धरानः दक्षिण एशियाकै उत्कृष्टमध्येको एक मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय आकस्मिक कक्षमा आएका बिरामीलाई विभिन्न बहाना देखाएर चिकित्सकहरूले निजी अस्पतालमा रेफर गर्न थालेका छन् ।

पूवैकै रिफरल सेन्टरको रूपमा स्थापना भएको प्रतिष्ठान पछिल्लो समय आन्तरिक बिचौलियाका कारण रेफर सेन्टर बन्दै गएको छ । कमिसनको लोभमा अस्पतालका डाक्टरदेखि सहयोगीसम्मले निजी संस्थामा बिरामी लैजान सेटिङ गरिरहेका हुन्छन् ।

प्रतिष्ठानभित्र कमिसनको चलखेल र अनियमितता हुने गरेको पुष्टि यसअघि नै निवर्तमान उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस लिएको रकमसहित पक्राउ पर्नुले पुष्टि गरेको छ ।

पूर्व उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दास, पूर्व रजिष्टारलगायत कारोबारका ठेकेदारहरू सहितलाई अख्तियारले पक्राउ गर्नुले यसलाई थप पुष्टि गरेको छ । पछिल्लो समय कमिसनको खेलमा बिरामीलाई अनावश्यक फुड सप्लिमेन्ट्री खरीद गर्न लगाएको घटना सार्वजनिक भइसकेको छ ।

आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीलाई चिकित्सकहरूले ढिलो गरी जाँच गर्ने, सम्बन्धित विभागमा नपठाएर आफैँ अन्य अस्पतालमा उपचारका लागि पठाउने गरेका छन् । एकातिर उपचार गर्न नसक्ने भन्दै रेफर गर्ने चलन बढ्दै गएको छ भने, अर्कोतिर विभिन्न परीक्षण गर्ने मेसिन बिग्रिएको भन्दै बाहिर पठाउने चलन त पुरानै हो ।

आकस्मिक कक्षको काम बिरामीलाई ‘क्वीक सर्भिस’ दिएर फ्याकल्टीमा रिफर गर्ने हो । तर चिकित्सकहरूले आफूले गर्न सक्नेसम्म गरेर नभए बाहिर पठाउने गरेका छन् । प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याब टेस्ट नै ढिलो हुने गर्दछ भने पछिल्लो समय एक्सरे, भिडियो एक्सरे बिग्रिएका छन् । जसले गर्दा पनि बिरामीहरूलाई बाहिर पठाउनुपर्ने हुन्छ । सिटी स्क्यान बिग्रिएको महिनौँ दिन भइसकेको छ । जसको मर्मत हुन नसक्दा बिरामीहरू विराटनगर पुगेर सिटी स्क्याउन गराउन बाध्य छन् ।

आकस्मिक कक्षमा उपचारमा धेरै ढिलासुस्ती हुने गरेको बिरामीका आफन्तहरू बताउँछन् । ट्राइसमा दर्ता भएपछि पनि निकै बेर डाक्टरलाई कुर्नुपर्ने हुन्छ । डाक्टरले बिरामी हेरेपछि विभिन्न ल्याब टेष्ट गर्न २ घण्टा भन्दा बढी लाग्छ । विभिन्न ल्याब टेष्ट आएपछि मात्रै उपचार शुरु हुन्छ । त्यस बेला सम्म २ घण्टा भन्दा बढी समय गइसकेको हुन्छ । स्थानीय रामकुमार राई भन्छन्, ‘आकस्मीक कक्षको उपचार पाउन २ घण्टाभन्दा बढी लाग्नु राम्रो होइन’, उनले भने, ‘त्यतिबेलासम्म त बिरामीलाई जे पनि हुन सक्छ, अनि कसरी विश्वास गर्ने ?’

