ताप्लेजुङ ः “नेपाल भ्रमण वर्ष २०२०” का अवसरमा आगामी फागुनमा हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवमा हेलिकप्टर मार्फत कञ्चनजंघा हिमश्रृंखला सहितका पर्यटकिय क्षेत्रको अवलोकन गर्न पाईनेभएको छ । फागुन ९ देखि १३ गते सम्म ताप्लेजुङमा हुने महोत्सवमा म्याराथन सहित विभिन्न खेलकुद प्रतियोगिताका साथै जिल्लाका पर्यटकिय क्षेत्रको अवलोकन लगायतका कार्यक्रम राखिएको छ । “पाथीभरा देवीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण” भन्ने मुल नाराका साथ पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले संयुक्त रुपमा महोत्सवको आयोजना गरेकाहुन् ।

 महोत्सव अवधिभर विश्वको तेश्रो अग्लो कञ्चनजंघा हिमाल, प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर, जैविक विविधताले भरिपुर्ण क्षेत्रमा रहेको तिम्बुङ पोखरी, फुङफुङे झरना लगायतका पर्यटकिय क्षेत्रको हेलिकप्टर मार्फत अवलोकन गराईने सचिवालय समितिका संयोजक तारानाथ घिमिरेले जानकारी दिए । अवलोकनका लागि भाडादर भने निर्धारण भईसकेको छैन । अवलोकन क्षेत्र, समय र भाडादर चाँडै सार्वजानिक गरिने बताईएको छ । पाथीभरा मन्दिर, तिम्बुङ पोखरी र फुङफुङे झरना भने सरकारले पर्यटन प्रर्वद्धनका लागि पहिचान गरेका १०० वटा पर्यटकिय गन्तव्यमा पर्छन् । तर यि क्षेत्र अझै पुर्वाधारको प्रयाप्त विकास र प्रचार–प्रसारको अभावमै छन् ।

 पाथीभरा मन्दिर सहित पुर्वका धार्मिक, साँस्कृतिक र प्राकृतिक पर्यटकिय क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यका साथ आयोजना हुने महोत्सवमा भेडीगोठ र चाँैरीको समेत अवलोकन गर्न पाईने छ । पाथीभरा मन्दिरको उत्पत्ति सम्वन्धि किम्वदन्ति भेडि गोठ संग जोडिएको र पछिल्लो समयमा व्यवसायिकरुपले भेडा र चौँरी पालन समेत घट्दै गएको सन्दर्भमा भेडिगोठ र चौँरीको अवलोकन कार्यक्रम बनाईएको हो । यो महोत्सवको प्रमुख आकर्षणमा पर्ने आयोजकको विस्वास छ ।

 यस्तै महोत्सव अवधिभर नै कृषि मेला प्रर्दशनी, औद्योगिक हस्तकला तथा शिल्पकला प्रर्दशनी, खाद्य परिकार महोत्सव, फोटो प्रर्दशनी, स्थानीय जातजाती तथा समुदाय विशेष साँस्कृतिक कार्यक्रम साथै झाँकि प्रर्दशनी समेत हुने छ । महोत्सवमा मेचीका सबै जिल्लाले एक–एक वटा स्टल समेत राख्नेछन् । सदरमुकाम फुङलिङदेखि ३७९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर सम्म म्याराथन दौड हुने छ भने हरेक दिन प्याराग्लाईडिङ समेत हुने छ । मेयरकप भलिवल प्रतियोगिता, बुद्धिचाल लगायतका खेलकुद प्रतियोगिता सञ्चालन हुने बताईएको छ । महोत्सवलाई सभ्य बनाउँदै भव्यताका साथ सम्पन्न गर्न ५०१ सदस्यीय मुल समारोह समिति गठन भएको छ भने ३ सदस्यीय संरक्षक समिति, १५ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय सचिवालय तथा २६ वटा उपसमितिहरु गठन भएको शुक्रबार सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा जनाईएको छ ।

 पुर्वकै प्रमुख धार्मिकस्थल पाथीभरा, तिम्बुङ पोखरी, विश्वको तेश्रो अग्लो कञ्चनजंघा हिमाल, झण्डै ३ सय मिटर अग्लो फुङफुङे झरना, ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, सोदु पोखरी, तिनजुरे मिल्के जलजले(टिएमजे) पाँचथरको सिलौटे, लव्रेकुटी, साधुटार, ईलामको कन्याम, श्रीअन्तु, माईपोखरी, सन्दकपुर, गजुरमुखी तथा झापाको केचनाकल, शिवसताक्षी धाम, दोमुखा, जामुनखाडी, अर्जुनधारा जस्ता मेचीका पर्यटकिय क्षेत्रको प्रचार–प्रसार र विकासमा जोड दिदै यहाँको पर्यटन प्रर्वद्धनमा महोत्सवको योगदान पुग्ने आयोजकको विस्वास छ ।