फाइल तस्बिर
दुहबीः सुनसरीको दुहबी नगरपालिकाले कवाडी करबापतको ठेक्का लगाउँदा नियमभन्दा बाहिर गएर लगाएको पाइएको छ । ०७६÷७७ को कवाडी कर तथा मृत पशुका (हाड, सिङ, खुर) सम्बन्धी ठेक्का लगाउँदा जारी गरिनुपर्ने सूचना प्रकाशन नगरिएको र आफ्ना निकटका ठेकेदारलाई प्रतिस्पर्धा बिना अभिकर्ताको रूपमा ठेक्का लगाइएको पाइएको हो ।

नगरपालिकाले साउन २ गतेको पत्रिकामा ठेक्का सम्बन्धी सूचना प्रकाशित गरेको बताएको छ । तर त्यस मितिमा कुनै पनि पत्रिकामा ठेक्का सम्बन्धी सूचना प्रकाशित गरिएको छैन ।

यस कार्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले दुहबीकै सिद्धिविनायक ट्रेडर्सलाई निकटताको आधारमा ठेक्का दिइएको बताइएको छ । जसले गर्दा साउन ३ गतेदेखि भदौ १५ गतेसम्म ट्रे«डर्सले नियमविपरीत कवाडी कर सङ्कलन गरेको थियो ।

सो ट्रेडर्सले यसअघि पनि कवाडी करबापतको ठेक्का लिएर काम गरेको थियो । अधिकृत ओझाको दबाबमा मेयरलाई मनाई दुहबीकै प्यारजन चौधरी र प्रबिन अग्रवालको नाममा रहेको सिद्धिविनायक टे«डर्सलाई ठेक्का दिइएको थियो ।

साउन २ गते नै बसेको दुहबी नगरपालिकाको कार्यपालिकाको बैठकले ट्रेडर्सलाई अभिकर्ताको रूपमा ठेक्का चलाउन दिने निर्णय गर्दा उपमेयर सुनिता दाहाल (साह) र वडा नम्बर १ का अध्यक्षले विरोध गरेका थिए । तर प्रशासकीय अधिकृतले जबर्जस्ती तरिकाले बैठकबाट सो निर्णय पास गराएका थिए ।

उपमेयर र वडाध्यक्षले अधिकृतको चर्काे विरोध गर्दा मेयर वेदनारायण गच्छदार भने मौन बसेका थिए ।

नगरपालिकाको जस्तोसुकै ठेक्का पारदर्शी हिसाबले पत्रिकामा सूचना प्रकाशित गरी प्रतिष्पर्धाको आधामा एकै पटक दिने कार्यपालिकाको नियमलाई अधिकृतले तोडेको आरोप लागेको छ ।

डेढ महिनाको लागि मात्र ठेक्का चलाउन खोजेको सिद्धिविनायक ट्रे«डर्स र अधिकृत ओझाबीचको सेटिङले वर्षदिनमा उठ्ने कवाडीबापतको कर यही बीचमा उठाएको स्रोतको दाबी छ । जसले गर्दा बाँकी समयको लािग नगरपालिकासँग सम्झौता गरी ठेक्का चलाउनेलाई कर उठाउन मुस्किल हुने गर्छ ।

यता दुहबीका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले दुहबीबाट प्रकाशित हुने कोचिला खबर दैनिककमा साउन २ गते सूचना निकालेको बताए । तर २ गतेको पत्रिकामा भने कवाडी कर सङ्कलनसम्बन्धी कुनै सूचना प्रकाशित छैन ।

‘पहिलेदेखि नै ठेक्का चलाउँदै आएको पाटी हो, पैसा उठाउन पनि बाँकी थियो’, घटनाबारे जानकारी लिँदा ओझाले भने, ‘त्यस कारण सिद्धिविनायक टे«डर्सलाई पुरानै रेटमा अभिकर्ताको रूपमा ठेक्का दिइएको हो । सूचना प्रकाशित भएको पत्रिका फायलमा नभेटिएको मात्र हो, नियमभित्र रहेर हामीले काम गरेका छौँ ।’

बाँकी ठेक्काको प्रक्रिया सम्झौता हुन लागेको बताउँदै अधिकृत ओझाले नियमसङ्गत रूपमा सबै ठेक्का लगाएको दाबी गरे ।