काँकरभिट्टाः जिल्लामा प्रहरीले सक्रियता बढाएसँगै झापामा आपराधिक गतिविधिका घटना क्रमश कम हँुदै गएका छन् । प्रहरीले आफ्नो सक्रियता बढाउँदा विभिन्न अपराधमा संलग्नहरू निरुत्साहित र निष्क्रिय हुने भएकाले पनि जिल्लामा यस्ता घटना कम हुँदै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झापालाई अपराधमुक्त जिल्ला बनाउने सोचका साथ काम गरिरहेको बताए । उनका अनुसार त्रिवर्षीय तथ्याङ्क हेर्दा झापा जिल्लामा हरेक वर्ष अपराधका घटना क्रमशः कम हुँदै गएका छन् ।

आर्थिक वर्ष २०७३÷ २०७४ मा झापा जिल्लामा विभिन्न प्रकृतिका १ हजार ६ सय ओटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७४÷ २०७५ मा त्यो सङ्ख्या घटेर १ हजार ४ सयमा पुग्यो भने आर्थिक वर्ष २०७५÷ २०७६ मा १ हजार ४ सय ६८ मा उक्लियो ।

चालु आर्थिक वर्ष २०७६÷ २०७७ मा २ सय ३३ ओटा मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जनाए । कार्यालयमा मुद्दाको चाप घट्नुको पहिलो कारण प्रहरीको सक्रियता तथा समाजमा चेतना आउनु नै मुख्य भएको प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।

प्रहरीले समाजमा हुने आपराधकि गतिविधि न्यूनीकरण गर्न विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ । मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, समुदायसँग चिया, पीडितको साथी प्रहरी तथा समुदाय प्रहरी साझेदारीलगायतका चेतनामूलक कार्यक्रम शुरु गरेको छ । यसले पनि समाजमा हुने आपराधिक गतिविधि कम गरेको उनको भनाइ छ ।

जिल्लामा क वर्गमा रहेका जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय गौरीगञ्ज, अनारमनी, दमक, झिलझिले, धुलाबारी र काँकरभिट्टा गरी ७ ओटा इकाइले मात्र मुद्दा चलाउन सक्ने प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।
साउन महिनामा जिल्ला प्रहरी कार्यालय झापामा विभिन्न प्रकृतिका २८ ओटा मुद्दा दर्ता भए पनि १५ ओटामात्र फछ्र्याेट भई १३ ओटा भदौ महिनामा सरी आएका थिए । यसैगरी सबैभन्दा बढी इलाका प्रहरी कार्यालय अनारमनीमा ३६ ओटा मुद्दा दर्ता भएकामध्ये ३२ ओटा मुद्दा किनारा लागेका थिए ।

इलाका प्रहरी कार्यालय दमकमा ३४ ओटा मुद्दा भए पनि १४ ओटा समयमै किनारा लाग्न सकेनन् । दमकमा साउन महिनामा दर्ता भएका कुल मुद्दामध्ये १४ ओटामात्र फछ्र्याेट भएको कार्यालयले जनाएको छ । यसैगरी, त्यो महिनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा १६ ओटा मुद्दा दर्ता भए पनि १३ ओटा फछ्र्याेट भई ३ ओटा भदौ महिनामा सरी आए ।

इलाका प्रहरी कार्यालय धुलाबारीमा १५, झिलझिलेमा ११ मुद्दा दर्ता भएका थिए । प्रहरी प्रधान कार्यालयले २०७५ माघ १ गतेदेखि कार्यालयलाई मुद्दासमेत दर्ता गरी थप अनुसन्धान गर्न अनुमति प्रदान गरेको थियो । त्यसअघि हरेक मुद्दा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा दर्ता हुने गरेका थिए ।

कार्यालयको मुद्दा शाखाले दिएको जानकारीअनुसार प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउन सक्ने अधिकार दिएको पहिलो ६ महिनामा अघिल्लो आर्थिक वर्ष २०७४÷ २०७५ मा ८८ ओटा मुद्दा दर्ता भएका थिए । तीमध्ये ८७ ओटा फछ्र्याेट भएको कार्यालयको भनाइ छ । कर्तव्य ज्यान सम्बन्धीको एउटा मुद्दा अहिलेसम्म अनुसन्धानको क्रममा छ । गत आर्थिक वर्ष २०७५÷ २०७६ मा दर्ता भएका कुल १ सय ५० मुद्दामध्ये १ सय ४ ओटा फछ्र्योट भएका छन् । बाँकी विभिन्न प्रकारका ४६ ओटा मुद्दा चालु आर्थिक वर्ष २०७६÷२०७७ मा सरी आएका छन् ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार भारतका विभिन्न शहर बजारमा नेपालमा प्रतिबन्धित लागूऔषध खुला बिक्री हुनु र १ सय १८ किलोमिटर खुला सिमाना प्रहरीका लागि मुख्य चुनौती हो । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि कम गर्न झापा प्रहरीले भारतीय समकक्षीसँग बेलाबेला आवश्यक छलफल गर्ने गरेको छ । जिल्लामा विभिन्न अपराधमा संलग्न रहेर फरार अभियुक्त तथा अदालतबाट सजायको आदेश सुनाएका दोषी पनि ठूलो सङ्ख्यामा फरार रहेको भन्दै प्रहरी उपरीक्षक मैनालीले झापा प्रहरीले त्यस्तालाई पनि पक्राउ गर्न सफल भएको बताए ।

मादक पदार्थका कारण समाजमा अपराध बढेको प्रहरीको निष्कर्ष छ । कुल घटनामध्ये करीब ८० प्रतिशत मादक पदार्थ सेवनका कारण भएका छन् । यसकारण झापामा मादक पदार्थको कारोबार शून्यमा झार्न प्रहरी सक्रियतापूर्वक लागेको उनको भनाइ छ । झापालाई मदिरामुक्त जिल्ला बनाएर जिल्लालाई नै अपराधीरहित बनाउने प्रहरीको योजना रहेको छ ।