इटहरीः न त कानुनले भनेबमोजिम जग्गा छ । न त उचित सुरक्षा उपकरण नै । इटहरीका अधिकांश पेट्रोल पम्पको हालत उस्तै छ । इटहरी लगायत पूर्वी नेपालका अधिकांश पेट्रोल पम्प यसरि नै चलिरहेका छन् । यहाँका पम्प असुरक्षितमात्र छैनन् सामान्य मापदण्ड पनि पूरा नगरी सञ्चालन भएको पाइएको छ ।
इटहरीमा रहेका पेट्रोल पम्पबाट आगलागीका घटना हुन सक्ने पूर्व सङ्केत हुँदा पनि पेट्रोल पम्पलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पम्पको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाइ, लाइटरजस्ता आगोजन्य वस्तु लिएर र धुमपान गरेर संवेदनशील क्षेत्रमा जान सक्ने वातावरण हुनु जस्ता कारणले इटहरीका पेट्रोल पम्प जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेका छन् ।
पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थको कारोबार स्थल असुरक्षित र मापदण्डविपरीत सञ्चालन भइरहँदा पनि त्यसलाई व्यवस्थित गर्ने निकाय भने मूकदर्शक भएर बसेको छ ।
निगमको बिक्रेता विनियमावली (छैटौं संशोधन), २०७३ अनुसार पम्प सञ्चालकले साधारण बिक्रेताको बिक्रीस्थल रहने जग्गाको लम्बाइ राष्ट्रिय राजमार्गको हकमा ४० मिटर र चौडाइ कम्तीमा १७ मिटर हुनुपर्ने बताएको छ । त्यस्तै, कुल क्षेत्रफल कम्तीमा तीन रोपनी वा साढे चार कट्ठा अनिवार्य हुनुपर्ने उल्लेख छ । साधारण बिक्रेताको बिक्री स्थल रहने सहायक राजमार्ग, गाउँपालिका र नगरपालिकाका हकमा जग्गाको लम्बाइ कम्तीमा ३० मिटर, चौडाइ कम्तीमा १५ मिटर र कुल क्षेत्रफल कम्तीमा २ रोपनी वा तीन कट्ठा हुनुपर्छ ।
तर इटहरीका अधिकांश पेट्रोल पम्प सरकारी मापदण्डभित्र छैनन् । मापदण्डको कुरा त परै जाओस् कतिपय पम्पहरू त सडक पेटीबाटै सञ्चालन हुँदै आएका छन् ।
पम्पमा यस्ता पूर्वाधार हुनुपर्छः
जग्गा राष्ट्रिय राजमार्गमा कम्तीमा तीन रोपनी वा साढे चार कट्ठा । सहायक राजमार्गमा कम्तीमा दुई रोपनी वा तीन कट्ठा । महानगर वा उपमहानगर क्षेत्रमा कम्तीमा डेढ रोपनी वा दुई कट्ठा ।
पम्पहरू असुरक्षित भएपछि आयल निगमले २०७३ पुसमा सार्वजनिक सूचना प्रकाशित गरी ४ महिनाभित्र पूर्वाधार सुधार गर्न निर्देशन दिएको थियो । तर, २ वर्ष बित्न लाग्दा पनि व्यवसायीले मापदण्डभित्र पम्प सञ्चालन गरेका छैनन् ।
महानगरपालिका वा उपमहानगरपालिकाको क्षेत्रभित्र साधारण बिक्रेताको बिक्री स्थल रहने भए जग्गाको लम्बाइ कम्तीमा २० मिटर, चौडाइ १२ मिटर र कुल क्षेत्रफल कम्तीमा डेढ रोपनी वा दुई कट्ठा हुनुपर्छ । पम्प परिसरमा बिक्रेताको प्रमाणपत्र (नवीकरणसहित), परिमाण र गुणस्तरसम्बन्धी विवरण, मूल्य सूची, निगमको स्वीकृत लिएर भाडामा लिने र दिनेको कागजात, ४ थान फायर एसिङडसर, ४ थान १० लिटर क्षमताको बाल्टिन (बालुवा भरिएको), साबेल, पिक एक÷एक थान अनिवार्य हुनुपर्ने उल्लेख छ ।
एक थान एक हजार लिटर पानी भरिएको ट्यांकी, पानी विश्रामस्थल तथा शौचालयको व्यवस्था, डिस्पेन्स पम्प, अन्डरग्राउन्ड ट्यांकको संख्या र क्षमतासहितको विवरण, ३ फिट वा बढीमा ५ फिटसम्म उचाइ भएको कम्पाउन्ड वाल, वृक्षरोपण तथा ड्रेनेजको व्यवस्था हुनुपर्ने उल्लेख छ । निगमका अनुसार पम्प सञ्चालकले अनुमति लिने क्रममा सबै मापदण्ड पूरा गर्ने दाबी गरे पनि कार्यान्वयन भने गरेका छैनन् ।
निगमका अनुसार मापदण्ड पूरा गर्ने सन्दर्भमा पम्प बिक्रेताहरूले आपसमा मर्जर वा जग्गा थप वा अन्य स्थानमा स्थानान्तरण गर्न सक्नेछन् । तर, स्थानान्तरण गर्नुपूर्व निगमको स्वीकृति अनिवार्य लिनुपर्नेछ । व्यवसायीलाई विनियमावली प्रारम्भ भएको मितिले ४ महिनाको म्याद दिइएको थियो । ४ महिनाभित्र शर्त पूरा नगर्ने साधारण बिक्रेतालाई नियमित रूपमा उपलब्ध गराउँदै आएको परिमाणको ५० प्रतिशत पेट्रोलियम पदार्थ कटौती गर्ने, त्यसपश्चात् निगमले एक महिनाको अर्को अवसर दिने जनाएको थियो ।
उक्त समय सीमाभित्र मापदण्ड पूरा नगरे नियमित उपलब्ध गराउँदै आएको परिमाणको २५ प्रतिशत मात्रै पेट्रोलियम उपलब्ध गराइने जनाएको थियो । त्यसपश्चात् पुनः एक महिनाको अन्तिम म्याद दिइने उल्लेख छ । उक्त अवधिभित्र पनि मापदण्ड पूरा नगरेमा निगमले पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरी बिक्रेता खारेज गर्ने जनाएको थियो ।
तर, विनियमावली कार्यान्वयन भएको एक वर्ष पुग्दा पनि निगमले पम्पहरूले कार्यान्वयन गरे वा नगरेको अनुगमन गरेको छैन ।
उपभोक्ताकर्मीका अनुसार निगम र सरकारको फितलो नीति, राजनीतिक हस्तक्षेप र व्यापारीको अटेरीको कारण इन्धन क्षेत्रको कुनै पनि व्यवसायको भौतिक र यान्त्रिक संरचना सुरक्षित छैन । व्यवसायीहरू अधिकांशले नियम कानुन नमानेको, सुरक्षा संयन्त्रहरू जडान नगरी सञ्चालन गरेको आरोप उनीहरूले लगाएका छन् ।
केही पम्पहरू घरभित्रबाटै सञ्चालन हुँदै आएका छन् । केही पम्पहरू सडकपेटीबाटै सञ्चालन भएका छन् । यस्ता पम्पहरूमा आगलागीका दुर्घटना हुने सम्भावना उच्च हुन्छ । सडकपेटीमै पम्प सञ्चालन हुँदा सवारी जाम हुने, अन्य सवारीबाट ‘स्पार्क’ भई आगलागी हुन सक्ने जानकारहरू बताउँछन् ।