इटहरीः टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्दै नेपाली चलचित्रको दुनियाँमा पाइलामात्र राख्दै गरेकी इटहरी निवासी नवनायिका पुजन थापा दैनिक दर्जनौंले आइ लभ यु भनिरहँदा हैरान हुने गरेकी छिन् । कसलाई के भनेर टार्ने भन्ने बडो समस्या हुने गरेको उनी बताउँछिन् ।
टेलिभिजन र चलचित्र भनेको आम सञ्चारको माध्यम हो । यसमा देखिएपछि फ्यानहरू त हुनै नै भए । फ्यानमध्ये पनि कतिपय राम्रो उद्देश्य बोकेका हुन्छन् नै । कसैले तपाई राम्री लाग्छ । तपाईंलाई माया गर्छु भन्नु ठूलो कुरा पनि होइन । तर बारम्बार एउटै व्यक्तिले फोन गरेर, म्यासेज पठाएर र फेसबुकको म्यासेन्जरमा नानाथरी म्यासेज पठाएर हैरान हुने गरेको नवनायिका थापा बताउँछिन् ।
सबैभन्दा बढी फेसबुकको म्यासेन्जरमा ‘आइ लभ यु’ भनेर म्यासेज आउने गरेको उनले जानकारी दिइन् । यसरी म्यासेज पठाउनेहरूमा आफूभन्दा ७÷१० वर्ष बढी उमेरका बढी हुने गरेका छन् । कतिपय चाहिँ काका र बुबाको उमेरका व्यक्तिहरूले पनि मरिहत्ते गरेर अनावश्यक रूपमा म्यासेज पठाउने गरेको थापाले बताइन् ।
छायाङ्कनकै क्रममा रहेको नेपाली चलचित्र ‘कस्मिक लभ’मा नवनायिकाका रूपमा काम गरिरहेकी थापा भन्छिन्, ‘सगरमाथा टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्दा त तिमीलाई लभ गर्छु, तिम्रा लागि यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्नेहरू थामिनसक्नु छन् । अब चलचित्र रिलिज भएपछि के होला भन्ने सोचिरहेकी छु ।’
यतिसम्म कि केही सिनियरहरूले त तिम्रा लागि बाहिरी देशमा कार्यक्रमको आयोजना गरिदिन्छौं, त्यहाँ जानुपर्छ भन्नेसम्मका प्रलोभन देखाउने गरेका छन् । ती सबैलाई मेरो त ब्वाइफ्रेण्ड छ, उहाँको अनुमतिबिना बाहिर जान मिल्दैन भनेर भए पनि टार्ने गरेको थापा बताउँछिन् ।
यसरी उम्कन्छिन् थापा
आम सञ्चारमा छाइसकेको हुनाले आफ्ना फ्यानहरूको चित्त दुखाउने काम पनि गर्नु हँुदैन भन्ने आफूले राम्रोसँग बुझेकी हुनाले माया गर्छु भन्नेहरूको पनि वर्गीकरण गरेर कसलाई के भन्ने भनेर योजना बनाएको उनको भनाइ छ । उनी भन्छिन्, ‘योजनाअनुसार नै उहाँहरूलाई जवाफ दिने गरेकी छु । कतिपयलाई म अल्रेडी प्याक हो । मेरो ब्वाइफ्रेण्ड छ भनिदिन्छु । यो बारेमा मेरो घर परिवारका सबै सदस्यलाई थाहा छ भनिदिन्छु । कतिपयसँग आफ्नो फेसबुक आइडीबाट ब्वाइफ्रेण्ड भएर आफँै कुरा गरेर सम्झाउने पनि गरेकी छु ।’
अब ब्वाइफ्रेण्ड बनाउँछु
नवनायिका थापाका अनुसार अब भने उनी ब्वाइफे्रण्डको खोजीमा छिन् । भन्छिन्, ‘मेरा फ्यान तथा साथीभाइहरूलाई ब्वाइफ्रेण्ड छ भनेर ढाँटे पनि अब भने ब्वाइफ्रेण्ड बनाउने योजनामा छु । त्यसका लागि मलाई राम्रो बुझ्ने असल साथीको खोजीमा छु । तर, भेटेको चाहिँ छैन,’ हाँस्दै उनले भनिन्, ‘फेसबुकमै स्टाटस हाल्नुपर्छ कि भन्ने योजानमा पो छु त ।’
उमेर मिल्नेले प्रस्ताव नराख्दा तनाव
आफूभन्दा बढी उमेर भएकाले प्रेमप्रस्ताव राखे पनि आफ्नो उमेर समूहका साथीले प्रेम प्रस्ताव नराख्दा भने उनलाई अलि तनाव पनि हुँदो रहेछ । उनी भन्छिन्, ‘आफ्नो उमेर समूहका धेरै हेण्डसम युवा साथीहरू छन् । कलेज पढ्ने साथीहरू पनि छन् । तर आफ्नै उमेर समूहका साथीहरूमा एउटा भ्रम हुँदो रहेछ । टेलिभिजन र चलचित्रमा काम गर्ने हो, यो यसको त अलरेडी ब्वाइफ्रेण्ड छ भन्ने लाग्दो रहेछ ।’
यस्तो सोचाइका कारण पनि आफ्नो उमेर समूहका युवाहरूले प्रेम प्रस्ताव राख्न नसकेका हुन् भन्ने आफ्नो बुझाइ रहेको थापाको भनाइ छ । उनी भन्छिन्, ‘आफूलाई चाहिँ मेरै उमेर समूहका युवा साथीहरूले आइ लभ यु भनून् भन्ने लाग्छ । तर उमेर समूहभन्दा ७÷१० वर्ष बढीका व्यक्तिले भनेर हैरान लगाउँदा तनाव हुने गर्छ ।’