सङ्खुवासभा सङ्खुवासभाको पाँचखपन नगरपालिकाले कामै नगरी बिल पेश गरेको आधारमा रकम भुक्तानी गरेको पाइएको छ ।
योजनाको अनुगमन नै नगरी समितिले बिल पेश गरेकै भरमा नगरपालिकाले रकम भुक्तानी गरेको पाइएको हो । वडा नं. ५ मा सातपत्रे कुलो भत्किएपछि पाइप खरिद गरिएको भन्दै बिल पेश गरेपछि नगरपालिकाले भुक्तानी दिएको हो ।

bill 2

कुलो भत्किएको स्थानमा १ सय ६० एमएमको ६० मिटर पाइप खरिद गरिएको र काम सम्पन्न भएको भन्दै कुलो मर्मतका अध्यक्ष मानसिंह पोख्रेलले ५५ हजार रुपैयाँको बिल पेश गरेका थिए । करकट्टी सहित नगरपालिकाले विपद व्यवस्थापन शीर्षकमार्फत् ४० हजार ७ सय ३७ रुपैयाँ रकम भुक्तानी गरेको हो ।
पोख्रेलले चैनपुर नगरपालिका–६ मा रहेको आसिका स्टोर्सबाट पाइप खरिद गरेको तीन वटा बिलमा १ सय १० एमएमको ६० मिटर पाइप र ४ बोरा सिमेन्ट खरिद गरेको बिल पेश गरेका थिए । तर पोख्रेलले उक्त बिल अनुसार सामग्री खरिद गरेका छैनन् । पोख्रेलको भनाइअनुसार आर्थिक वर्ष अन्तिम हुन लागेकाले हिसाब मिलाउन आसिका स्टोर्सबाट बिल लिइएको हो । स्टोर्समा १ सय ६० एमएमको पाइप नभएको र गाउँमा रहेको पुरानो पाइप खरिद गर्ने भनी हिसाब मिलानका लागि बिल लिएको पोख्रेलले स्वीकारे ।

आसिका स्टोर्सको फरक भनाइ
तर आसिका स्टोर्सले पोख्रेलले बिलअनुसार पाइप लगेको दाबी गरेको छ । नगरले कुनै पनि योजनाको अनुगमन नगरी योजना फरफराक र रकम भुक्तानी गर्न नपाइने भए पनि यसमा अनुगमन नगरी नै भुक्तानी गरिएको देखिएको छ ।

उपप्रमुखको संयोजकत्वमा रहेको अनुगमन समितिमा सबै वडाका वडाअध्यक्ष समितिका सदस्य हुन्छन् । तर यस विषयमा वडाध्यक्ष रामबहादुर तामाङले अनुगमन नगरिएको बताए ।
आर्थिक वर्ष अन्त्यको हतारोले अनुगमन गर्न नभ्याएको अध्यक्षले बताए । नगरपालिकाले विपद व्यवस्थापन शीर्षकबाट रकम भुक्तानी गरेको नगर प्रमुख विपिन राईले बताए । यो आर्थिक वर्षमा समेत नगरपालिकाबाट उक्त कुलो मर्मतका लागि २ लाख रकम विनियोजन भएको छ ।

bill 3