बेलबारीः सङ्घ प्रदेश तथा स्थानीय सरकार पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा जुटिरहँदा मोरङकै पर्यटकीय गन्तव्य राजारानी पोखरी भने ओझेलमा परेको छ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ मा रहेको तालको प्रचारप्रसार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक आउन सकेका छैनन् ।

‘चुरे क्षेत्रमा अवस्थित राजारानी पोखरी र त्यस आसपासको प्राकृतिक मनोरम दृश्यमा रमाउन गर्मीको समयमा पर्यटकको लर्को लाग्नुपर्ने मनोरम ठाउँ रहेछ’, पोखराबाट आएका श्री श्रेष्ठले भने, ‘गर्मीमा पनि धेरै गर्मी नहुने गजबको ठाउँ रहेछ ।’ पोखरामा भएका ताल तथा पोखरीहरूमा जनसङ्ख्याको चाप बढ्दै जाँदा फोहोर बढ्दै गएकाले एकान्त ठाउँमा रहेको राजारानीलाई संरक्षणसँगै प्रचारप्रसारको खाँचो रहेको समेत श्रेष्ठले बताए । उनी दशैं मान्न ससुराली लेटाङ आएको मौका पारी उक्त पोखरी हेर्न त्यहाँ गएका थिए ।
सुनाखरी, जङ्गली कछुवा, सेतो सर्प, अजिङ्गर तथा विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न पाइने गरे पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि प्रचारप्रसारमा सम्बन्धित निकायले ध्याउन पु¥याउन नसकेको स्थानीय रीता श्रेष्ठले बताइन् ।
राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ । यो ठाउँ मोरङ जिल्ला सदरमुकामबाट करीब ४० किलोमिटर उत्तरमा रहेको छ । सरकारले महत्व दिएर घोषणा गरेको पर्यटन वर्ष २०२० ले छोप्न लाग्दा समेत प्रचारप्रसार नहुदाँ दुःख लाग्ने गरेको श्रेष्ठको भनाइ छ ।

राजारानी क्षेत्र झापा र मोरङमा बस्ने अल्पसङ्ख्यक धिमाल जातिको उद्गम स्थल समेत मानिन्छ । राजारानी पोखरीमा नौका विहारको आनन्द समेत लिन पाइन्छ । धिमालहरूको उद्गम स्थल भए पनि सो क्षेत्रमा धिमालको एउटा घर पनि छैन ।

धिमालहरूले हरेक वर्षको बैशाख २ गते राजारानीमा जात्री पूजा गर्ने गरेका छन् । राजारानीमा पूजा गरी शुरु भएको जात्री पूजा असार २ गते मोरङको उर्लाबारीस्थित १० बिघेमा समापन हुने गरेको छ ।

पोखरीको नजिकै राजारानी मन्दिर रहेको छ । मन्दिरमा मगर जातका पुजारीले पूजाआजा गर्ने गर्छन् । उक्त मन्दिरमा पुजारी लोकबहादुर मगरले पूजाआजा गर्ने गरेका छन् । धनकुटाको चौबिसे गाउँपालिकमा रहेको राजारानीमा चौबिसे राजाले राज्य गर्ने र लेटाङमा रहेको राजारानीमा बाइसे राजाले राज्य गर्ने गरेको किंवदन्ती रहेको छ । राजा युद्ध गर्न जाँदा दरबारमा पालिएका परेवा नछोड्नु भनेर हिँडेका रहेछन् । पुजारी मगरले भने पुजारीले छाडिदिएपछि रानी र छोरी राजकुमारी सती गएका किंवदन्ती रहेको छ । राजारानीमा ३ ओटा पोखरी रहेका छन् । दायाँतर्फ राजाको पोखरी रहेको छ भने बायाँतर्फ रानीपोखरी रहेको छ । रानीको पोखरी छेउमा सानो आकारमा राजकुमारी पोखरी रहेको छ ।

राजारानी क्षेत्र विश्वकै दुर्लभ प्रजातिका सुनाखरी फूलको राजधानी पनि मानिन्छ । वनस्पति विज्ञहरूका अनुसार राजारानी क्षेत्रमा ४२ जातका सुनाखरी फूल रहेका छन् । जसमध्ये ३ जातका सुनाखरी विश्वबाटै लोपोन्मुख छन् ।

‘अहिले पोखरी छेउछाउकै रुखहरु समेत सुकिसकेका छन्’, लेटाङ –१ का वडा अध्यक्ष विष्णु मगरले भने, ‘तर चैतदेखि ३ महिना सुकेका रुखमा हरिया हुन्छन् ।’ वडा अध्यक्ष मगरका अनुसार सुनाखरी फुल्ने समयमा सुकेका रुखमा पालुवा आउने गरेका छन् । पोखरीको संरक्षण तथा विकास गर्नका लागि गुरुयोजना बनाएर अगाडि बढिएको वडा अध्यक्ष विष्णु मगरले बताए ।