इटहरीः जनगायक जीवन शर्माको छोराको उपचारको लागि इटहरीका युवाले ३० हजार रुपैयाँ सहयोग पठाएका छन् । गीतको माध्यमबाट राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका शर्माका छोराको उपचारका लागि रकम अपुग भएकाले आफूहरूले सुनसरी जिल्लाका विभिन्न ठाउँमा देउसी खेली सो रकम उपलब्ध गराएको इटहरीका युवा नेता मदन चुडालले जानकारी दिए ।

‘हामीले दशैँ र तिहारको बीचमा एउटा कार्यक्रम गरेर रकम उठाई सहयोग गर्ने भनेका थियौँ’, पूर्व अनेरास्ववियु सुनसरी जिल्ला अध्यक्ष जीबी गजलले भने, ‘तर कारणवश सो कार्य रोकिएपछि देउसी खेली उठेको रकम दिने उद्देश्यले देउसी खेलिएको हो ।’ उनीहरूले शर्माका अर्का छोराको ग्लोबल आईएमई बैंकको खाता नम्बर ०१०७०१००४६७८७ मा रकम पठाएका हुन् ।

शर्माका छोरा अमृत आचार्य केही महिनादेखि उपचाररत छन् । उनको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा घाँटीको जटिल समस्याको उपचार भइरहेको छ । आचार्यको उपचारका लागि सहयोग होस् भनेर सहयोग गरिएको अर्का युवा नेता होमनाथ धमलाले जानकारी दिए ।