विराटनगरः उद्योग सङ्गठन मोरङको आयोजनामा प्रदेश १ को राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पो २०७६ कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ ।

औद्योगिक उत्पादन र प्रविधि प्रबद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायिक उत्पादनमा जोड दिई एग्रो इन्डस्ट्रियल लिंकेज, कृषिमा यान्त्रिकीकरण, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको सङ्गठनका अध्यक्ष भीम घिमिरेले बताएका छन् ।

सङ्गठनले विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी एक्स्पोको तयारीको विषयमा जानकारी गराएको हो । २०७६ माघ २७ देखि फागुन ४ गतेसम्म विराटनगर– २ को शंकरपुर मार्गमा एक्स्पो आयोजना हुनेछ । यसको सहयोगी संस्था मोरङ व्यापार सङ्घ रहेको छ ।

यसैगरी, सह–आयोजक नेपाल पर्यटन बोर्ड, विराटनगर महानगरपालिका, मुख्य प्रायोजक नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि., सह–प्रायोजक दुगड फुड एण्ड स्पाइसेस प्रोडक्टस प्रा.लि., प्रायोजक पीएलओ लुब्रिकेन्टस, टोयोटा मोटर्स, कन्ट्रोल लुब्रिकेन्टस, एमएम. ग्रुप, विराट मेडिकल कलेज, बागमती प्लाष्टिक एण्ड प्याकेजिङ, अन्नपूर्ण सिमेन्ट र होङसाइ सिमेन्ट रहेका छन् ।

सङ्गठनका अध्यक्ष घिमिरेले भने, ‘एक्स्पो सफल भई आर्थिक कारोबारसमेत उल्लेख्य हुने हामीले अपेक्षा लिएका छौँ ।’ उनले आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि पनि महोत्सव र एक्स्पो जरुरी रहेको बताए ।

महोत्सवबाट सम्भावित बजारको पहिचान, लाभका क्षेत्र पहिचान, पर्यटन प्रबद्र्धन, प्रविधि पहिचान, उत्पादकहरूबीच स्वस्थ प्रतिष्पर्धा, लगानीमैत्री वातावरण निर्माणमा सहयोग, विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचानका साथै शिक्षा, स्वास्थ्य क्षेत्रको गतिविधिबारे जानकारी दिने प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ ।

एक्स्पोमा औद्योगिक उत्पादन तथा वस्तु, कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्री, घरायसी सामाग्री, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवम् बैंक तथा वित्तीय क्षेत्रका सेवाबारे जानकारी दिइने बताइएको छ ।

यसको आकर्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानाको विभिन्न परिकार, सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ उपलब्धिहरुको जानकारी, कृषिका उत्कृष्ट उत्पादनका साथै वस्तुको अलगअलग पेभेलियन प्रदर्शनीको प्रमुख आकर्षण हुनेछन् ।

औद्योगिक वस्तुको बजार प्रबद्र्धन, औद्यौगिक क्षेत्रको सूचना प्रवाह, नयाँ प्रविधि र उत्पादनबारे जानकारी, औद्योगिक विकासमा टेवा, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बिस्तार, उपभोक्ताहरूबीच सचेतनाका साथै उपभोक्ताको चाहना र रुचिबारे जानकारी लिई नयाँ वस्तु विकास गर्ने अवसरका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको अध्यक्ष घिमिरेले सुनाए ।

राष्ट्रिय उद्योग÷ व्यवसाय तथा बहुराष्ट्रिय कम्पनी, कृषि तथा पर्यटन व्यवसायी, शिक्षा, स्वास्थ्य, बैंकिङ, होटल व्यवसायी, घरेलु तथा साना उद्योगका साथै अन्तर्राष्ट्रिय स्तरमा भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तानका उद्योगी÷ व्यवसायीको सहभागिता रहने आयोजकको दाबी छ ।