इटहरीः पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ ।
उनको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । उनका बाबु कृष्णप्रसादले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई उपहारस्वरूप गरीब किसानले लगाएको कपडा पठाएपछि राणा सरकारले कृष्णप्रसादलाई देश निकाला गरेको थियो । बाबुसँगै बीपी पनि भारत निर्वासनमा धेरै समय रहे ।
जब भारत स्वतन्त्र भयो तब बीपी नेपालमा प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा सक्रिय बने । निर्वासनकै क्रममा उनले २००३ मा आफ्नो नेतृत्वमा नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीको स्थापना गरी राणाविरोधी गतिविधि सञ्चालन गर्न थाले । सुवर्ण शम्शेरको नेतृत्वमा वि.सं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेसबीच एकता भई नेपाली काङ्ग्रेसको जन्म भयो । त्यसपछि आन्दोलन अझ सशक्त बन्यो र राणा शासनको अन्त्य गर्न काङ्ग्रेस सफल भयो ।
विसं २०१५ को आम निर्वाचनमा काङ्ग्रेसले २ तिहाइ बहुमत प्राप्त गरेपछि कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । विसं २०१७ पुस १ गते सैनिक बलमा राजा महेन्द्रले उनलाई अपदस्थ गरी आफ्नो हातमा शासन लिएका थिए । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइराला ८ वर्ष भारतमा निर्वासनमा रहे ।
त्यसपछि आफूमाथि लागेका ८ वटा ज्यान मुद्दाको पर्वाह नगरी राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी नेपाल फर्किए । क्यान्सर रागका कारण बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।
साहित्यमा पनि अग्र स्थानमा
कोइराला राजनीतिमा मात्र नभई साहित्यमा पनि विशिष्ट स्थानमा रहेका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । अधिकांश कृति उनले जेलमा रहँदा रचना गरेका थिए ।
कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ तथा हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।
त्यतिमात्रै नभई वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले पनि प्रकाशित छन् ।
यसरी राजनीति र साहित्य दुवै क्षेत्रमा अमूल्य योगदान दिएका हुनाले उनलाई राजनीतिक तथा साहित्यिक दुवै क्षेत्रका मानिसले सम्झिने गर्दछन् ।