बेलबारीः मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ का कमल राई विदेश जाने युवाहरूका लागि प्रेरणको स्रोत बन्न थालेका छन् । वैदेशिक रोजगारीमा गएर पैसा कमाउने उद्देश्यले उनले ५ ओटा भन्दा बढी देशमा जानका लागि २ लाख रूपैयाँभन्दा बढी फसाए ।

२०६२–२०६३ सालको आन्दोलनपछि नेपालमै केही गर्न सकिन्छ भन्ने उनमा नयाँ उमङ्ग आयो । उनले त्यो उमङ्गलाई घरमै बसेर केही गर्ने सोच बनाए । ‘झापाका मौरीपालक एक जना कृषकले मेरो बारीमा लटरम्म तोरी फुलेको सिजनमा ल्याएर मौरी चराए’, राईले भने, ‘मैले पनि तिनै किसानको नजिक भएर मौरीका बारेमा जानकारी लिएँ । केही स्थानीय जागरुक भएपछि तिनै कृषकबाट तालीम लिएर हामीले सामुहिक मौरी र व्यक्तिगत रूपमा मौरी पाल्न थाल्यौँ ।’

उनका अनुसार मौरी पालन गरेको ३÷४ वर्षपछि महले बजार नपाएपछि त्यो पेशालाई माया मारेर उनी पुन वैदेशिक रोजगारीमा जानका लागि मेनपावर कम्पनी चाहर्दै काठमाडौ गए । मलेसिया, साउदी, कतार र कुबेतलगायतका देशमा जानका लागि २ महिनाभन्दा बढी काठमाडौंमा बसेर २ लाख भन्दा बढी खर्च गरे । २ महिनाजति उनी काठमाडौंमा नै बसे । वैदेशिक रोजगारीमा जानका लागि दिएको अन्तर्वार्तामा नाम ननिस्किएपछि उनी पुनः पुरानै पेशामा फर्किए ।

६ लाख रुपैयाँ लगानी गरेर मौरी पालन शुरु गरेका राईसँग अहिले २ सयभन्दा बढी घार मौरी छन् । ‘पहिले विदेश जान लाग्ने खर्च र समय मौरीपालनमा लगाएको भए राम्रो कमाइ गर्न सकिने रहेछ’, राईले भने, ‘नेपालमा आन्दोलन मात्रै भएपछि लगानी गर्ने वातावरण पनि थिएन । व्यापार व्यवसाय गर्दा कमाइभन्दा बढी मानसिक असर खेप्नुपथ्र्यो ।’

उनलाई महको बजारको भने अभाव छैन । ‘जति उत्पादन गरे पनि गुणस्तरीय उत्पादन बजारमा पु¥याएपछि बजारको अभाव हुँदैन’, उनले भने, ‘जङ्गलमा चराएर उत्पादन गरेको मह प्रति किलो १ हजारका दरले बिक्री हुन्छ । गाउँघरमै तोरी, गहुँलगायत अन्य फलफूलको फूल खेलेको सिजनमा चराएर उत्पादन भएको मह ६ सय रुपैयाँ प्रतिकिलोले बेच्ने गरेको राईले बताए ।

‘वार्षिक २० लाखसम्म कमाइ हुन्छ’, राईले भने, ‘खर्च कटाउँदा १० लाख त आम्दानी नै गर्छु ।’ उनले आफैँ फर्म नै दर्ता गरेर मह प्रशोधन गरेर बजारमा पु¥याउने गरेका छन् । उनको व्यवसायलाई श्रीमती पवित्रा र छोराहरू रुवल र युसेफले सहयोग गर्ने गरेका छन् । अरुको देशमा पसिना बगाउने समय आफ्नै माटोमा पौरख गरे नेपालमै कमाइ गर्न सकिने उनी बताउँछन् ।

उनले मेलिफेरा जातको मौरी पालन गरिरहेका छन् । उनले बिर्तामोड, दमक उर्लाबारी, पथरी, कानेपोखरी, बेलबारी, विराटचोक, इटहरी, धरान, विराटनगर र लेटाङलगायतका बजारमा मौरीको मह पु¥याएर बेच्ने गरेका छन् ।