पाँचथरः पाँचथरमा पहिलो पटक पदयात्रासहित होम स्टे सञ्चालन भएको छ । पहाडी पर्यटनको तीव्र विकासका लागि यो सबैभन्दा राम्रो सम्भावना भएको क्षेत्र हो । किरात धर्मका महागुरु फाल्गुनन्दको तपोभूमि र समाधिस्थल रहेको सिलौटी–लोब्रेकुटी नजिक रहेको लालीखर्क क्षेत्रबाट पदयात्रा गर्न चाहनेका लागि सुविधासहित होम स्टे समेत सञ्चालनमा आएको छ । यहाँ अहिले १० घरलाई अर्गानिक परिकारसहितका खानपान तथा वासस्थलका रूपमा विकास गर्ने कार्य प्रारम्भ भएको हो ।
स्थानीयले लालीखर्क–बतासे सामुदायिक होम स्टे नामको संस्था नै दर्ता गरेर कार्य थालनी गरेको संस्थाका सचिव चन्द्र योङ्याले जानकारी दिए । ‘दीर्घकालीन सोचका साथ कार्य थालनी गरिएको हो’, उनले भने, ‘अहिले देख्दा सामान्यजस्तो लागे पनि ग्रामीण आय आर्जनमा यो अवधारणा फलदायी हुनेछ ।’
आन्तरिक र बाह्य पर्यटक आउने मात्रै नभएर त्यहाँका स्थानीयले रोजगारीसमेत पाउने भएकाले यस्तो कार्यकोे थालनी गरिएको उनले बताए । पहिलो चरणमा होम स्टे शुरु गरिएका क्षेत्रका नागरिकलाई तालीमसमेत दिइएको छ । उनीहरूलाई होम स्टेको अवधारण के हो ? कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक जानकारी दिइएको हो ।
पाँचथरमा यस्तो तालीम पहिलो पटक दिइएको हो ।

‘एक एक मिलेर नै हजार बन्ने हो’, १ नम्बर प्रदेश होम स्टे एसोसिएसनका अध्यक्ष विनोद सुब्बा गुरुङले भने, ‘हामी १ नम्बर प्रदेशलाई होम स्टे हब बनाउन लागिपरेका छौँ । यो मौलिक शैलीको आधुनिक व्यापार हुनेछ ।’
स्थानीय तहमा जे उपलब्ध हुन्छ त्यसैलाई मौलिक परिकारका रूपमा आगन्तुकसम्म पु¥याउने होम स्टेको मुख्य कार्य रहेको सञ्चालक बताउँछन् । प्रदेश १ मा ४३ सामुदायिक होम स्टे सञ्चालमा छन् ।

प्याकेजको सुविधा
पाँचथरमा सञ्चालनमा आएको लालीखर्क–बतासे सामुदायिक होम स्टेमा पर्यटकको चाहनाअनुसार प्याकेजमा काम गर्न लागिएको छ । त्यहाँ पैदलयात्रा गर्न चाहनेका लागि १ दिनदेखि १ सातासम्मको प्याकेज छ ।
१ दिने प्याकेजअन्तर्गत हिमदृश्यावलोकनका लागि चर्चित साधुटार– पौवाभञ्ज्याङ– सिलौटी– लब्रेकुटी– लालीखर्क रुट छ । २ दिन यात्रा गर्नेका लागि लालीखर्क– पौवा– सुकेपोखरी– सिलौटी– लब्रेकुटी– लालीखर्क रुट तय गरिएको छ । हामस्टेको लामो अध्ययन गरेका व्यवसायी चन्द्र योङ्याका अनुसार लालीखर्क– जोरपोखरी– आगेजुङ– हिलिहाङ दरबार हुँदै माझीटारबाट पुन लालीखर्क पुग्ने यात्रा पनि एक दिनको हो । तर यसमा बीचमा सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ ।
लालीखर्क ओर्लिएका पर्यटकलाई ती क्षेत्रमा घुमाएर पुनः त्यहीँ पु¥याउने प्रबन्ध होम स्टे सञ्चालकले गरिरहेका छन् । त्यसबाहेक लालीखर्क– तिम्बुङपोखरी– लालीखर्कको रुट ७ देखि ९ दिनका लागि हो । यी सबै प्याकेजको सुविधा एकै ठाउँबाट पु¥याउन व्यवसायी लागिपरेका छन् ।
यता, लालीखर्क– सन्दकपुर– फालोट– लालीखर्क रूप पनि पर्यटक चहलपहल हुने क्षेत्रमा पर्छ । यहाँबाट ती क्षेत्रमा समेत पहुँच बिस्तारका लागि काम भइरहेको छ ।