प्रतिष्ठान आन्तरिक कलहका कारण लथालिङ्ग बन्दै गएको छ । त्यसमाथि कमिसनको लोभमा चिकित्सकहरूको लापरवाहीपूर्ण सेवाले प्रतिष्ठानप्रतिको विश्वास घट्दै गएको छ । पछिल्लो समय प्रतिष्ठानका चिकित्सक, पदाधिकारीहरूबीच एकअर्कामा अविश्वासको दूरी बढ्दै गएको छ । जसका कारण व्यवस्थापन चुस्त हुन सकेको छैन् ।

त्यसैले पनि प्रतिष्ठानमा कमिसनको चलखेल, जिम्मेवारीप्रति बेवास्ता, गुणस्तरहीन सेवा, कर्मचारीको मनपरी बढ्दै गएको एक चिकित्सक बताउँछन् । उनले भने, ‘प्रतिष्ठानमा विषाक्त माहोल बनिसकेको छ । कार्यक्षेत्रमा वैज्ञानिक कार्यविभाजन छैन । चाहिने ठाउँमा मान्छे छैनन्, नचाहिने ठाउँमा धेरै छन् । फ्याकल्टी कम देखिए पनि ओभर स्टाफिङ देखिन्छ । एउटै बिरामीमा १० जना चिकित्सक झुण्डिन्छन् तर परिणाम देखिँदैन ।’

प्रतिष्ठानको आकस्मिक कक्ष थप १ सय बेडसहित नयाँ भवन निर्माण भइरहेको छ । तर सिस्टमले चल्ने हो भने सय बेडको आवश्यकता नरहेको उनको भनाइ छ । उनले भने, ‘क्वीक रेस्पोन्स, क्वीक ट्रान्सफर टु कन्सर्न डिपार्टमेन्ट भयो भने २ ओटा हाउस अफिसर काफी हुन्छ ।’ बिरामीलाई लुट्नका लागि बेड थपेर, सेवालाई नै प्रभाव पार्न खोजिएको उनी बताउँछन् ।

आकस्मिक कक्षमा उपचारका लागि सिनियर रेसिडेन्ट र जुनियर रेसिडेन्टहरूले सेवा दिइरहेका हुन्छन् । प्रोफेसरहरूको उपस्थिति न्यून रहने गरेको आकस्मिक कक्षका एक चिकित्सक बताउँछन् । प्रोफेसरहरू कि त पेइङमा बिरामीको उपचार गरिरहेका हुन्छन् भने कि त कोठामै आराम गरिरहेका हुने उनको भनाइ छ ।

बिरामीबाट बढी दबाई ल्याउन लगाएर बाहिरका निजी क्लिनिकहरूमा पनि बेच्ने गरेको पाइएको उनको दाबी छ । प्रतिष्ठानभरि नै बिचौलियाहरू घुम्ने र उनीहरूले चिकित्सक र कर्मचारीहरूलाई कमिसन दिने गरेको उनले बताए ।

प्रतिष्ठानमा दण्डहीनता बढ्दै गएकाले प्रतिष्ठानमा समस्या बढ्दै गएको अर्का प्रोफेसरको भनाइ छ । कर्मचारी, चिकित्सकहरूमा कामप्रतिको लगाव घट्दै जानु, आफूले चाहेको ठाउँमा पुग्नका लागि चाप्लुसी गर्नुजस्ता कारणले प्रतिष्ठानमा अनियमितता बढ्दै गएको उनी बताउँछन् ।

निवर्तमान उपकुलपतिलाई अख्तियारले पक्राउ गरेपछि प्रतिष्ठान पूर्ण जवाफदेहितासहितको नेतृत्वको नभएका कारण अव्यवस्थित हुँदै गएको थियो । तर, करीब २ साता अघि सरकारले कार्यवाहक उपकुलपतिलाई पूर्ण जिम्मेवारी दिँदै रेक्टर प्रा.डा. गुरु खनाललाई नियुक्त गरिसकेको छ । अब भने प्रतिष्ठानमा भइरहेको कमिसनको खेल र अनियमिततालाई दुरुत्साहित गर्दै प्रतिष्ठानको अवस्था सुध्रने धेरैले अपेक्षा गरेका छन् ।