बेलबारीः अनुप बराल र अनुजा बराल चन्द्र किरातेश्वर माध्यमिक विद्यालय पथरीशनिश्चरे–७ मा अध्ययन गर्छन् । उनीहरू नाताले दाजुबहिनी हुन् । उनीहरू आदिवासी होइनन् तर लिम्बू भाषाको श्रीजङ्गा लिपि सिकिरहेका छन् ।
यस्तै, विकेश रिजाल सो विद्यालयकै कक्षा ६ मा लिम्बू भाषाको आनिपान सिकिरहेका छन् । उनीहरू बोल्न र लेख्न समेत सक्छन् । मिलिना रिमाल पनि सोही विद्यालयको कक्षा ४ मा पढ्छिन् । उनको रोल नम्बर २ हो । उनलाई पहिलापहिला अङ्ग्रेजी विषय सजिलो लाग्थ्यो ।
कक्षा १ देखि नै लिम्बू भाषामै पठनपाठन गरे पनि कक्षा ३ सम्म उनलाई अप्ठ््यारो लाग्थ्यो तर अहिले लिम्बू भाषामा लेख्नदेखि बोल्नसम्म उनी मज्जाले सक्छिन् । ‘छिमेकीहरू लिम्बू समुदायको हुनुहन्छ’, मिलिना भन्छिन्, ‘उहाँहरूले कुरा गरेको म पहिला बुझ्दिनथिएँ अहिले उहाँहरूसँगै बसेर कुराकानी गर्छु । घरमा आएका पाहुनाहरू पनि लिम्बू समुदायका बासिन्दासँग कुरा गरेको देख्दा छक्क मान्छन् ।’
चन्द्र किरातेश्वर माध्यमिक विद्यालयका करीब १ सय ५० जना विद्यार्थीहरू लिम्बू भाषा बोल्न र लेख्न सक्छन् । ३ सय ३० जना विद्यार्थी रहेको चन्द्र किरातेश्वरमा कक्षा ६ सम्म लिम्बू भाषाको पठनपाठन हुने गरेको विद्यालयका प्रधानाध्यापक हर्कराज जिमीले बताए ।
२०५६ सालदेखि नै सो विद्यालयले निजी स्रोतबाट १ जना शिक्षकको व्यवस्था गरेर लिम्बू भाषामा पठनपाठन गर्न शुरु गरेको थियो । २०६२÷०६३ सालमा भएको आन्दोलनले असर गरेपछि स्थगित भएको थियो । पुनः पठनपाठन शुरु गरिएको प्रधानाध्यापक जिमीले बताए ।
लिम्बू समुदायको बाहुल्यता रहेकाले लिम्बू भाषाको पठनपाठन शुरु गरिएको प्रअ जिमीले बताए । उनका अनुसार वडा नम्बर ७ मा ९० प्रतिशत लिम्बू समुदायको बसोबास रहेको छ ।
‘हाम्रो विद्यलायको मात्रै होइन् चोकको नाम समेत किरातेश्वर चोक रहेको छ । अभिभावकसँग शुरुमा कुरा गर्दा उहाँहरूले अप्ठ्यारो महसुस गर्नु भयो’, प्रअ जिमीले भने, ‘हामीलाई पनि असफल होइन्छ कि जस्तो लागेको थियो ।’
सो विद्यालयमा अतिरिक्त विषयका रूपमा लिम्बू भाषाको अध्यापन हुन्छ । भाषाको समेत संरक्षण हुने भएकाले लिम्बू भाषामा पठनपाठन शुरु गरिएको उनले बताए । लिम्बू भाषा पढ्नेहरूमा गुरुङ, धिमाल, क्षेत्री बाहुन लगायतका ३० प्रतिशत विद्यार्थी रहेका छन् भने अन्य ७० प्रतिशत लिम्बू समुदायकै रहेको प्रअ जिमीले बताए ।
भाषाभाषीको पठनपाठन गर्नका लागि दक्ष जनशक्ति र पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या हुने गरेको विद्यार्थीहरू बताउँछन् । शुरुमा नर्सरीदेखि लिम्बू भाषाको अध्यापन भए पनि विद्यार्थीलाई बुझाउन समस्या भएपछि अहिले कक्षा १ देखि मात्रै पढाउने गरिएको छ ।
सो विद्यालयमा कक्षा १२ सम्म लिम्बू भाषा पठनपाठन गरेका एक जना शिक्षक रहेका छन् । ‘भाषाहरूको पठनपाठन गर्ने विद्यालय तथा क्याम्पसहरू ज्यादै थोरै रहेका छन् । भाषा (आनिपान) शिक्षक पूर्ण चेम्जोङले भने, ‘त्यही भएर भाषाहरू लोप हँुदै गइरहेका छन् ।’ उनले जुन समुदायको बाहुल्यता छ त्यही भाषाको पठनपाठनलाई जोड दिनुपर्ने समेत बताए ।
पथरीशनिश्चरेका मेयर दिलिपकुमार राईका अनुसार लिपि संक्षणका लागि नगरपालिकाले महत्व दिएर साथ दिएको छ । चन्द्र किरातेश्वर जिल्लाकै लिम्बू भाषामा कक्षा ६ सम्म पढाउने पहिलो विद्यालय हो ।
पाठ्यक्रम बनाउन जुट्दै स्थानीय सरकार
आधारभूत तहसम्म स्थानीय सरकारले आफैँ पाठ्यपुस्तक तयार पारेर पठनपाठन गर्न पाउने व्यवस्था सरकारले गरेको छ । १ सय पूर्णाङ्कसम्मको पाठ्यक्रम तयार गरेर कक्षा ८ सम्म पठनपाठन गर्ने अधिकार स्थानीय सरकारलाई नै दिइएको छ । पछिल्लो समय स्थानीय सरकार भाषा संरक्षण गर्नका लागि पाठ्यक्रमहरू निर्माण गर्नमा लागेका छन् ।