प्रकाशपुरः स्थानीय तहका वडाध्यक्ष आफैँ कार्यपालिकाका सदस्य हुन् । नगरपालिकाको प्रायः सबै कार्यकारी जिम्मेवारी कार्यपालिकामा नै हुन्छ । कार्यपालिकाको आधिकारिक निर्णय वडाध्यक्ष र उनीहरूले नै वडा सदस्यहरूमध्ये छानेर ल्याएका कार्यपालिकाका सदस्यहरूले गर्दछन् । 

सुन्दा अचम्म लाग्न सक्छ यसरी आफैँ सदस्य हुने वडाध्यक्षहरूलाई नै कार्यपालिकाको निर्णय थाहा हुँदैन । वराहक्षेत्र नगरपालिकाका वडाध्यक्षहरू कुनै बैठकमा विशेष कारणवश पुग्न सकेनन् भने उनीहरूलाई कार्यपालिकाको निर्णय के भयो थाहा नै हुँदैन । ‘कहिलेकाहीँ कार्यपालिकाको बैठकमा उपस्थित हुन सकिँदैन । प्रत्येक कार्यपालिकाको निर्णय वडामा पठाइदिनू भनेको हो तर हालसम्म त्यस्तो हुन सकेको छैन’, वडा नम्बर ९ का वडाध्यक्ष दीपक लिम्बू भन्छन्, ‘वडा सदस्यले कहिलेकाहीँ के निर्णय भयो भनेर सोधिहाले भने नगरपालिका नै पुग्नुपर्ने बाध्यता छ ।’

वेब साइटमा प्रकाशित हुँदैन

वेब साइटमा कार्यपालिकाको निर्णय प्रकाशित गर्ने ठाउँ रहे तापनि नगरपालिका बनेको झन्डै २ वर्ष हुँदासम्म पनि कार्यपालिकाको निर्णय वेबसाइटमा प्रकाशित भएको छैन । त्यति मात्र होइन कार्यपालिकाको निर्णय सम्बन्धित विभाग र वडा कार्यालयमा पठाउनुपर्दछ । तर नगरपालिकाले हालसम्म आर्थिक ऐनबाहेक कुनै पनि ऐन, नियम वा निर्णय वडा कार्यालयलाई पठाउने गरेको पाइँदैन । ‘कर उठाउनको लागि भए पनि आर्थिक ऐन भने साउन १ गतेभन्दा अगाडि आउने गरेको छ’, लिम्बू भन्छन्, ‘वर्षवर्षमा करको दरसहित आउने आर्थिक ऐनबाहेक नगरपालिकाले बनाएको अन्य ऐन कानुन वडासम्म आइपुगेको छैन ।’

कार्यपालिकाको निर्णय मात्र होइन मेयरका नजिकका वडाध्यक्षबाहेक धेरै वडाध्यक्षलाई नगरसभा सकिएको २ महिना बित्न लाग्दा पनि नीति तथा कार्यक्रम हात लाग्न सकेको छैन । तत्कालीन एमालेका वडाध्यक्षहरूको नगरपालिकामा वर्चस्व रहेको छ । तर एमालेकै कतिपय वडाध्यक्षसँग पनि सल्लाह नगरी मेयरले आफूखुशी प्रशासन पनि चलाउन खोजेको स्रोत बताउँछ । ‘कम्युनिष्टहरूले आफ्नै पार्टीको नेतृत्वको आलोचना नगर्ने हुनाले मेयरले गरेको सबै आदेश र निर्देशन बिनाप्रतिवाद स्वीकार्छन्’, काङ्ग्रेसबाट निर्वाचित एक वडाध्यक्षले भने, ‘पार्टीकै मान्छे भएकाले गर्दा कोही पनि दरोसँग कार्यपालिकाको बैठकमा प्रस्तुत हुँदैन थिए । तर आजकाल भने सामान्य प्रतिवाद गर्न थालेका छन् ।’

निवेदन दिँदा पनि सूचना उपलब्ध गराउँदैन नगरपालिका

बैठकको निर्णय उपलब्ध गराउन पत्रकारले निवेदन दिए तापनि हालसम्म पनि नगरले सूचना उपलब्ध गराउन सकेको छैन । नगरपालिकामा हुने गरेका कार्यको बारेमा तथा कार्यपालिकाको बैठकमा भएका निर्णयको सवालमा झन्डै ३ महिना अगाडि दिएको निवेदनमाथि हालसम्म कुनै पनि सूचना दिन सकेको छैन । ‘मैले कति सूचनाहरू सूचना अधिकृतसमक्ष मागेको छु, तर पाइनँ,’ वराहक्षेत्रमा काम गर्ने एक पत्रकारले भने, ‘स्थानीय तहमा हुने कतिपय महत्वपूर्ण निर्णय माग्दा हामी आफैँ प्रकाशित गर्छौं भन्दै पन्छिने प्रवृत्ति छ ।’