धरानः प्रदेश नम्बर १ सरकारले धरानमा पर्यटन कार्यालय स्थापना गर्ने निर्णयसहित विभिन्न विकासे योजनामा ८ करोड भन्दा बढी बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

सरकारले धरानमा पर्यटन कार्यालय स्थापना गर्नेसहित धरानको सर्दू करिडोरका लागि बहुवर्षीय योजनाको रूपमा परियोजना अघि बढाउन ८ करोड रुपैयाँ दिने तथा ठेक्का प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सङ्घीय सरकारको सेउती, सर्दू करिडोर परियोजनाका लागि यसअघि सङ्घीय सरकारबाट १० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।

सर्दू करिडोरका लागि सङ्घीय सरकारको ५ करोड रुपैयाँ छुट्याउने भएको छ । त्यसैगरी धरान १४ मा निर्माणाधीन बहुजातीय सङ्ग्रहालयका लागि ५० लाख रुपैयाँ दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।

प्रदेश सरकारले धरान–५ स्थित ठिङ्गाबारी– खैरेनी सडकलाई सम्पन्न गर्न बहुवर्षीय योजनाअनुसार क्रमागत रूपमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । धरान– भेडेटार– नाम्जे केबलकार निर्माण गर्ने पनि निर्णय गरेको उनले बताए ।

लामो समयदेखि अवरोध हुँदै आएको धरानको बसपार्क निर्माणका लागि प्रदेशको समपूरक कोषको योजनामा छनोटका लागि धरानले गरेको आग्रहलाई पनि सरकारले स्वीकार गरेको छ । प्रदेश सरकारले बसपार्क निर्माणका लागि ४३ करोड रुपैयाँ लागतको डीपीआर तयार गरेको थियो । सोही आधारमा सङ्घीय सरकारले ५० प्रतिशत र स्थानीय सरकारसहित प्रदेश सरकारले ५० प्रतिशत लगानी गर्ने भएको छ । ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी योजनाको ठेक्का लगाउन तयारी भएको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् ।

सरकारले ३ दर्जन परियोजना छनोट गरी ती परियोजना अघि बढाउन लगानी सम्मेलन गर्ने र त्यसको लागि सङ्घीय सरकारसँग अनुमति लिने पनि बैठकले निर्णय गरेको बताइएको छ ।

प्रदेश सरकारले सुनसरीको धरान र इटहरीमा मेघा स्मार्ट सिटी बनाउने, अमडुवामा ५ सय बिघा क्षेत्रमा रहेको औद्योगिक पार्क निर्माण गर्न सम्भाव्यता अध्ययन र डीपीआर तयार पारेर अगाडि बढाउने, कोशी रिभर पोष्ट चतरा क्षेत्रलाई बनाउनेलगायतको निर्णय भएको कार्कीले बताए ।