सुनसरी ः सिचाई, मलखाद बिउँ लगायत बजारको समस्या हुँदा पनि सुनसरीको सिमावार्ती क्षेत्र देवानगंज र कप्तानगंजका किसानहरु आलु खेती गर्न तर्फ आकर्षित भएका छन् । देवानगंग र कप्तानगंजका क्षेत्रमा बलौटे माटो र आलुका लागि उत्तम ठाउँ भएकाले किसानहरु आलु खेती तर्फ आकर्षित बनेका हुन् ।
किसानले केही समस्या भएपनि आलुखेती छाडन् नसकेको कारण आकर्षण बढ्दो क्रममा रहेको स्थानीय रामप्रसाद मेहताले बताए । मेहताका अनुसार किसानले सिचाई मलखाद बिउ र बजार समेतको समस्याको बीचमा आलु खेती गर्न बाध्य रहेका छन् । खेती नगरे अर्को बिकल्प नरहेकाले सीमावर्ती क्षेत्रमा आलु खेती तर्फको आकर्षण बढेको उनको भनाइ छ । मेहताले आफु ३ बिघाको क्षेत्रफलमा आलु खेती लगाएको र प्रति बिघा २ लाख रुपैयाँ लगानी गरेर ४ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको बताए ।
        उनले आफुहरुलाई राज्यले उपेक्षा गरेको र मलखाद पारीबाट ल्याउँदा धरपक्कड गर्ने, बजारको मूल्य नपाउने, बजार सम्म लान झण्झट हुने भएपनि अर्को बिकल्प नरहेकाले आलु खेती गरिरहेको सुनाए । जेनतेन गरेको आलु खेतीबाट आएको आम्दानीले छोराछोरीको पढाई, घरखर्च र आवश्यक पर्दा बचत समेत गर्दै आएको अर्का किसान गिता मेहताले बताईन् ।
उनका अनुसार यो क्षेत्रमा २ कठ्ठा देखी १० बिघा सम्म आलुखेती गर्ने किसानहरु रहेका छन् । किसान श्यामदेव मेहताका अनुसार सिचाइ अभावमा आलु खेतीको लागि भूमिगत पानी प्रयोग गर्न किसानहरु बाध्य भएका छन् । आलु उत्पादन गर्नका लागि दुइ महिना देखी तीन महिना सम्म लाग्ने भएकाले त्यस अवधिमा आठ पटक सम्म भूमिगत पानीको प्रयोग गरी सिचाई गरिरहेको मेहताको भनाइ रहेको छ । यसैबीच अर्का किसान रमानन्द मेहताले किसानहरु पीडामा रहेकोले उत्पादनको मूल्य सरकारले नै तोक्नुपर्ने बताउनुभयो । उनले बजार मूल्य नतोक्दा खेतीमा बढी लगानी र थोरै आम्दानी भइरहेको गुनासो गरेका छन् । किसानहरु खाद्यमल र बिउ महँगो प्रयोग गरेको भएपनि बजार भाउ नपाउने पीडासँगै बिभिन्न रोग प्रकोपको पीडाले झन समस्या भएको गुनासो गर्दै आएका छन् ।