धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्थापनामा महत्वपूर्ण सहयाग पु¥याएको भारत सरकारले भविष्यमा पनि निरन्तर सहयोग गर्ने जनाएको छ ।
बीपी कोइरालाको १०४ औं जयन्ती तथा प्रतिष्ठानको २५ औं वार्षिकोत्सव (रजत जयन्ती)समारोहलाई आइतबार धरानमा सम्बोधन गर्दै भारतीय राजदूत मञ्जित सिंह पुरीले भविष्यमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।
उनले बीपी प्रतिष्ठानको ख्याती अन्तर्राष्ट्रिय स्तरमा रहेको भन्दै यो संस्थाको स्थापनामा भारत सरकारले योगदान दिन पाएकोमा गर्व लागेको पनि प्रतिक्रिया दिए । उनले भने, ‘यो संस्थाको ख्याती विश्वमा नै छ, यहाँको जनशक्तिको माग पनि बाहिर अत्यधिक छ । यस्तो प्रतिष्ठित संस्थाको स्थापनामा भारत सरकारले योगदान दिन पाएकोमा म ज्यादै खुशी छु ।’

समारोहका प्रमुख अतिथि रहेका राजदूत पुरीले गत वर्ष मात्र प्रतिष्ठान र भारतीय दूतावासबीच सम्झौता भएको स्मरण गर्दै सहयोग निरन्तर हुने बताए । प्रतिष्ठानले नेपालका जनतालाई मात्र नभई आफ्नै मुलुक भारतका जनतालाई पनि स्वास्थ्य सेवा, मेडिकल शिक्षा दिएर लाभान्वित बनाएको बताए ।

bpkihs (1)

नेपाल र भारत सरकारको मित्रताको उत्कृष्ट नमुना
उनले बीपी प्रतिष्ठान नेपाल र भारत सरकारको मित्रताको उत्कृष्ट नमुना भएको पनि बताए । ‘यो प्रतिष्ठान नेपाल र भारतबीचको मित्रता र सम्बन्धको उत्कृष्ट उदाहरण हो । यो संस्थाको विकास, प्रगतिबाट भारत सरकार पनि धेरै खुशी छ,’ राजदूत पुरीले भने ।

रजत जयन्ती समारोहमा प्रतिष्ठानका पूर्व निर्देशक डा. सुन्दरमणि दीक्षितले आप्mनो समयमा भन्दा प्रतिष्ठानले अहिले धेरै प्रगति गरेको भन्दै खुशी व्यक्त गरे । गरीब जनतालाई सेवा सुविधाको केन्द्रमा राखेर सेवा प्रवाह गर्न आग्रह गर्दै उनले बीपी कोइराला जस्तो महामानवको नाममा स्थापित संस्थाले सोही अनुरूप काम गर्न पनि अग्रह गरे । बीपी कोइरालासँगको आफ्नो सम्बन्धको चर्चा गर्दै दीक्षितले राष्ट्रको हितको लागि कोइरालाले आफ्नो राजनीतिक करिअर नै दाउमा लगाएको पनि स्मरण गरेका थिए । प्रतिष्ठानका उपकुलपति डा.रौनियारले स्थापनाको समयमा भन्दा धेरै भौतिक पूर्वाधार, जनशक्ति र सेवा विस्तार गरे पनि बिरामीको चापले गर्दा अझै अपुग भएकाले क्षमता, पूर्वाधार विस्तार थप्न आवश्यक भएको बताए । उनले उपचार सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा नेपालकै उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा कार्य गरिरहेको भन्दै भविष्यमा यहाँबाट कतै रिफर हुन नपर्ने गरी स्थापित गर्ने योजना रहेको पनि बताए ।

उपकुलपति डा. रौनियारले हाल ८ वटा सुपरस्पेसियालिटी सेवा शुरु गरिसकेको जनाउँदै भविष्यमा थप गर्दै लैजाने बताए । ‘हामीलाई धेरै चुनौती छ । क्षमता र पूर्वाधार बढाउँदै लगेका छौं, तर बिरामीको चाप यस्तो छ कि थेग्नै सक्दैनौं । यो सबैको सामना हामीले मिलेर नै गर्नुपर्नेछ,’ उपकुलपति डा.रौनियारले भने । उनले उच्चस्तरीय तलबमान आयोगको सिफारिशअनुसार यसै महिनादेखि लागू हुनेगरी भत्ता वृद्धि गरिने पनि बताएका थिए ।

समारोहमा प्रतिष्ठानका पूर्वपदाधिकारीलाई सम्मान पनि गरिएको थियो । प्रतिष्ठानले पूर्वउपकुलपति डा.लोकविक्रम थापा, पूर्वरजिष्ट्रार नन्दकुमार थापा, निर्देशक मनोहरप्रसाद गुप्ता, डा.सुन्दरमणि दीक्षित, डा.नारायणकुमार सिंह र सिनेटर डा.अञ्जनीकुमार झालाई सम्मान गरेको थियो ।

सोही समारोहमा राजदूत पुरी, डा.दीक्षित, उपकुलपति डा. रौनियार, अस्पताल निर्देशक डा.गौरीशंकर साह, रजिष्ट्रार तुलबहादुर श्रेष्ठलगायतले रजत जयन्ती अवसरमा प्रकाशित पुस्तकको विमोचन गरेका थिए । बीपी कोइरालाको नाममा २०५० सालमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष बीपी जयन्तीको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।