केका लागि यात्रा ?
उल्लेख गरिएका क्षेत्र उच्च पहाडी क्षेत्रमा यात्रा गर्न चाहनेका लागि सबैभन्दा राम्रोे मानिन्छ । ऐतिहासिक धार्मिक क्षेत्रको दृश्यावलोकनसहित, हिमाली क्षेत्रको अवलोकनका लागि यी क्षेत्र प्राथमिकतामा पर्ने गर्छन् । त्यसबाहेक यो क्षेत्रमा अर्गानिक खानाको स्वाद पनि छुट्टै छ । एक दिनभन्दा बढी यात्रामा रहनेका लागि सोही व्यवस्थापनमा काम हुने गरेको छ । ठाउँठाउँमा होम स्टे खुलेका छन् ।
परम्परागत संस्कृतिको प्रबद्र्धन, आलु, अर्गानिक चिया, टिम्बुरको अचारसहितको खाना ती क्षेत्रको मुख्य आकर्षण हो । मासु खान चाहनेहरुका लागि लोकल कुखुरा यहाँको मुख्य परिकार हो । साना चिटिक्क परेका घरमा होम स्टे सञ्चालनमा ल्याइएको छ । लोब्रेकुटी, सिलौटी, साधुटार, सुकेपोखरी लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वका ठाउँ यो क्षेत्रको एकदिने प्याकेजमा घुम्न सकिन्छ ।

न्यून खर्चमा यात्रा
शहरी क्षेत्रको यात्राभन्दा ग्रामीण क्षेत्रको यात्रामा कम खर्च हुन्छ । त्यसमा पनि पाँचथरका यी क्षेत्रकोे यात्रामा कम खर्चमै उच्च पहाडी क्षेत्रको यात्राको आनन्द लिन सकिने सञ्चालकको भनाइ छ । सबै क्षेत्रमा स्थानीय उत्पादन प्रयोग गरिने हुँदा खर्च ज्यादा हुँदैन । यहाँ खानाका लागि मात्रै खर्च हुन्छ । यो क्षेत्र मेची राजमार्गमै पर्छ । यात्रा शुरु गर्ने स्थान सडक सुविधा भएको क्षेत्रबाट हुने भएकाले आउनजानलाई कुनै समस्या हुँदैन ।
तराई क्षेत्रबाट आएका पर्यटक लालीखर्कमा रहने र त्यहीँबाट यात्रा शुरु हुने हुँदा सहज हुने भएको हो । हालसम्म आएका पर्यटकले कम खर्चमा आफूले सोचेभन्दा धेरै सुविधा लिएको बताउने गरेका छन् । १ जना पर्यटकले दिनमा १ हजार रुपैयाँभन्दा बढी खर्च नगर्दै पनि ती क्षेत्रको अवलोकन गर्न सक्छन् ।
इको टुरिजमको अवधारणासहित बढेको यो कार्यक्रमभित्र धार्मिक र सांस्कृतिक प्रस्तुतिको स्वादसमेत अटाइएको छ । साँझ स्थानीय मौलिक संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसमेत प्रदान गरिन्छ ।

सरकारी सहयोगको याचना
होम स्टे सञ्चालकले सरकारी सहयोग आवश्यक रहेको बताउने गरेका छन् । यो नाफामुखी व्यवसाय भन्दा पनि मौलिक संस्कृतिको संरक्षण भएकाले यसलाई टिकाउने जिम्मा स्थानीय सरकारको भएको सञ्चालकको भनाइ छ ।
यसै वर्ष होम स्टे कसरी सञ्चालन गर्ने भन्ने बारेमा सरकारी लगानीमा तालीम भएको थियो । तर तालीमले मात्रै होम स्टेको विकास र प्रचार गर्न गाह्रो हुने भन्दै होम स्टे सञ्चालकले वार्षिक अनुदान दिन अनुरोध गरेका छन् । अहिले दैनिक १०–१५ जनासम्म पुग्ने त्यस क्षेत्रमा थप पूर्वाधार विकास गर्न सके पर्यटकको चाप बढ्ने होम स्टे सञ्चालकको भनाइ छ ।