इटहरीः मङ्गलबार नेप्से २ दशमलव ४ अङ्क बढेर ११३४ दशमलव ७९ अङ्कमा पुगेको छ । नेप्सेमा सामन्य सुधार भए पनि कारोबार रकम भने खासै बढ्न सकेको छैन । मङ्गलबार १ सय ५५ कम्पनीको १६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँको शेयर किनबेच भएको छ ।

५ समूहको सूचक बढेको र ५ समूहको सूचक घटेको बजारमा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उत्कृष्ट कारोबार गर्ने १० कम्पनीमा सबै बैंकिङ समूहका कम्पनी परेका छन् । तर २ ओटा बैंकको कारोबार रकमले मात्रै १ करोडको अङ्क छोएको छ ।

नबिल बैंकको जम्मा ७४ पटक कारोबार हुँदा १ करोड ३२ लाख २३ हजार ५५ रुपैयाँको शेयर किनबेच भएको छ । यस कम्पनीको १७ हजार ४ सय ९३ कित्ता शेयर शेयर किनबेच भएका छन् । बैंकको शेयरमूल्य २ रुपैयाँ घटेर प्रतित्तिा ७ सय ५६ रुपैयाँ कायम भएको छ ।

१ सय २४ पटक कारोबार भएको प्रभु बैंकको १ करोड ३ लाख १५ हजार ६ सय ३ रुपैयाँको शेयर कारोबार हुँदा ३९ हजार १० कित्ता सेयर कारोबार भएको छ । यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ रुपैयाँ बढेर २ सय ६४ रुपैयाँ पुगेको छ ।

कारोबार सङ्ख्याका आधारमा भने २ सय ८९ पटक कारोबार भएको रसुवागढी हाइड्रोपावर अग्रस्थानमा आएको छ । कारोबार सङ्ख्या बढी भए पनि उच्च कारोबार गर्ने १० कम्पनीमा पनि यो कम्पनी पर्न भने सकेन ।

एभरेष्ट बैंकको अग्राधिकार शेयरमूल्यमा उच्च गिरावट
शेयरमूल्य घटेका ५४ कम्पनीमध्ये अघिल्लो दिन झैँ मङ्गलबार पनि एभरेष्ट बैंकको अग्राधिकार शेयरमूल्यमा उच्च गिरावट आएको छ । बैंकको शेयरमूल्य यस दिन ४ दशमलव ९६ प्रतिशतले घटेको छ । १ पटक मात्रै कारोबार भएको यस कम्पनीको जम्मा १० कित्ता शेयर मात्रै किनबेच भएको छ । अघिल्लो दिन पनि यो कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले घटेको थियो ।

रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्स, आशा लघुवित्त र महिला सहयात्रा लघुवित्तको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
मङ्गलबार लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य ५ दशमलव ३० प्रतिशत बढेको छ । हिमालयन डिष्ट्रीलरी, नेपाल इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार बढेसँगै समग्र बजार परिसूचक १४ खर्ब ४१ अर्ब कायम भएको छ ।

पूँजी बजार फराकिलो बनाउनुपर्ने अर्थमन्त्रीको भनाइ
उता, अमेरिका पुगेका अर्थमन्त्री युवराज खतिवडाले नेपालको पूँजी बजारको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपालमा यसको दायरा सानो भएको, लगानीका वैकल्पिक माध्यम खुला नभएको र दोस्रो बजारमा संस्थागत लगानीकर्ताको हिस्सा थोरै भएको उनको भनाइ थियो ।

विदेशी लगानीकर्तालाई शेयर बजार खुला नहुँदा र सामुहिक लगानी कोषको उपस्थिति पनि प्रभावकारी नदेखिँदा नेपालको पूँजी बजार सङ्कुचनमा परेको उनको भनाइ थियो ।
विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको अमेरिकामा भइरहेको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागिता जनाउँदै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री खतिवडाले बचत र लगानीबीचको ठूलो अन्तर हटाउन नेपालमा विदेशी पुँजी परिचालन गर्न जरुरी भएको बताएका छन् ।