धनकुटाः स्थानीय भाषाको संरक्षण गर्न भन्दै धनकुटामा शुरु गरिएको मातृभाषामा शिक्षण कार्यक्रम प्रभावकारी बन्न नसक्दा बन्द हुने अस्थामा पुगेको छ ।
धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने अल्पसङ्ख्यक आठपहरिया राईको मातृभाषामा करीब ८ वर्षअघि पाठ्यक्रम बनाई पढाइ शुरु भएको थियो । राज्यको कुनै पनि क्षेत्रमा काम नलाग्ने अनि सीमित व्यक्ति र परिवारमा मात्र प्रयोगमा भएको भन्दै धनकुटाका विद्यालयमा पढाइ हुने आठपहरिया भाषामा हुने पाठ्क्रम बन्द हुने अवस्थामा पुगेको हो ।
आठपहरिया भाषामा १ देखि ३ कक्षासम्म धनकुटाको वडा नं २ मा रहेको मधुगंगा प्रावि वडा नं. ८ मा रहेको देउराली आधारभूत विद्यालय र जनता रष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन हुने भए पनि हाल देउरालीबाहेक अन्य विद्यालयमा सो भाषाको पढाइ बन्द भएको छ ।
‘आठपहरिया जातिको भाषा राज्यको कामकाजी भाषा पनि भएन अन्य कसैले बुभ्mदैनन् पनि । घरमा मात्र सीमित रहेको र राज्यले संरक्षण गर्ने कुनै नीति बनाउन नसकेका कारण बन्द हुने अवस्थामा पुगेको हो,’ अभियन्ता सरोज आठपहरियाले भने, ‘बालबालिकामा अङ्ग्रेजी शिक्षाप्रतिको आकर्षणका कारण आठपहरिया भाषामा पठनपाठन बन्द हुन थालेको हो ।’
आठपहरिया भाषाको पठनपाठन गर्न भन्दै ८ वर्ष अघि देउराली अधारभूत विद्यालयमा पहिलो पटक आठपहरिया राईको मातृभाषामा पढाइ हुन शुरु भएको जिल्ला शिक्षा समन्वय कार्यालय धनकुटाको तथ्याङ्कमा उल्लेख छ । तत्कालीन अवस्थामा नेपाल सरकार र फिनल्याण्ड सरकारको सहयोगबाट सञ्चालन गर्न सहमति भएअनुसार जिल्ला शिक्षा कार्यालय धनकुटा र आठपहरिया समाज नेपालको दोहोरो सम्झौताको आधारमा आठपहरिया राई भाषामा पठनपाठन शुरु भएको थियो ।
सोही समयमा बनेका पाठ्यपुस्तकबाहेक अन्य पाठ्यसामग्री समेत बनाउन नसकिएको वडा नं. ८ का अध्यक्ष सुमन आठपहरियाले बताए । ‘गैरसरकारी संस्थाको सहयोगमा छापिएका पाठ्यपुस्तक च्यातिएर, खुइलिएर लथालिङ्ग भएका छन्’, वडाध्यक्ष आठपहरियाले भने, ‘पूरा पाठसमेत छैन ।’
जनता राष्ट्रिय आधारभूत विद्यालयमा त अभिभावक भेला नै बसेर अब भाषाभाषीभन्दा पनि अङ्ग्रेजी भाषामा पठनपाठन गराउन दबाव दिएपछि आठपहरिया भाषामा कक्षा सञ्चालन गर्न छोडिएको प्रधानाध्यापक शुक्रबहादुर लिम्बूले बताए । सो निर्णयसँगै आठपहरिया भाषाका विषयशिक्षक मानप्रकाश राईले जागिर छोडेपछि पढाउने मान्छे पनि नभएको लिम्बूको भनाइ छ ।
यता, कक्षा सञ्चालन भएको देउराली आधारभूत विद्यालयमा विषय शिक्षक भए पनि सो भाषाको सट्टा अङ्ग्रेजी भाषा पढाइदिए हुने भन्ने अभिभावकको भनाइ आएको विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतले बताए ।
धनकुटा नगरक्षत्रेमा १ हजार ४ सय घरधुरीमा करीब ६ हजार आठपहरिया राई जातिको बसोबास रहेको छ । सीमान्तकृत जातिको मातृभाषामा कक्षा सञ्चालन गर्न स्थानीय सरकारले कुनै नीति बनाएको छैन । धनकुटा नगरमा सीमित रहेका आठपहरिया राईहरूको भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न संस्था खडा भई काम गरेको भए पनि आप्mनो परिवार र आपूmमा सीमित हुने भाषाभन्दा अब अङ्ग्रेजी भाषातर्फ बढी आकर्षण बढेका कारण आठपहरियामात्र होइन अन्य मातृभाषामा समेत विद्यालय पाठ्यक्रम बनाउन सोच्नुपर्ने भएको नगरप्रमुख चिन्तन तामाङले बताए ।
तामाङले भने, ‘विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रम बनाउने हो भने सीपमूलक, व्यावहारिक एवं स्वदेश र विदेशमा समेत बिक्री हुने दक्ष जनशक्ति उत्पादन हुने पाठ्यक्रम बनाउने तयारी भइरहेको छ ।’