धरानः नेपालीहरूको मुख्य चाड दशैंतिहारको समयमा पनि सुनको कारोबार निराशाजनक नै देखिएको छ । सुनचाँदीको व्यवसायका लागि यो अत्यन्तै महत्वपूर्ण सिजन हो । अरू बेला भन्दा यस समयमा सुनको कारोबार उच्च मात्रामा हुने गर्छ । तर, अहिले मूल्य बढेकाले सुनको व्यवसाय निराशाजनक रहेको व्यवसायीहरू बताउँछन् ।

विशेष गरेर दशै तिहारलाई सुनचाँदीका गरगहना व्यापारको मुख्य सिजन मानिन्छ । गरगहनाको मुख्य व्यापार हुने दशै तिहारमा पनि धरानका सुनचाँदीका गरगहनाका पसल सुनसान झैँ छन् । तीजको समयमा सुनको मूल्य बढेपछि अधिकांश पसलहरू सुनसान जस्तै भएका छन् ।

तीजदेखि नै गरगहनाको किनबेचका लागि खचाखच हुने पसलमा अहिले मन्दी छाएको छ । अघिल्ला वर्षमा काँचो सुनको अभावमा व्यापार घटेको थियो अहिले भने बैंकमा सुन पाउँदा पनि व्यापारीहरूले खरीद गर्न मानेका छैनन् । पुराना सुनबाटै धरानको सुनचाँदीका गरगहनाका पसल सामान्य चल्न थालेका छन् ।

नेपाली समाजमा यस्ता चाडपर्वमा नयाँ गरगहना लगाउने विषय एउटा संस्कृतिको रूपमा नै विकास भएको छ । त्यसैको प्रभावले यस समयमा ठूलो मात्रामा सुनका गरगहना बिक्री हुने गर्थे । तर, अहिले चाडपर्वको समयमा पनि सुनका गरगहना किन्ने ग्राहकको सङ्ख्या नगण्य मात्रामा हुँदा व्यवसायीहरू मर्कामा परेका छन् ।

सुनको भाउ आकाशिँदै गएपछि कारोबारमा मन्दी आएको नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ प्रदेश नम्बर १ का संयोजक प्रेम लकान्द्री बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा डलरको कारोबारको आधारमा सुनको मूल्य निर्धारण हुने भएकाले नेपालमा पनि सुनको भाउ आकाशिँदै गएको उनको भनाइ छ । उनले भने, ‘मूल्य आकाशिएको छ । दिनको ३ हजार रुपैयाँसम्म तोलामा मूल्य बढेको छ । अनि कसरी व्यापार चल्छ ?’

देश नयाँ प्रणालीमा गएपछि राज्यको नीति पनि प्रष्ट नभएकाले व्यापारमा मन्दी आएको उनको भनाइ छ ।

धरानमा अघिल्लो वर्षको दशैंतिहारमा दैनिकजसो एउटा पसलमा १० तोलासम्मको सुनचाँदीका गरगहनाको कारोबार हुने गरेकोमा अहिले ९० प्रतिशतले कारोबारमा कमी आएको छ । हरेक वस्तुमा राज्यले भीसीटीएस प्रणाली लागू गरेकाले पनि असर परेको उनी बताउँछन् ।

सुनको मूल्य आकाशिँदै गएकाले उपभोक्ताले पुराना सुनका गहना पसलमा बिक्री गर्न थालेका छन् । सोही सुनले धरानको बजारमा व्यापार भइरहेको छ । उनले भने, ‘बैंकमा सुन छ, लिन सकिरहेको छैन । खपत छैन । उठाएर मात्रै भएन ।’