काँकरभिट्टाः नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० (नेपाल टुरिजम इयर–२०२०) आउन अब करीब अढाई महिना बाँकी रहे पनि नेपाल प्रवेशको पूर्वी काँकरभिट्टा नाकाबाट भित्रिने पर्यटकको सङ्ख्यामा भने हरेक महिना कमी आउने गरेको छ ।

अध्यागमन कार्यालय काँकरभिट्टाले दिएको जानकारीअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बरसम्म आइपुग्दा पूर्वी प्रवेशद्वारबाट पैदलमार्ग हुँदै नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको हो । सन् २०१९ को पहिलो ९ महिनामा यो नाका भएर ९ हजार ४ सय ३१ पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमा ५ हजार ७ सय ६४ विदेशी तथा ३ हजार ६ सय ६७ नेपाली पर्यटक रहेको कार्यालयले जनाएको छ । सोही अवधिमा यो नाका भएर ४ हजार ८ सय ४३ विदेशी र ३ हजार ६ सय ७५ नेपाली गरी कुल ८ हजार ५ सय १८ जना पर्यटक विदेशिएका थिए ।

सबैभन्दा बढी मे महिनामा ५ सय ९० विदेशी र १ हजार ७९ नेपाली गरी कुल १ हजार ६ सय ६९ पर्यटक काँकरभिट्टा नाका भएर नेपाल घुम्न आएका छन् । जनवरीमा यो नाका भएर ८ सय २१ विदेशीसहित १ हजार १९ पर्यटकले नेपाल प्रवेश गरे पनि सेप्टेम्बरसम्म आइपुग्दा त्यो सङ्ख्या घटेर ८ सय ५७ जनामा झरेको छ । सो महिना ५ सय २ विदेशी र ३ सय ५५ नेपाली गरी ८ सय ५७ पर्यटक घुम्न आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । बितेको नौ महिनामा सबैभन्दा कम पर्यटक पनि सेप्टेम्बरमा नेपाल छिरेका छन् ।

खासगरी नेपालका हरेक संरचना र योजना पर्यटकमैत्री नहुनु र भ्रमण वर्ष २०२० (नेपाल टुरिजम इयर–२०२०) को प्रचारसमेत तीव्र रूपमा नभएका कारण पर्यटकको सङ्ख्या ओरालो लागेको झापा ट्राभल व्यवसायी सङ्घ जिल्ला समितिका अध्यक्ष निरबहादुर कार्कीको भनाइ छ । अन्तर्राष्ट्रिय क्षेत्रमा जति प्रचारप्रसार हुनुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ छ ।

हरेक महिना पर्यटकको सङ्ख्यामा कमी आउनुले सरकारले अघि सारेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वकाङ्क्षी योजना पूरा नहुने हो कि भन्ने व्यवसायीहरूको शङ्का छ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२० का) रूपमा मनाउने घोषणा गरेको भए पनि पूर्वी नाकाबाट अपेक्षित पर्यटक भित्रिरहेका छैनन् ।

फेबु्रअरीमा ५ सय ५९ विदेशी र ३ सय १० नेपाली गरी कुल ८ सय ६९, मार्चमा ८ सय २९ विदेशी र ४ सय १५ नेपाली गरी कुल १ हजार २ सय ४४, अप्रिलमा ८ सय ४६ विदेशी र २ सय ५१ नेपाली गरी कुल १ हजार ९७, जुन महिनामा ५ सय ६३ विदेशी र २ सय ५३ नेपाली गरी ८ सय १६, जुलाई महिनामा ५ सय ४१ विदेशी तथा ३ सय ४१ नेपाली गरी ८ सय ८२, अगष्ट महिनामा ५ सय १३ विदेशी र ४ सय ६५ नेपाली गरी कुल ९ सय ७८ जना पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क कार्यालयसँग छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी जुन महिनामा ५ सय ३७ विदेशी र १ हजार ८० नेपाली गरी कुल १ हजार ६ सय १७ जना पर्यटक नेपाल बाहिरिएका थिए । सबैभन्दा कम सेप्टेम्बरमा ९ सय ७१ विदेशी तथा ९८ नेपालीसहित ५ सय ६९ पर्यटकले नेपाल छाडेको कार्यालयसँग तथ्याङ्क छ ।

जनवरीमा १ हजार ३ सय १०, फेबु्रअरीमा ७ सय १, मार्चमा १ हजार १ सय ७, अप्रिलमा ८ सय ८६, मे महिनामा ६ सय ८१, जुलाईमा ७ सय २४, अगष्टमा ९ सय २३ जना पर्यटक काँकरभिट्टा नाका हुँदै विभिन्न देश प्रस्थान गरेका थिए ।

नेपाल प्रवेश गर्नका लागि भारतलगायत अन्य छिमेकी देशसँग जोडिएका सीमा नाका विभिन्न ठाउँमा छन् । तर नेपाल प्रवेशको पहिलो पूर्वीद्वार काँकरभिट्टा नाका निकै महत्वपूर्ण र संवेदनशील रहेको ‘नेपाल पर्यटन वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्घन समिति’ १ नम्बरका सदस्य उदयकुमार श्रेष्ठको भनाइ छ ।

यहाँका पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायीको बानी व्यवहार पर्यटकमैत्री हुनुपर्ने, प्रचारप्रसारलाई तीव्र पार्नुपर्ने उनको भनाइ छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा निजी क्षेत्र यसको प्रचारप्रसारमा निकै लागिपरेको पर्यटन व्यवसायी एवम् झापा ट्राभल व्यवसायी सङ्घ जिल्ला समितिका कोषाध्यक्ष पेमा तामाङको भनाइ छ । नेपाल सरकारले पर्यटकहरुलाई आकर्षण गर्न सक्ने योजना अघि सार्नुपर्ने र हरेक क्षेत्र पर्यटकमैत्री बन्नुपर्नेमा उनको जोड छ ।
यो नाकाबाट भारत विहारका मात्र नभएर अमेरिका, बेलायत, जर्मनलगायतका नागरिक पनि प्रवेश गर्ने गर्दछन् ।