवाकोटीले ६० जनालाई रोजगारी दिनसमेत सफल भएका छन् ।

मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लान प्रत्येक राजनीतिकर्मी व्यावसायिक र सामाजिक बन्नुपर्ने उनी बताउँछन् । त्यसको व्यावहारिक प्रयोग राजनीति गर्ने व्यक्तिबाटै गर्न जरुरी रहेकाले व्यवसायलाई निरन्तरता दिएको उनी सुनाउँछन् । प्रमुख शिवाकोटीले सरकारबाट प्राप्त तलबको २५ प्रतिशत रकमले साङ्गावेद संस्कृत विद्यालयमा अध्ययनरत् विद्यार्थीको खानामा खर्च गर्ने गरेका छन् । तलबको अन्य रकम पनि सामाजिक कार्यमा खर्च गर्दै आएको शिवाकोटीले सुनाए । आफू व्यवसायी भएकाले तलबलाई सामाजिक कार्यमा प्रयोग गर्न सहयोग मिलेको उनको भनाइ छ ।

नगरप्रमुख शिवाकोटी ‘अर्गानिक मेयर’ का उपनामले समेत चिनिन्छन् । नगरलाई विषादीमुक्त बनाउने अभियानमा उनी सक्रिय छन्् । भारतबाट विषादीयुक्त माछा आयात भएको देखेपछि मेयर शिवाकोटीले अर्गानिक माछा उत्पादन शुरु गरेका हुन् । स्वदेशमै उत्पादन बढाउन सके बाहिरबाट आउने उत्पादनको बिक्री स्वतः कम हुनेमा मेयर सिवाकोटी विश्वस्त छन् । भारतबाट आयात गरिएको माछामा घातक विषादी (फर्मालिन) प्रयोग हुने गरेको थाहा पाएसँगै आफू अर्गानिक माछापालनमा लागेको मेयर शिवाकोटी बताउँछन् ।