काँकरभिट्टाः पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बालीको रूपमा रहेको अलैँचीको माग भारतमा बढ्न थालेकाले पूर्वी नाकाबाट हुने कृषि तथा कृषिजन्य वस्तुको व्यापार नेपालको पक्षमा मजबुत देखिएको छ ।

भारतीय बजारमा अलैँचीको माग बढेसँगै निर्यातसमेत बढेका कारण तुलनात्मक रूपमा व्यापार नेपालको पक्षमा देखिएको छ ।

आर्थिक वर्ष २०७५÷२०७६ मा काँकरभिट्टा नाका भएर कुल ४ अर्ब ८५ करोड ५५ लाख १८ हजार रुपैयाँ मूल्य बराबरका कृषि तथा कृषिजन्य वस्तु भारतसहित अन्य देश निर्यात भएका थिए । जुन रकम आयातको तुलनामा २ अर्ब १२ करोड ९७ लाख ५० हजार रुपैयाँले निकासी व्यापारमा वृद्धि भएको प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यो नाका हुँदै बन्दाकोपी, मुसुरो दाल, अदुवा, अम्लिसो, तोरीको पिना, राइस ब्राण्ड तथा जडीबुटीलगायतका वस्तुहरू निर्यात हुने गरेको छ ।

चीन, भारत अष्टे«लिया, क्यानाडालगायतका देशबाट कृषिजन्य वस्तुको आयात हुने गरेको छ । काँकरभिट्टा नाका भएर सबैभन्दा बढी दलहन आयात भएको देखिन्छ । दलहन, गेडागुडी क्यानडा र अष्टे«लियाबाट आयात भएको थियो । कार्यालयका अनुसार सो अवधिमा २ अर्ब ७२ करोड ५७ लाख ६८ हजार रुपैयाँ मूल्यबराबरका कृषि तथा कृषिजन्य वस्तु आयात भएका थिए । आर्थिक रूपमा व्यापार नेपालको पक्षमा हुनुपर्ने मुख्य कारण अलैँचीको माग बढ्नु र निर्यातमा वृद्घि हुनु नै भएको कार्यालयका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सुरेशकुमार साहको भनाइ छ । यो नाका भएर बंगलादेश तथा भारतलगायतका देशमा कृषिजन्य वस्तु निर्यात हुने गरेको छ ।

उनका अनुसार एक वर्षे अवधिमा पूर्वी नाका भएर ३ अर्ब ८ करोड ४४ हजार रुपैयाँ मूल्य बराबरको ३८ हजार ५ सय ५५ मेट्रिक टन अलैँची भारत निर्यात भएको छ । यसैगरी, १ अर्ब ४१ करोड १ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ११ हजार ५ सय ६८ मेट्रिक टन मुसुरो दाल, १० करोड १७ लाख १२ हजार रुपैयाँ मूल्यबराबरको ३ सय २६ मेट्रिक टन अर्थाेडक्स चिया रसिया र जर्मन निर्यात भएको छ । यो नाका हुँदै सबैभन्दा बढी मुसुरो दालको निर्यात भएको देखिन्छ । मुसुरो दाल विशेषगरी बङ्गलादेश निर्यात हुने गरेको छ ।

कार्यालयका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत साहका अनुसार २९ करोड ८८ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको ८ हजार ८ सय ९३ मेट्रिक टन अम्रिसो, तथा २२ करोड २८ लाख ३५ रुपैयाँ मूल्य बराबरको ९ हजार ९ सय ४८ मेट्रिक टन अदुवा समेत भारततर्फ निर्यात भएको छ । सो वर्ष आयात भएका वस्तुमध्ये अनारस, हरियो सागसब्जी, प्याज, आलु, धान, कोदो, गेडागुडी दल्हनलगायत मुख्य स्थानमा छन् ।

आयाततर्फ १३ करोड ५९ लाख ३० हजार रुपैयाँ मूल्यबराबरको ४ हजार ५ सय ३१ मेट्रिक टन प्याज, ४४ करोड २२ लाख २० हजार रुपैयाँ मूल्य बराबरको २२ हजार १ सय ११ मेट्रिक टन आलु तथा ४७ करोड ७३ लाख ६० हजार रुपैयाँ मूल्यबराबरको २६ हजार ७ सय ४१ मेट्रिक टन हरियो सागसब्जी नेपालका विभिन्न बजारमा आयात भएका छन् । कार्यालयले प्रवेश अनुमतिपत्रबापत निकासी तथा पैठारीतर्फ सोही अवधिमा ९ लाख ४५ हजार ८ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।