प्रकाशपुरः झुम्काबाट रामधुनी हुँदै प्रकाशपुर जाने सडकखण्ड पिच हुन थालेपछि कोशी टप्पु आसपासका स्थानीय पर्यटन व्यवसायीहरू हर्षित भएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै झुम्कादेखि प्रकाशपुर हुँदै कोशी टप्पुसम्म पुग्ने बाटो पिच हुन थालेपछि पर्यटकीय चहलपहल हुने भन्दै स्थानीय हर्षित भएका हुन् ।
रामधुनी नगरपालिकाको झुम्कादेखि बराहक्षेत्र नगरपालिकाको प्रकाशपुरसम्मका मुख्य सडक पक्की हुन थालेका छन् । पूर्व पश्चिम राजमार्गबाट रामायणकालीन इतिहास बोकेको रामधुनी मन्दिर हुँदै कोशी टप्पुसम्म यातायातको समेत राम्रो पहुँच हुने भन्दै स्थानीय उत्साहित भएका हुन् ।
पूर्वी नेपालको धार्मिक एवम् पर्यापर्यटकीय गन्तव्य रामधुनी र कोशी टप्पु वन्यजन्तु आरक्षलाई जोड्ने बाटो पिच हुन गत हप्तादेखि शुरु भएपछि पर्यटक बढ्ने अनुमान स्थानीयले गरेका छन् । रामधुनी मन्दिर आउने कोशी टप्पुसम्म पुग्न र कोशी टप्पुमा आउने आगन्तुक रामधुनीसम्म जान सहज हुने भएपछि स्थानीय पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने स्थानीय पर्यटनकर्मी चक्र तिम्सिना बताउँछन् ।
छोटो दुरीमा रहेका २ वटा पर्यटकीय स्थलमा एकैसाथ पुग्न यातायात र राम्रो सडकको अभावले असहज थियो । बाटो बनेपछि स्थानीय पर्यटकको सङ्ख्या कोशी टप्पुमा बढ्छ भने राष्ट्रिय रूपमा आउने पर्यटकको सङ्ख्या रामधुनीमा बढाउन सकिन्छ’, तिम्सिना भन्छन्, ‘कोशी टप्पुमा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू आउँदा १ दिनको प्याकेजको रूपमा रामधुनीतर्फ आकर्षित गर्न सकिन्छ ।
नेपालको सबैभन्दा ठुलो नदी कोशी किनारमा रहेको दक्षिण एसियाको चरा भण्डार भनिएको तथा अर्ना, डल्फिन र साइबेरियाका आप्रवासी घुमन्ते चराको गन्तव्यका कारण कोशी टप्पु चर्चित छ । रामायणकालीन इतिहास बोकेको रामधुनीमा सीतालाई खोज्दै राम पुगेर आगो बाली धुनी जगाएको धार्मिक विश्वासको कारण चर्चित छ ।
दूरीको हिसाबमा झन्डै ६ किलोमिटर मात्र फरक रहेका दुई पर्यटकीय क्षेत्रमा आउने पर्यटकहरूमध्ये कोशीटप्पुमा आउने रामधुनीमा र रामधुनीमा आउने कोशी टप्पुमा जाने गरेका छैनन् । तर बाटोको सुविधा भएपछि पर्यटकको चहलपहल दुवै क्षेत्रमा हुने अपेक्षा गरेको स्थानीय होमस्टे सञ्चालक प्रेम अधिकारी बताउँछन् । ‘अहिले कोही टप्पुमा घुम्न आउने पर्यटकको मात्र बाहुल्यता छ । अब बाटो बनिसकेपछि धार्मिक पर्यटक बढाउन सकिन्छ’ उनी भन्छन् कोशी टप्पुमा आउने पर्यटकलाई पनि रामधुनीका महत्व देखाई सडक सदुपयोग गर्न सक्नु पर्दछ’।
प्रकाशपुरका जनतालाई पनि पूर्वका प्रमुख शहरहरू पुग्न सरल हुने भएकाले स्थानीय पनि हर्षित छन् । सरकारी मापदण्डअनुसार सडकको स्तरोन्नतिका लागि स्थानीय बासिन्दाले जग्गा निःशुल्क उपलब्ध पनि गराइसकेका छन् । हाल सडक फराकिलो पार्ने, ढल निकास व्यवस्था मिलाउनेलगायतको काम हुँदैछ ।