धरानः भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनको लागि स्थानीय सरकारका लागि आयोजना गरिएको प्रशिक्षण कार्यशाला धरानमा सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यशालामा स्थानीय सरकारका प्रमुख र उपप्रमुख तथा राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनमा प्रत्यक्ष संलग्न रहने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नक्सापास शाखाका प्राविधिक प्रमुख गरी ४० जना सहभागी थिए ।

कार्यशालामा राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन, नक्सापास प्रक्रियालाई अझ सरल, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा शहरी विकास रणनीति, बस्ती विकास तथा भवन ऐनको कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

भवन निर्माण इजाजत प्रक्रियाको विकास, कार्यान्वयन तथा उपयुक्त नियमन र नियन्त्रण प्रणालीको विषयमा सबै स्थानीय सरकारहरूको बुझाइमा एकरूपता प्रदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले विपद् व्यवस्थापनको विषयमा प्रदेश सरकारले बजेटमै आवश्यक व्यवस्था गरी ठोस कदम चाल्न लागेको बताए ।

कार्यक्रममा दमक नगरपािलकाका मेयर रोमनाथ ओली, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले आप्mना भनाइ राखेका थिए । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले नगरपालिकाहरूले आप्mनो क्षेत्रमा घर निर्माण हुने सम्भावित सङ्ख्या अनुसार प्राविधिक जनशक्ति राखेर जनतालाई सेवा दिनुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं १, २ र ३ का महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रतिनिधिको उपस्थिति थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागका साथै धरान उपमहानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को आयोजनामा कार्यक्रम भएको थियो ।