इटहरीः कात्तिक महिनाको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । नेप्से १ दशमलव ३३ अङ्कले घटेर बन्द हुँदा कारोबार रकम थोरै बढे पनि निकै कम रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार अघिल्लो दिनको भन्दा १७ ओटा बढी कम्पनीको शेयर कारोबार भई जम्मा १ सय ४५ कम्पनीको कारोबार भएको थियो । सोमबार जम्मा १६ करोड ४३ लाख ४९ हजार ५ सय ३६ रुपैयाँको मात्र शेयर किनबेच भएको छ ।

सोमबार ३२ कम्पनीले नवीकरण शुल्क बुझाएपछि ती कम्पनीको शेयर कारोबार खुला भएको थियो । शेयर बजारका विश्लेषकले घट्दो बजारमा लगानीकर्ताले शेयर खरीद गर्नुपर्ने बताइरहेका बेला लगानीकर्ता भने शेयर किनबेच गर्न डराइरहेका छन् ।

तिहारअघि अब ३ दिनमात्र शेयर कारोबार हुने हुनाले तिहारअघि नेप्से परिसूचक नबढ्ने केही लगानीकर्ताको अड्कल छ । पर्व खर्च जुटाउन कतिपयले सस्तोमै पनि शेयर बिक्री गर्ने गर्नाले पनि फेस्टिभ मुडमा बजार बियरिस ट्रेन्डमा हुने गर्छ । तर, अब शेयर बेचेको रकम तिहारअघि आफ्नो खातामा नआउने भएकाले बिक्री चाप कम भई बजार बढ्न मद्दत पुग्ने केही लगानीकर्ताको विश्लेषण छ ।

सोमबार पनि कारोबार रकम र शेयर सङ्ख्याका आधारमा प्रभु बैंकले अग्रता लिएको छ । सो बैंकको १ करोड ८९ लाख ३७ हजार ३ सय ६७ रुपैयाँको ७१ हजार ६ सय कित्ता शेयर किनबेच भएको छ ।

कारोबार सङ्ख्याका आधारमा सोमबार रसुवागढी हाइड्रोपावर अगाडि रहेको छ । सो हाइड्रोपावरको २ सय ६ पटक शेयर कारोबार भएको छ ।

६ ओटा समूहको परिसूचक घटेको बजारमा एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य सबैभन्दा धेरै ९ दशमलव २८ प्रतिशतले घटेको छ । सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६६ रुपैयाँले घटेर ६ सय ४५ रुपैयाँमा झरेको छ । राधी विद्युत कम्पनीको शेयरमूल्य ५ दशमलव ५६ प्रतिशतले घटेर १ सय ३६ रुपैयाँमा झरेको छ ।

घटेको बजारमा घोडीघोडा लघुवित्तको दशमलव ८१ प्रतिशतले शेयरमूल्य बढ्दा प्राइम लाइफ इन्स्योरेन्सको ४ दशमलव १८ र आशा लघुवित्तको शेयरमूल्य ३ दशमलव १३ प्रतिशतले बढेको छ । बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ ।