इटहरीः उत्तरी मोरङको बेलबारी–५ मा रहेको १ सय ६७ मिटर लामो लोहन्द्रा पुल २०७४ साउन २९ गते आएको बाढीले बगायो । बाढीले ल्याएको रुखबिरुवा थुनिएर पुल बगेको थियो । पुल बगेपछि यो क्षेत्रका स्थानीयको आवतजावतको ‘लाइफलाइन’ बन्द भयो ।

हिउँदमा जसोतसो खोला वारपार गर्न सकिने लोहन्द्रामा पानी परेपछि सकस हुन्छ । आइतबार भत्किएको लोहन्द्रा पुल क्षेत्रमा पुग्दा स्थानीयहरू पुल बनाउने आश्वासन मात्रै आएको तर काम नभएको बताउँदै थिए । पुलको मुखमा व्यापार गर्नेदेखि आवतजावत गर्ने र स्थानीयहरू पनि पुल नबनेकोमा हैरान देखिए । सो पुलको बारेमा स्थानीयको धारणा लिन प्रदेश पोर्टलले जिज्ञासा राख्दा उनीहरूले भनेको विचार यहाँ जस्ताको तस्तै राखिएको छ । lohandr pul (7)

चन्द्रकुमारी खड्का, खुद्रा व्यापारी: पुल भत्किएपछि धेरै असहज बनायो । पुल नहुँदा कसेनी, सोमबारे र बाहुनी जाने बाटो बन्द भयो । पहिले आधा घण्टामा पुग्ने स्थानमा अहिले साढे २ घण्टाको हाइवेको बाटो हुँदै जानुपर्छ ।

सुजित गिरी, स्थानीय युवा, मिलिजुली टोल: यो पुल बनाउन यही भदौ ६ गते अमनलाल मोदी, विजय विश्वास, मेयर ज्ञानेन्द्र सुवेदीसहित मन्त्री वर्षमान पुन आए । ३५ घर पूर्ण विस्थापित गराएको थियो यो पुल भत्काउने बाढीले । हामीले वडाध्यक्ष विश्वबन्धु बस्नेतसँग पनि कुरा उठाएका छौँ । तर, देखिनेगरी काम भएको छैन । यो बर्खा त गयोगयो । अब अर्को बर्खामा पनि यसले समस्यामा पार्ने देखियो । समयमै काम अगाडि बढाउनु पर्छ । कुरा होइन, काम हुनुपर्छ अब ।

lohandr pul (5)

जित्नीदेवी थन्दार, गृहिणी: पोहोरको बाढीले घर नै डुबायो । बुढोको खुट्ट चल्दैन । पहिले पुलमा पानी जमेर घरमा समस्या भयो । अहिले पुल नभएर पानी पर्दा वारपार गर्न समस्या छ । पानी पर्ने समय अगाडि नै पुुल बन्नुपर्ने थियो तर बनेन । अहिले पनि नेता आउँछ जान्छ । काम गर्दैन । फुल्नी थारू, गृहिणी यो पुल त बन्नुपर्छ नि । सबै गाउँलाई घाटा भएको छ पुल नभएर । गाडी खोला तारेर लान त सक्दैन नि । पुल त हुनुपर्यो ।

कपिल चौधरी यात्रुः पुल नभएकाले हामीले खोला तर्न साइकल बोकेर हिँड्नुपर्छ । यो कुरा सरकारले र नेताजीहरूले देख्नुपर्छ ।