इटहरीः दशैंपछि खुलेको शेयर बजारको पहिलो दिन चालु आर्थिक वर्षकै सबैभन्दा कम रुपैयाँको शेयर कारोबार भएको छ ।

कम रुपैयाँको शेयर कारोबार भएको बजारमा प्रभु बैंकको उच्च कारोबार भएको छ । बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । जसका कारण आज प्रभु बैंकको शेयर खरीदमा लगानीकर्ताको आकर्षण बढेको हो । १ सय २१ ओटा कम्पनीको शेयर किनबेच भएको आजको बजारमा प्रभु बैंक एक्लैको कुल कारोबारको एक तिहाइभन्दा बढीको कारोबार भएको छ ।

जम्मा ६ करोड ३८ लाख ४५ हजार ४ सय ११ रुपैयाँको शेयर कारोबार भएको बजारमा प्रभु बैंकको २ करोड ५५ लाख ५ हजार ४ सय २६ रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको ३९ लाख ७५ हजार ६ सय ८२ रुपैयाँको शेयर किनबेच भएको छ । आजै लाभांश घोषणा गरेको महालक्ष्मी विकास बैंकको ३५ लाख १५ हजार ४ सय ९१ रुपैयाँको शेयर किनबेच भएको छ ।

सूचक घटेको बजारमा गुडविल फाइनान्सको ७ दशमलव ६९ प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनीको ५ दशमलव २८ र बोटलर्स नेपालको ३ दशमलव ९७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

त्यस्तै, नेपाल सेवा लघुवित्तको ३ दशमलव ६४ प्रतिशत, रिलायन्स फाइनान्स र अपि पावरको २ दशमलव ६१ प्रतिशत र नागरिक लगानी कोषको २ दशमलव ३६ प्रतिशतले शेयरमूल्य घटेको छ ।