फाइल तस्बिर 

इटहरीः प्रदेश नं १ दुग्ध उत्पादनमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दूध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ । देशभर १९ लाख २४ हजार २ सय मेट्रिक टन दूध उत्पादन हुने गरेकोमा प्रदेश नं १ मा मात्र ५ लाख ८१ हजार ७ सय ७९ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

यसैगरी माछाको कुल राष्ट्रिय उत्पादनमा प्रदेश नम्बर १ ले १२ दशमलव ६६ प्रतिशत योगदान गरेको छ । यो प्रदेशमा बर्सेनी ७ हजार ७२ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । माछाको राष्ट्रिय उत्पादन ५५ हजार ८ सय ४३ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, मासुको कुल राष्ट्रिय उत्पादनमा यो प्रदेशको योगदान १९ दशमलव २६ प्रतिशत रहेको छ । मासुको राष्ट्रिय उत्पादन ३ लाख ३२ हजार ५ सय ४४ मेट्रिक टन रहेकोमा यो प्रदेशको उत्पादन ६४ हजार ५४ मेट्रिक टन रहेको छ ।

त्यस्तै, यो प्रदेशमा अण्डाको उत्पादन ११ दशमलव ९७ करोड हुँदै आएको छ । यसले राष्ट्रिय उत्पादनमा ८ दशमलव ८५ प्रतिशत योगदान गरेको छ । अण्डाको राष्ट्रिय उत्पादन १ सय ३५ करोड हो । प्रदेशमा बागबानी उत्पादन २ हजार ४७ दशमलव ५ सय ९४ मेट्रिक टन, पशुपंक्षीजन्य उत्पादन ६ सय ५२ दशमलव ९ सय ५ मेट्रिक टन रहेको छ भने कृषि तथा पशु प्रसार सेवाको पहुँच १२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आत्मनिर्भर हुन नसकेका खाद्य पदार्थअन्तर्गत माछाको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ८ मेट्रिक टनबाट ६ मेट्रिक टन प्रतिहेक्टर पु¥याउने, मासुको उत्पादनमा १५ प्रतिशत वृद्धि गर्ने प्रदेश योजना आयोगको रणनीति छ । प्रदेशको मिल्क होलिडे हटाउन प्रदेश सरकारले २१ करोडभन्दा बढी लगानीमा सुनसरीको तरहरामा पाउडर प्लान्ट स्थापना गर्ने भएको छ ।